काठमाडौं । दाङको लमहीमा एकदिने टिमुर सम्मेलन आयोजना गरिएको छ । शनिबार लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्तरूपमा आयोजित सम्मेलन उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीले टिमुरलाई वैज्ञानिकीकरण गरेर जनताको जीवनस्तर बदल्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी अरूले गरेको विकास प्रविधि हेर्ने, रमाउने र किनेर खाने बानी परेका छौँ । हिजो स्वतस्फूर्तरूपमा जंगलमा उम्रेका टिमुरलाई वैज्ञानिकीकरण गर्न सम्मेलनले भूमिका खेल्नेछ, टिमुरखेतीलाई वैज्ञानिकीकरण गरी जनताको जीवनस्तर बदल्न सकिन्छ ।’
हिजो वस्तु विनिमयको समयमा समेत टिमुरको महत्व निकै रहेको भन्दै उहाँले टिमुरलाई थप व्यावसायीकरण गर्न सरकारले आउने नीति तथा कार्यक्रममा टिमुरको विषय समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आर्थिक मामिलामन्त्री चेतनारायण आचार्यले टिमुरखेतीलाई उच्च प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम निर्माण गर्ने उहाँको भनाइ थियो । लुम्बिनी प्रदेशका छवटा पहाडी जिल्लामा टिमुरखेतीको सम्भावना राम्रो रहेको जानकारी दिँदै मन्त्री आचार्यले टिमुर उत्पादन गरेका किसानलाई राहत पुग्ने गरी सरकारले बजारीकरण गर्ने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशलाई टिमुर हबका रूपमा विकास गरेर जनतालाई उत्पादनमा जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कृषिमन्त्री भण्डारीलाल अहिरले प्रदेशका पहाडी क्षेत्रका जनताको जीवनस्तर उकास्ने माध्यम टिमुरलाई बनाउने गरी मन्त्रालयले योजना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो भने शहरी विकास तथा खानेपानीमन्त्री भूमिश्वर ढकालले टिमुरलाई व्यावसायीकरण गर्न प्रदेश सरकारले नीतिगतरूपमा व्यवस्था गर्ने बताउनुभयो । कृषि र वनको उत्पादन र उत्पादकत्व बढाउँदै सबैले साझा प्रतिबद्धता व्यक्त गरेर टिमुरबाट आर्थिक विकासका लागि लाग्नुपर्ने उहाँको भनाइ थियो ।
स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले प्रदेशको आर्थिक वृद्धिको मुख्य स्रोत टिमुरलाई बनाउनुपर्नेमा जोड दिनुभयोे । उहाँले भन्नुभयो, ‘टिमुरको महŒव निकै छ । यसलाई व्यावसायीकरण गर्न व्यवसायी सुरक्षित हुनुुपर्छ, उत्पादनमा समस्या छैन, बजार समस्या हो । बजारको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्छ ।’ उहाँले टिमुरको न्यूनतम मूल्य सरकारले तोक्नुपर्ने बताउनुभयो । सामाजिक विकासमन्त्री रत्न खत्रीले टिमुरलाई व्यावसायीकरण गर्न कानुनी जटिलता हटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । समृद्ध लुम्बिनी प्रदेश बनाउने अभियानमा सफलता प्राप्त गर्न टिमुर सम्मेलनले ऊर्जा प्रदान गरेको उहाँको भनाइ थियो ।
कार्यक्रमका अध्यक्षसमेत रहनुभएको वन तथा वातावरणमन्त्री अर्जुनकुमार केसीले टिमुरलाई व्यावसायीकरण गरेर कृषकको जीवनस्तर सुधार्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले कानुनी बाधा अड्चन सहजतापूर्वक सरलीकृत गर्नेछ, इजरायलले मरुभूमिमा कृषि उत्पादन गरेको छ । हामीलाई सरोकारवालाको साथ रहोस्, मन्त्रालय साथ दिन तयार छ ।’ लुम्बिनीमा टिमुर छ तर व्यावसायिक छैन । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये प्रायः जिल्लामा टिमुर उत्पादन हुने गरेको भए पनि यसको व्यावसायीकरण हुन सकेको छैन । हिमाल, पहाड, तराई भूमिसहितको एकमात्र प्रदेश भए पनि यहाँ उत्पादन हुने टिमुरको व्यावसायीकरण हुन नसक्नुमा धेरै कारण रहेका छन् । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले टिमुरको बिउको गुणस्तर मापन नहुनु, संकलन प्रविधि नहुनु, अस्थिर भाउ, प्रशोधन प्रविधि अभाव, दिगो संकलन विधिको ज्ञान, सीप र प्रविधिको प्रयोग गर्न नसक्नु, वन विनाश र डढेलो, रोग किरा पहिचान र नियन्त्रण जस्ता कारणले टिमुरको व्यावसायीकरण हुन नसकेको बताउनुभयो ।
एक हजारदेखि दुई हजार पाँच सय मिटर उचाइमा उत्पादन हुने टिमुर लुम्बिनीको पूर्वी रुकुम, रोल्पा र प्युठानमा बढी पाइन्छ भने अन्य पाल्पा, अर्घाखाँची, गुल्मी दाङलगायत जिल्लामा पनि टिमुर फल्ने गरेको उहाँले बताउनुभयो । कृषि समिति सभापति विश्वप्रेम पाठकले लुम्बिनीमा चार हजार टन जडीबुटी बाहिर निकासी हुने गरेको उहाँले बताउनुभयो । सरोकारवाला सबैको सहकार्यले मात्र टिमुरबाट समृद्धिको बाटोमा अगाडि बढ्न सकिने एफएओका प्रतिनिधि दिपकरत्न तुलाधरले बताउनुभयो । कृषि तथा भूमि व्यवस्था मन्त्रालय सचिव नम्रता सिंहले टिमुरको औषधीय गुण अधिक हुने भएकाले उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । सरकारको स्पष्ट नीति तथा टिमुरको बजारीकरणका लागि स्पष्ट नीति बनाउन टिमुर पकेट क्षेत्रका जनप्रतिनिधिहरूले सरकारसँग माग गरेका छन् । सरकारले टिमुरमा लगानी गर्नुपर्ने माण्डवी गाउँपालिका प्युठानका अध्यक्ष नमराज अधिकारीले बताउनुभयो । कृृषि र भूमि व्यवस्था मन्त्रालयले टिमुर उत्पादनका लागि विशेष योजना बनाउनुपर्ने भन्दै अध्यक्ष अधिकारीले वन मन्त्रालयले टिमुर पटेक क्षेत्र निर्माण गर्नुपर्ने बनाउनुभयो ।
नौबाहिनी गाउँपालिका प्युठानका अध्यक्ष दिलबहादुर थापा मगर, लुंग्री गाउँपालिका रोल्पाका अध्यक्ष रामकुमार थापा, सुनिलस्मृति गाउँपालिका रोल्पाका अध्यक्ष मणिराम बुढाथोकी, त्रिवेणी गाउँपालिका रोल्पाका अध्यक्ष कर्ण बाँठामगर, रिप्दीकोट गाउँपालिका पाल्पाका अध्यक्ष नारायणबहादुर कार्की, सिस्ने गाउँपालिका रुकुमका अध्यक्ष कृष्ण शर्मा, ऐरावती गाउँपालिका प्युठानका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, रोल्पाको माडी गाउँपालिकाका उपाध्यक्ष जयपुरी घर्तीलगायतका जनप्रतिनिधिहरूले टिमुरबाटै जीवनयापन गर्नेको संख्या ठूलो रहेको भए पनि बिचौलियाको समस्या रहेको बताएका थिए ।
वन कार्यालय पाल्पाका नारायणदेव भट्टराईले टिमुर उत्पादक कृषकको समस्याको पहिचान गरी अघि बढ्नुपर्ने बताउनुभयो भने प्रदेश सरकारी संघका अध्यक्ष नरबहादुर घर्ती मगरले लुम्बिनी प्रदेश सरकारले गरेको टिमुर सम्मेलनले देशभरको टिमुरको अवस्थाबारेमा अध्ययन गर्ने वातावरण सिर्जना गरिदिएको भन्दै सरकारको नीति तथा कार्यक्रममा टिमुर उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । टिमुर व्यापारी प्रेमप्रसाद शर्माले टिमुरलाई बहुउपयोगी जडीबुटीका रूपमा नीतिगत व्यवस्था नगर्दासम्म समस्या यथावत् रहने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच