काठमाडौं । सगरमाथा आरोहणको ७१ वर्ष पूरा भएको छ । आठ हजार ८४८ दशमलव ८६ मिटर अग्लो विश्वकै सर्वोच्च शिखर सगरमाथामा आरोहणको ७१औँ वर्ष पूरा भएको हो । सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिनुभएको थियो । सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो । यसवर्ष पनि नेपाल सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा बुधबार सगरमाथा दिवस मनाइएको छ । दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारले अगाडि बढाएको ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ भन्ने अभियानलाई सघाउन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले हिमाल आरोहीहरूको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने बताउनुभयो । उहाँले ओरोहीहरूको भविष्यको सुरक्षा र खासगरी शेर्पा जातिको जीविकासँग सम्बन्धित विषयमा आरोही कल्याणकारी कोष महत्वपूर्ण सावित हुने जिकिर गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले आरोहण क्षेत्रलाई अझ सहज बनाउन भ्याट छुटको व्यवस्थाका लागि पहल गर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले आरोहण क्षेत्रको व्यावसायिकता वृद्धिका निम्ति नेपाल सरकारको तर्फबाट गर्न सकिने कामको पहल हुने जनाउनुभयो । सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरूको आत्म सम्मानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू तर्जुमा गरिरहेको पनि जानकारी दिनुभयो ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्र १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवद्र्धन, पर्यटकलाई एकद्वार प्रणालीबाट सेवा प्रवाह, पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाउने तथा टाकुरा पर्वतीय गन्तव्यको पहिचान, प्रवद्र्धन कार्यक्रम राखिएको उल्लेख गर्नुभयो ।
दिवसका अवसरमा अन्तर्राष्ट्रिय सगरमाथा अवार्डबाट सोनम शेर्पालाई सम्मान गरिएको छ । शेर्पालाई एक लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको हो । यस अवसरमा बुधबार बिहान काठमाडौंमा प्रभातफेरी पनि गरिएको थियो । नेपाल पर्वतारोहण संघ (एनएमए)को मुख्य आयोजनामा प्रभातफेरी गरिएको थियोे । प्रभातफेरीमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ठमेल पर्यटन विकास परिषद् लगायतका विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्थाका अध्यक्ष एवं सदस्यहरूको सहभागिता थियो ।
चुचुरोमा आठ हजार बढी
सगरमाथा आरोहणको इतिहासमा हालसम्म आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको साहसिक विजययात्रा पूरा गरिसकेका छन् । यसक्रममा नयाँ-नयाँ कीर्तिमान पनि थपिएका छन् । कामीरिता शेर्पाले ३० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएको छ । गोरखाकी फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएको छ भने फोटो पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठले एकै याममा तीनपटक सगरमाथा आरोहण गरेर महिला आरोहीको विश्व कीर्तिमान बनाउनुभएको छ ।
सगरमाथा आरोहण गर्ने महिलाको संख्या ५१९
सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाउनुभएको थियो भने नेपालबाट पासाङ ल्हामु शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो महिला हुनुहुन्छ । हालसम्म सगरमाथा आरोहण गर्ने महिलाको संख्या ५१९ रहेको छ ।
यस सिजनमा ६०० जनाको सफल आरोहण, पाँचको मृत्यु र तीन बेपत्ता
यस सिजनमा बुधबार बिहानसम्म ६०० जनाभन्दा बढीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागले बुधबार विज्ञप्ति जारी गर्दै आरोही सदस्य तथा क्लाइम्बिङ गाइड गरी यस सिजनमा ६०० जनाभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको हो । यस सिजनमा सगरमाथा आरोहणका क्रममा पाँचजनाको मृत्यु भएको र तीनजना अझै बेपत्ता रहेको विभागले बताएको छ । यस्तै, एक आरोहीको ल्होत्से आरोहणका क्रममा तेस्रो शिविरमा मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ । सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेमा दुईजना मंगोलिया, एकजना केन्या, एकजना भारत र एकजना नेपालका नागरिक छन् । रोमानियाका एक आरोहीको ल्होत्से आरोहणका क्रममा मृत्यु भएको हो । सगरमाथा आरोहणका क्रममा बेपत्ता भएका तीनजनामा दुईजना नेपाली र एकजना बेलायती छन् ।
सगरमाथा आरोहण गर्न नयाँ मापदण्ड बनाऔँ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले हिमालहरूको संरक्षणमा आवश्यक पहलकदमी हुन नसकेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित ७१औँ सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनको चपेटामा नेपाल परेको उल्लेख गर्दै अहिले हिउँ नदीहरू क्रमशः सुक्ने, हिमाल कालो हुँदै जाने गरेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले आरोहणलाई नियमन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले आरोहणको मापदण्ड व्यवस्थित बनाउन जरुरी रहेको बताउँदै उहाँले ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाई आठ हजार मिटरमाथिको हिमाल आरोहण गरेपछि मात्र सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनुपर्ने धारणा राख्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच