शैक्षिक पर्यटनको केन्द्र बन्दै बेनी सामुदायिक मावि

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । म्याग्दीको बेनीस्थित बेनी सामुदायिक मावि शैक्षिक पर्यटनको आकर्षकस्थल बन्दै गएको छ । देशका विभिन्न ठाउँका विद्यालयहरुबाट शैक्षिक भ्रमणका लागि यहाँ आउने विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुको लर्को लाग्ने गरेको छ ।

शुक्रबार(हिजों)सम्म देशका विभिन्न जिल्लाका एकसय ७१ ओटा विद्यालयको शिक्षक, विद्यार्थी र अभिभावकको समूहले बेनी सामुदायिक माविको भ्रमण गरेका विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

“शुक्रबार (हिजो) दरबार मावि गोरखाको विद्यालयको टोलीले अवलोकन भ्रमण गरेको छ । यो भ्रमण गर्न आउने १ सय ७१ औं विद्यालय हो ।” प्रधानाध्यापक श्रेष्ठले भन्नुभयो । बेनी सामुदायिकमा भ्रमण गरेर फर्किएका विद्यालयको सूचनाका आधारमा आएको टोलीले जिल्लामा रहेका निजी विद्यालयहरूसँग शैक्षिक तथा भौतिक पूर्वाधारमा जमेर प्रतिस्पर्धा गरिरहेको विद्यालयबाट राम्रा अभ्यास सिको गर्ने उद्देश्यले यहाँ आएको आफूँलाई बताएको प्रअ श्रेष्ठको भनाइ छ ।

“हाम्रो विद्यालयमा विद्यालय व्यवस्थापन समिति र अभिभावकले नियमितरुपमा अनुगमन गर्ने गर्नुहुन्छ, शिक्षकको सामुहिक सहकार्य हुन्छ । प्रर्याप्त भौतिक पूर्वाधार छ ।शैक्षिक प्रगति राम्रो छ । विद्यार्थीमैत्री संरचना आदिको अध्ययन, अवलोकनका लागि विभिन्न विद्यालयबाट यस विद्यालयको भ्रमणका लागि आउनुहुन्छ” प्रअ श्रेष्ठले बताउनुभयो ।

भ्रमणका लागि विद्यालयमा आएकालाई स्वागत गदैं प्रधानाध्यापक श्रेष्ठले शैक्षिक अभ्यास र शिक्षकको सामुहिक सहकार्यको नमुना समेत प्रस्तुत गर्नेगर्नुभएको छ । अवलोकन भ्रमणको क्रममा विद्यालयमा अभिभावक र शिक्षकको नियमित सहकार्यले शैक्षिक नतिजामा सुधारका अभ्यास उत्कृष्ट लागेको र यसलाई प्रयोग गर्ने प्रतिबद्धता टोलीले भ्रमण गरेको सहायक प्रधानाध्यापक कांशीराम रेग्मीले बताउनुभयो ।
विद्यालयमा जनप्रतिनिधि सहितको टोली अवलोकनमा आउने गरेको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालयले बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित गरेपछि बालमन्दिर मावि नदीपुर पोखराको टोली पहिलो भ्रमणमा आएको थियो ।शैक्षिक अवलोकनमा आएकालाई चालु बर्षको एसइइको श्रेणीगत नतिजा, तीनबर्ष भित्रको एसएलसी उत्तिर्ण प्रतिशत, विद्यालय स्तरिकरण (भौतिक पुर्वाधार, मानविय स्रोत), कक्षा ९ मा भर्ना भएका विद्यार्थीको संख्या र एसइईमा उत्तिर्ण संख्या र चालु एसइई उत्तिर्ण प्रतिशत, अंग्रेजी माध्यमबाट अध्ययन, आन्तरिक स्रोतको प्रयोग, अभिभावको निगरानी, सिकाई उपलब्धी, कक्षाकोठा सजावट, शिक्षक र अभिभावकबीचको सम्बन्ध, कक्षा कोठाको निगरानीमा सिसी क्यामेराको जडानलगायत विभिन्न गतिविधिलाई डिजिलट माध्यमबाट प्रस्तुत गर्ने गरिन्छ ।

२०११ सालबाट अस्थाई रुपमा सञ्चालन भएको विद्यालयले २०३३ सालमा सरकारबाट मान्यता प्राप्त गरेको थियो । २०६३ साल देखी माध्यामिक तहको परिक्षामा सहभागिता जनाएको विद्यालयले हरेक बर्ष सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

जिल्लामा शैक्षिक भ्रमणमा आउनेलाई जिल्लाका पर्यटकीयस्थलका बारेमासमेत जानकारी गराउने गरिएको छ । यता भ्रमणमा आउने अधिकांस विद्यालयले एक रात बेनीमा विताउने भएकाले होटल ब्यवसायी समेत उत्साहित हुने गरेका छन् । शैक्षिक भ्रमणले आर्थिक कारोबारमासमेत सघाइरहेको ब्यवसायीको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?