हरिनासको खैरीकोटमा खानेपानीको अभाव : अझै घैंटाकै भरमा नागरिक

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

स्याङ्जा । स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका वडा नं १ खैरीकोटमा खानेपानीको अभाव हुँदा अझै पनि मानिसहरु वर्षाको पानीको भरमा बस्न बाध्य भएका छन् । पहाडी उच्च भागमा अवस्थित खैरीकोट गाउँमा पानीको नियमित आपूर्ति नहुँदा मानिसहरु घैंटाको पानीमा निर्भर हुनु परेको छ ।

स्याङ्जाको खैरीकोट गाउँका बासिन्दालाई अहिले पनि पर्याप्त पानीको अभाव छ । २०७१ सालमा १७०० मिटर तल चुइकुनादेखि लिफ्टिङ खानेपानीको व्यवस्था गरिएको भए तापनि नियमित पानीको आपूर्ति हुन नसकेपछि गाउँमा पानीको अभाव खड्किएको छ ।

९० घरधुरी भएको उक्त गाउँमा गुरुङ र ब्रह्माण समुदायका मानिसहरु बसोबास गर्दछन् । खानेपानीको अभाव हुने उक्त गाउँ वरिपरि पानीको मूल नभएपछि २०६१ सालमा आकाशको पानी जम्मा गरेर पानीको समस्या मेटाउनका लागि घैंटो निर्माणको अभियान सुरु भयो ।

स्थानीय बिलबहादुर गुरुङ भन्नुहुन्छ, ‘एक खेप पानी लिन राति जानुपर्थ्यो । त्यतिखेर दुःख बेसरी गर्यौ । चेप्टेबाट ३ घण्टा लाग्थ्यो पानी ल्याउन । घैंटो बनाउन कोसिस गर्‍यो पछि घैंटो बनाएपछि पनि पुगेन । पछी यो मेसिनबाट पानी गरेछ तर पनि पानीको दुःख नै छ ।’

हेल्भाटास नामक स्वीस संस्थाले गाउँमा १०९ वटा सिमेन्टका घैंटा निर्माण गरिदियो । ६५०० लिटर घनमिटरको घैंटोमा घरको छानाबाट वर्षा याममा खस्ने पानीलाई जम्मा गरी राखेर हिउँद वा पानीको अभाव भएको बेला उपयोग गर्न थालियो । करिब ७० हजार लागतमा संस्थाले घैंटो बनाइदिएपछि राहत महसुस गरिरहेका स्थानीयहरुले अहिले फेरि पानीको अभाव बेहोर्नुपरेको बताएका छन् ।

‘घरघरमा एकएकओटा घैँटो छ । यो घैंटोमा हामीले आकाशे पानी सङ्कलन गरेर त्यहाँबाट पानी खान्छौं । लिफ्टिङबाट आउँदा लिफ्टिङको सङ्कलन गरेर पनि खान्छौं । हाम्रो खानेपानीको अलि असुविधा पनि छ ।’ स्थानीय खिमबहादुर गुरुङको गुनासो छ ।

गाउँबाट सहरमा वा सुविधाजनक स्थानतिर बसाइँ सर्ने प्रवृत्ति बढिरहेका बेलामा खैरीकोट जस्ता दूरदराजका गाउँहरुमा नियमित पानीको आपूर्ति हुन नसकेमा खानेपानीको अभावकै कारण हुने बसाइँ सराइलाई रोक्न नसकिने अवस्था आउन सक्छ । यसका लागि सम्बन्धित पक्षको ध्यान जानु जरुरी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?