आखिर इहलीला माटोमै विलीन भएर जान्छ भने संघर्ष किन गर्ने भन्ने पनि प्रश्न उठ्न सक्छ । यश कीर्ति किन चाहियो ? अथक संघर्षले आर्जन गरेको यश कीर्तिले पनि मृत्यु पश्चात् के लाभ हुन्छ र ? सबैको अस्तित्व जीवन रहुन्जेल, इन्द्रियले ज्ञान गरुञ्जेलमात्र हो भने किन दुःखको पाहाड बोक्ने । किन अधिक खोज अनुसन्धानमा समय खर्च गर्ने ? जतिसुकै कीर्ति पताका फैलाए पनि आखिर छोड्नु नै पर्छ भने यसका निम्ति मरिमेट्नुको तात्पर्य के ? चार्वाकका दर्शन जस्तै ऋणै गरेर भए पनि घ्यू नै खाने प्रवृत्ति पनि किन नगर्ने जस्तो पनि लाग्छ सक्छ । आखिर पुस्तकका ठेली लेख्ने लेखकले अनि वैज्ञानिक आविष्कर्ता सबैले के नै लिएर गए र ?
संघर्ष गरे पनि जीवनलीला सकिएर जान्छ अनि नगरे पनि सकिएरै जान्छ । आखिर जाने नै हो भने यो संसारमा दिएको योगदानको के अर्थ ? गरेको संघर्षको के उपादेयता भन्ने पनि लाग्न सक्छ । भौतिक दृष्टिले हेर्ने हो भने यी सबै कुरामा चार्वाक दर्शन नै उपयुक्त हुन्छ । तर, यदि आध्यात्मिक दृष्टिबाट पनि हेर्ने हो भने ‘परोपकार पुण्याय’ भन्ने मर्ममा नै पुग्नुपर्ने हुन्छ । जीवन परोकारका लागि हो । पुण्य आर्जनका निम्ति नै हो भन्ने दर्शमा अडिनु उपयुक्त हुन्छ । हाम्रा संघर्ष इहलौकिकका साथै पारलौकिक पनि हुन्छन् भन्ने शास्त्रीय अभिमत छ । यसैगरी भौतिक रूपमा समाज विकासका निम्ति पनि यस्ता विषयवस्तु विशेष महत्वका रहने गर्दछन् ।
नदी प्रवाहित भएको स्वयं तिर्खा मेट्न होइन । अरूको तिर्खा मेट्नकै निम्ति नदी प्रवाहित भएका हुन् । वृक्षले फल आफैँ खादैनन् । अरूको हितका निम्ति नै वृक्षमा फल लाग्ने गर्दछन् । यसैले हाम्रो जीवन पनि सर्वकल्याणका निम्ति हो ।
हाम्रा पुर्खाले संघर्ष गरी जीवनदर्शनका मार्ग नकोरेका भए आज पनि हामी उही ढुङ्गे युगमा नै रहने थियौँ । ज्ञान, सीप र कलाको अनुसन्धान गरी हस्तान्तर नगरेका भए पनि हाम्रो उन्नति सम्भव थिएन । लौकिकका साथै पारलौकिक दुवै उन्नतिका निम्ति पनि संघर्ष आवश्यक देखिन्छ । ‘उद्यमेन हि सिद्ध्यन्तिकार्याणि च मनोरथै’ अर्थात् उद्यामबाटै मनकाकामना पूरा हुन्छन्, कार्यमा सिद्धि प्राप्त हुन्छ । यसैले हाम्रा पूर्वज ऋषिमहर्षिले उद्यम गर्न सिकाएका हुन् । संघर्षको मैदानमा अघि बढ्न सिकाएका हुन् । सोही ज्ञानको बलमा आज हामी आजको युगसम्म आइपुगेका छौँ ।
एक पुण्यकार्यले हजारौं पुण्यकर्मीको पनि जन्म दिइरहेको हुन्छ । समाजव्यवस्थामा सकारात्मक ऊर्जाको प्रवाह भइरहेको हुन्छ । सत्कर्मले ‘सर्वजन हिताय’ को भावजागृत भइरहेको हुन्छ । जीवन कल्याणकै निम्ति हो । जे जति सकिन्छ कल्याणकै कार्यमा समर्पित हुनुपर्दछ । किनकि केही छ र गर्नुपर्छ भन्ने प्रवृत्तिले संसारलाई जागृत तुल्याउँछ भने निःसारले संसारलाई सारहीन बनाउने गर्दछ । जीवनचक्रलाई निरन्तर अघि बढाउन, अनन्त सृष्टिका यात्रालाई अघि बढाउन यस्ता पुण्यकर्म आवश्यक हुन्छन् । जसले भौतिक र आध्यात्मिक दुवै पक्षको कल्याण हुने गर्दछ ।
नदी प्रवाहित भएको स्वयम् तिर्खा मेट्न होइन । अरूको तिर्खा मेट्नकै निम्ति नदी प्रवाहित भएका हुन् । वृक्षले फल आफैँ खादैनन् । अरूको हितका निम्ति नै वृक्षमा फल लाग्ने गर्दछन् । यसैले हाम्रो जीवन पनि सर्वकल्याणका निम्ति हो । यसैले हामी कल्याणकारी हुनुपर्दछ । मानव सभ्यतामा उत्प्रेरणा जागृत गर्दै निरन्तर सभ्य सुसंस्कृत समाजव्यवस्थाका निम्ति पनि सत्कार्य सबैले गर्नु आवश्यक हुन्छ । पुस्तान्तरण पनि यस्तै कार्यले हुने भएकाले सभ्य मानव समाजका निम्ति जागृतिको आवश्यकता पर्दछ । यसैले त ‘उत्तिष्ठत जाग्रतप्राप्य वरान्निबोधत...’(कठोपनिषद्) भनेर शास्त्रले उठ्न, जागृत बन्न अभिप्रेरित गरेका हुन् । जागृत हुँदा इह लौकिक र पारलौकिक दुबै कुरा समृद्ध हुन्छन् भने जागतृ नहुँदा दुबै कुरा नष्ट भएर जान्छन् । भुक्ति र मुक्ति दुबै प्राप्तिका निम्ति पनि जागृत रहनु आवश्यक छ ।
ती ऋषिमहिर्षि धन्य छन् जसले अथाह ज्ञान राशि हामीलाई छोडेर गएका छन् । तिनै ऋषि महर्षिले दिएका ज्ञानका आधारमा नै हाम्रा दिनचर्या अघि बढिरहेका छन् । निरन्तर खोज अनुसन्धानमा वैज्ञानिक तल्लीन नभएका भए आज अन्तरिक्षसम्मको यात्रा सम्भव थिएन । आज विश्व भूमण्डलीकरणको यो प्रविधिमैत्री समय प्राप्त हुन सक्ने थिएन । हरेक क्षेत्रमा हरेक व्यक्तिले गरेका खोज, अनुसन्धान, प्रदान गरेका कृति हाम्रा लागि र आगामी पुस्ताका लागि पनि प्रेरणाका स्रोत हुन् । यसैले इतिहासका पाना निरन्तर पल्टाउनुपर्दछ भनिएको हो । हामीमा इतिहासको बीज छ । पुर्खाको बीज नै हाम्रो शरीर हो । यसैले इतिहास र वर्तमानको सम्बन्ध सेतु निर्माणार्थ पनि जीवनमा संघर्षको आवश्यता रहन्छ । जुन अप्रत्यक्ष रूपमा सहयोगी भूमिकामा रहने गर्दछ ।
आफू नराम्रो भए पनि सन्तनि नराम्रो होस् भन्ने कसैले चाहँदैन । आगामी दिन नै हाम्रा सन्तिति हुन् । आजको दिनलाई हामीले राम्रो बनाउ सक्यौँ भने भोलिको दिनमा सन्नतिले पनि सोही अनुकूल बनाउने यत्न गर्दछन् ।
जीवन र संघर्ष पर्याय हुन् । जुनसुकै कार्यमा पनि जीवनका निम्ति संघर्ष गर्नु नै पर्छ । ‘न हि सुप्तस्य सिंहस्यप्रविशन्तिमुखे मृगाः’ अर्थात् सुतेको सिंहको मुखमा मृग आएर आहार बनिदिँदैनन् । सिंहले आहाराका निम्ति पनि संघर्ष गर्नु नै पर्छ । खोज्नु नै पर्छ, भिड्नु नै पर्छ अनि लड्नु नै पर्छ अझ भनौँ संघर्ष गर्नु नै पर्छ । हरेक प्राणीजगत् संघर्षकै मैदानाबाट अघि बढेको छ । जितहार फरक कुरा हुन् । जितबाट भन्दा पनि हारबाट धेरै विषयवस्तुको ज्ञान गर्न सकिन्छ । यसैले हार पनि जीवन हो र जित पनि जीवन हो । संघर्षहीन त निर्जीव वस्तुमात्र हुन्छन् । सजीव प्राणीका निम्ति संघर्ष पर्याय नै बनेको पाइन्छ ।
सबै संघर्ष सफल र सार्थक नहुन पनि सक्छन् । सबै वृक्षले फल दिँदैनन् । तर फल नदिने वृक्ष सबै खराब हुन् भन्न मिल्दैन । समुद्र मन्थमा पनि सुरुमा कालकूट विष निस्किएको थियो । यसैले संघर्ष गर्दैगर्दा असफलता पनि मिल्न सक्छ र पनि संघर्षलाई त्याग्नु हुँदैन । जति सकिन्छ गर्दै जाने हो, जति सकिन्छ अघि बढ्ने हो । जे सकिन्छ आफूले जानेका कुरालाई अरू समक्ष पनि प्रस्तुत गर्ने हो । यसबाट ज्ञानमा वृद्धिका साथै नयाँ ज्ञानको आविस्कार पनि हुन सक्छ । किनकि ज्ञानमात्र यस्तो चिज हो जो जति खर्च गर्यो त्यति नै बढ्ने गर्दछ ।
आफू नराम्रो भए पनि सन्तनि नराम्रो होस् भन्ने कसैले चाहँदैन । आगामी दिन नै हाम्रा सन्तिति हुन् । आजको दिनलाई हामीले राम्रो बनाउ सक्यौं भने भोलिको दिनमा सन्नतिले पनि सोही अनुकूल बनाउने यत्न गर्दछन् । ज्ञानको पुस्तान्तरणले नै नयाँ ज्ञान र नयाँ ज्ञानले नै विज्ञानको जन्म हुने गर्दछ । आजको वैज्ञानिक उपलब्धि पनि यही सक्रियताका कारण नै प्राप्त भएका हुन् । यदि हाम्रा पूर्वज निष्कृय भएका भए यो संसार आज यति सुन्दर हुने थिएन । आध्यात्मिक दृष्टिले पनि सर्वकल्याणको कार्य पुण्यबद्र्धक हुन्छ । जसका निम्ति पनि संघर्ष आवश्यक रहन्छ ।
संघर्षको विरामले संसारी चक्रमा पनि विराम लाग्न सक्छ । मौरीले मह बनाउन छाड्ने हो भने, गाईले दूध दिन छाड्ने हो भने, पृथ्वीले अन्न दिन छाड्ने हो भने संसार चल्नै सक्दैन । तत्क्षण सकिएर जान्छ । हुन त गरेर पनि के अनि नगरेर पनि के भन्ने लाग्न सक्छ तर नगरेरको भन्दा गरेको नै उत्तम हुन्छ । उत्तिष्ठ जाग्रत भनेर यत्तिकै भनिएको होइन । यही जीवन हो । जीवनको पर्याय नै संघर्ष हो । चाहे भौतिक हौँ चाहे आध्यात्मिक दुबै पक्षको उन्नतिका निम्ति सर्वकल्यणका कार्य आवश्यक छन् । यसैले जागृत रहनु, संघर्षमा अघि बढुनु, प्राप्त उपलब्धिलाई संरक्षण गर्नु सार्थक जीवनका निम्ति आवश्यक देखिन्छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच