सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्यो : अध्यक्ष कुँवर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार अस्थिर र भद्रगोल भएको बताउनुभएको छ ।

ललितपुरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आयोजनामा भएको सुदृढ श्रम बजार, मर्यादित काम एवं सामाजिक न्याय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यस्तो गुनासो गर्नुभएको हो । उहाँले श्रम तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र योजनापूर्ण कार्यान्वयन नहुनुले श्रम बजार अस्थिर बनेको बताउनु भयो । उहाँले नीति र कानूनहरु भएपनि कार्यान्वयन हुन नसक्नु दुःखको विषय भएको बताउनु भयो ।

उहाँले श्रम निरीक्षण कमजोर हुनुले पनि श्रम ऐन कार्यान्वयनमा समस्या थपिएको बताउनु भयो । उहाँले श्रमजीविहरु ज्याला नपाउँदै गर्दा, कार्यस्थल असुरक्षित हुँदा र सामाजिक सुरक्षा नपाउँदा पनि बाध्य भएर सोही स्थानमा काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । श्रम बजारलाई मर्यादित बनाउन थप सुदृढ गर्ने सन्दर्भमा चुनौति रहेको जिकिर गर्नुभयो । उहाँले धेरै ठाउँमा ट्रेड युनियनको उपस्थिति पनि कमजोर भएको पनि बताउनु भयो । ट्रेड युनियन रहेको ठाउँमा श्रम ऐन लागू हुने गरेको तर नभएको ठाउँमा समस्या यथावत रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अनौपचारिक अर्थतन्त्रमा जुन किसिमको वृद्धि भइरहेको छ र जुन किसिमको फर्मलाइजेशन हुनुपर्ने ठाउँमा झन इन्फरमलाइजेशन बढि गइरहेको छ । यसले श्रम बजार अझ अस्थिर र भद्रगोल भएर गएको छ । श्रम तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र योजनापूर्ण कार्यान्वयन नहुनु । हामीसँग नीति छ, कानूनहरु छ । तर त्यो कार्यान्वयन हुन सकेको छैन । हामीसँग श्रम निरीक्षण कमजोर छ । श्रम प्रशासन कमजोर छ । गुड गभर्नेन्स छैन । हामीसँग रोजगारीको अवसर कम भयो र बेरोजगारी असाध्यै बढी भयो । हाम्रा श्रमजीविहरु ज्याला नपाउँदै गर्दा पनि वा कार्यस्थल असुरक्षित हुँदै गर्दा पनि र सामाजिक सुरक्षा नपाउँदा पनि उहाँहरु काम गरिराख्नुभएको छ । त्यो बाध्यता छ । त्यो बाध्यताले गर्दा श्रम बजारलाई मर्यादित बनाउन, थप सुदृढ गर्ने सन्दर्भमा चुनौति बनेको छ । ट्रेड युनियनको उपस्थिति पनि कमजोर छ । ट्रेड युनियन रहेको ठाउँमा श्रम ऐन लागू भइरहेको छ । नभएको ठाउँमा श्रम ऐन लागू नभएको अवस्था छ । यसमा सुधार गर्नुपर्छ ।’

अध्यक्ष कुँवरले केन्द्र, प्रदेश र स्थानीय सरकारमा प्रभावकारी समन्वय हुन नसक्दा पनि कतिपय समस्या सिर्जना भइरहेको बताउनु भयो । उहाँले व्यवसायीहरुलाई उत्पादनमुलक र निर्यातमुलक व्यवसायलाई सरकारले प्रोत्साहन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले ट्रेड युनियन अधिकार संकुचित गर्ने काम भइरहेको भन्दै आपत्ति जनाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?