नयाँदिल्ली । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राती भएको खेलमा चेन्नई सुपर किंग्सविरुद्ध गुजरात टाइटन्सका ओपनरले शतक बनाउँदै आइपिएल क्रिकेटमा नयाँ इतिहास लेखाएका छन् । गुजरात ओपनर कप्तान शुभमन गिल र साई सुदर्शनको शतकीय इनिङ्सले चेन्नई स्तब्ध भएको हो । नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २३१ रन बनाएको थियो । गुजरातका कप्तान गिलले सर्वाधिक १०४ रन बनाउनुभयो । ५५ बल खेल्नुभएका उहाँले नौ चौका र ६ छक्का प्रहार गर्नुभयो । आइपिएलमा गिलको यो चौथो शतक हो ।
सुदर्शनले ५१ बलमा पाँच चौका र सात छक्कासहित १०३ रन बनाउनुभयो । आइपिएलमा सुदर्शनको यो पहिलो शतक हो । पहिलो विकेटका लागि गिल र साईले २१० रनको साझेदारी गरेर इतिहास बनाउनुभएको छ । गुजरातका लागि शाहरूख खान दुई रनमा आउट हुँदा डेभिड मिलर १६ रनमा नटआउट रहनुभयो । चेन्नईका तुषार देशपाण्डेले चार ओभरमा ३३ रन खर्चिएर दुई विकेट लिनुभयो ।
२३२ रनको लक्ष्य पछ्याएको चेन्नईका ओपनर पहिलो ओभरमै आउट हुँदा सुरुवाती ब्याटिङ खराब बनेको थियो । कप्तान ऋतुराज गायकवाड तीन बल खेलेर शून्य रनमा आउट हुँदा अजिंक्य रहाणे पाँच बलमा एक र रचिन रविन्द्र दुई बलमा एक रन जोड्दै आउट हुनुभयो ।
सुरुवाती ब्याटिङ लाइन धरापमा पर्दा सम्हालिएर खेलेको चेन्नई आठ विकेट गुमाउँदै १९६ रनमा समेटिएको थियो । उसका लागि डेरिल मिचेलले सर्वाधिक ६३ रन बनाउँदा मोइन अलीले ५६ रन बनाउनुभयो । शिवम् दुवे २१, रविन्द्र जडेडा १८ रनमा आउट हुँदा महेन्द्रसिंह ध्वनीले नटआउट २६ रन जोड्नुभयो । अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।
चेन्नईलाई सस्तैमा समेट्न गुजरातका लागि मोहित शर्माले तीन विकेट हात पार्दा राशिद खानले दुई विकेट लिनुभयो भने सन्दीप वारियर र उमेश यादवले एक-एक विकेट हात पार्नुभयो । यो ऐतिहासिक जितसँगै तालिकाको पुछारबाट आठौँ स्थानमा पुगेको गुजरातले १० अंक जोडेको छ । जितसँगै गुजरातले प्लेअफमा पुग्ने सम्भावना जीवित राखेको छ । गुजरातको यो जितले चेन्नईसँगै लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सको प्लेअफ दौड गणितीय खेलमा निर्भर भएको छ ।
गुजरातसँगको खेलमा पराजित भएपछि १२ अंकमा यथावत् रहेको चेन्नइसँगै पाँचौँ र छैटौँ स्थानका दिल्ली र लखनउको पनि समान १२–१२ अंक छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच