काठमाडौं । जेठ मध्यबाट बढ्न थालेको गर्मीले पछिल्ला केही दिनमा ‘रेकर्ड ब्रेक’ गरिरहेको छ । देशका विभिन्न भागको तापक्रम हालसम्मकै उच्च बिन्दुमा पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार नेपालगञ्जको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस पार गरेको छ । जुन नेपालगञ्जको रेकर्डमा हालसम्मकै उच्च हो । विभागका मौसमविद् गोविन्द झाका अनुसार धनगढीको तापक्रम पनि ४४ डिग्री सेल्सियस पार गरेको छ । जुन रेकर्ड ब्रेक पनि तापक्रम हो । यसअघि अघिल्लो महिनामा भैरहवामा ४३ दशमलव ६ डिग्री रेकर्ड भएको थियो । तराईंको उखरमाउलो गर्मीले मानिसहरूलाई उकुसमुकुस बनाएको छ । तराईंमा मात्रै होइन काठमाडौं र पोखरामा समेत तापक्रम बढिरहेको छ । पोखरामा ३४ र काठमाडौंमा ३४ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको थियो ।
तामक्रम बढेसँगै काठमाडौंसहित देशका पहाडी जिल्लामा समेत गर्मी बढेको छ । यसअघि तुलनात्मक रूपमा कम गर्मी हुने ठाउँमा पनि तापक्रम बढेर उच्च बिन्दुमा पुगेको विभागले जनाएको छ ।
नेपालमा मात्रै होइन छिमेकी भारतमा तापक्रम निकै उकालो लागेको छ । भारतको मौसम विज्ञान विभागले वेबसाइटमा उल्लेख गरेअनुसार १० राज्यका ७५ सहरमा अधिकतम तापक्रम ४५ डिग्री सेल्सियस नाघेको छ । बुधबार मात्र भारतको राजधानी दिल्लीको तापक्रम ५२.२ डिग्री मापन गरिएको थियो । जुन दिल्लीका लागि अहिलेसम्मकै उच्च तापक्रम हो ।
तराईमा तातो हावाको लहर
प्रचण्ड गर्मीसँगै पश्चिम तराईमा वैशाख पहिलो सातादेखि नै तातो हावाको लहर (लू) चल्न थालेको थियो । तर, वैशाख मध्य र अन्तिममा केही कम भएको थियो । जेठ तेस्रो साता आइपुग्दा फेरि तापक्रम लगातार उकालो लागिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले यसपटक गर्मीयाममा तातो हावासम्बन्धी छैटौँ बुलेटिन जारी गरेको छ । वर्षा नहुँदा पश्चिममा तराई मात्र होइन, पहाडी र उपत्यकाको तापक्रम पनि उच्च छ ।
देशभर गर्मी बढेसँगै काठमाडौं उपत्यकाको तापक्रम पनि निरन्तर बढिरहेको छ । काठमाडौं उपत्यकाको तापक्रम शुक्रबार ३४ डिग्री सेल्सियस मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् प्रतिभा मानन्धरले विगत केही दिन यतादेखि काठमाडौंको तापक्रम बढ्दै गइरहेको बताउनुभयो । बिहीबार धनगढीको तापक्रम यस वर्षको हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा उक्लिएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार धनगढीमा बिहीबारको अधिकतम् तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको थियो । जुन देशभरिमा यस वर्षको हालसम्मकै अधिकतम तापक्रम मापन भएको हो । यसअघि सबैभन्दा धेरै ४३.६ डिग्री सेल्सियस तापक्रम भैरहवामा मापन भएको थियो ।
मौसमविद्का अनुसार सामान्यतया बिहानको समयमा तापक्रम न्यूनतम दरमा हुन्छ । तापक्रम वृद्धिको ट्रेण्ड घाम उदाएसँगै बढ्दै जान्छ । बादल अथवा अन्य मौसमी प्रणालीहरू नदेखिएमा दिउँसो १ देखि ३ बजे सम्मको तापक्रम अधिकतम बिन्दुमा पुग्ने गर्छ । यसपछि विस्तारै घट्दै जान्छ र राति पनि घट्छ ।
जनजीवन प्रभावित
तराई-मधेशका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । गर्मी बढेसँगै सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ । तराईं-मधेशका अधिकांश स्थानमा पछिल्लो एक सातादेखि तातो हावा (लू) चलिरहेको छ । मौसम विभागले तातो हावा तथा लूबाट बच्न घरभित्र वा चिसो ठाउँमा रहन, घाममा हिँड्डुल नगर्न, हलुका लुगा लगाउन, घरबाहिर निस्कँदा कपडा वा अरू कुराले टाउको छोप्न, पानी र झोल पदार्थ पर्याप्त पिउन सुझाव दिएको छ । तातो हावा तथा लूका कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोस हुने, बान्ता हुने लगायत जोखिम निम्तन सक्छ । गर्मीका कारण दैनिक ज्यालादारी गर्ने मजदुरहरूको जनजीवन झन् कष्टकर बनेको छ । दैनिक ज्यालादारी मात्रै हुने मजदुरलाई उखरमाउलो गर्मीमा काम गर्न निकै कठिन भएको छ ।
नेपालमा मनसुन आउन अझै १० दिन लाग्ने
यस वर्षको मनसुन भारतको केरला आइपुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यसवर्ष नेपाल भित्रने मनसुन भारतको केरला आइपुगेको हो । केरला आइपुगेको मनसुन १० दिन सम्ममा नेपाल आइपुग्ने विभागका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । गत वर्ष पनि केरला आइपुगेको मनसुन १० दिनमा नेपाल आइपुगेको थियो । गत वर्ष नेपालमा मनसुन जुन १४ (जेठ ३१ गते) भित्रिएको थियो । गत वर्ष अक्टोबर १५ (असोज २८) मा मनसुन बाहिरिएको थियो । बंगालको मेघालय हुँदै आसामतिरबाट मनसुन नेपाल भित्रने उहाँले बताउनुभयो । नेपालमा हिउँद याममा पश्चिमी वायुको प्रभाव रहन्छ । मनसुन याममा आउने पूर्वी वायुले त्यसलाई विस्थापित गर्नुपर्छ ।
गत वैशाख ३१ गते जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन याममा सरदरभन्दा बढी पानी पर्ने आँकलन गरेको थियो । जल तथा मौसम विज्ञान विभाग, विश्व मौसम संगठन, दक्षिण एसियाली मौसमविद्हरूको संगठनले अध्ययन गरेर सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेको हो । आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको विभागले बताएको थियो । त्यस्तै, सुदूरपश्चिम प्रदेशको उत्तर-पश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्य-पश्चिमी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको प्रक्षेपण गरेको छ ।
ठाउँ ठाउँका विद्यालय बन्द
दिन प्रतिदिन गर्मी बढ्दै गएपछि देशका विभिन्न ठाउँका विद्यालय बन्द गरिएका छन् । गर्मीले विद्यालय आएका विद्यार्थीमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेपछि विद्यालय बन्द गर्न थालिएको हो । गर्मी बढेको कारण विद्यार्थीमा नकारात्मक असर परेको र बिरामीसमेत हुने गरेको समस्यालाई मध्यनजर राख्दै हिउँदे बिदाबाट कट्टा हुनेगरी तत्कालका लागि बिदा दिइएको सम्बन्धित पालिकाहरूले जनाएका छन् ।
जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नुपर्नेमा सांसदहरूको जोड
सांसदहरूले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखापरेका असरहरूलाई न्यूनीकरण गर्न हिमालको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै सांसदहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न हिमालको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताएका हुन् । उनीहरूले जलवायु परिवर्तनको असर हिमालहरूमा देखापर्न थालेको र नजिकैको बस्तीको जनजीवनसमेत प्रभावित हुन थालेको भन्दै यसप्रति समयमै सचेत हुन सरकारलाई ध्यानाकर्षणसमेत गराएका छन् । राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि हिमाललाई सफा राख्नुपर्नेमा जोड दिनुभयो । हिमतालहरू फुटेर जनजीवन जोखिममा पर्ने खतरा रहेको भन्दै अहिले नै त्यसप्रति सरकारले योजना बनाएर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले विश्वका अन्य हिमाल भएका देशहरूले कसरी हिमालको संरक्षण र सरसफाइ गरिरहेका छन् भनेर सिक्न सकिने धारणा राख्नुभयो । राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटाले हिमाली क्षेत्रमा प्लाष्टिक प्रयोगलाई वर्जित गर्नुपर्ने बताउनुभयो । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले सरकारले सगरमाथा क्षेत्रलाई विशेष प्राथमिकताका साथ हेर्नुपर्ने बताउनुभयो । राष्ट्रियसभा सदस्य दुर्गाकुमारी गुरुङले जलवायु परिवर्तनमा असर पुर्याउने खालका मानवीय क्रियाकलापहरूलाई रोक्नुपर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच