काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी कार्यकालमा चारपटक संसद्मा विश्वासको मत लिइसक्नु भएको छ । संसद्बाट पटक-पटक विश्वासको मत लिए पनि प्रधानमन्त्रीप्रति समर्थक दलहरूकै अविश्वास भने निरन्तर बढ्दो छ । ‘जेसुकै गरिन्छ, सरकार चलाइन्छ’ भन्ने अभिव्यक्ति दिनुभएका प्रधानमन्त्री प्रचण्ड अहिले आफ्नो सरकार जोगाउन अनेक प्रयास गरिरहनु भएको छ ।
प्रमुख सत्तारूढ घटक नेकपा एमालेले बजेट निर्माणमा पर्याप्त सल्लाह नभएको भन्दै सदनमै बजेटको आलोचना गरिरहेको छ । अर्को सत्तारूढ घटक नेकपा एकीकृत समाजवादी त बजेट मात्रै नभएर राजनीतिक नियुक्ति र प्रदेश सरकार सञ्चालन लगायतका विषयमा प्रधानमन्त्रीसँग विश्वस्त हुन सकिरहेको छैन । सरकारलाई समर्थन दिएको जनमत पार्टीले मधेशमा आफ्नो नेतृत्वको सरकार नबन्दासम्म प्रधानमन्त्रीलाई पूर्ण सहयोग गर्ने स्थिति छैन भने नागरिक उन्मुक्ति पार्टी केन्द्रीय सरकारमा सहभागी हुने प्रतीक्षामा छ । बजेटका कारण एमाले रिसाउने, सम्मान भएन भनेर नेकपा एकीकृत समाजवादी रिसाउने अनि अर्कोतिर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वैकल्पिक गठबन्धन निर्माणका लागि पहल गरिरहने । यी परिदृश्यका कारण प्रधानमन्त्री प्रचण्ड सत्ता संरक्षणका लागि आफ्नो महत्वपूर्ण समय खर्च गरिरहनु भएको छ ।
गत फागुनमा राष्ट्रियसभा निर्वाचनको सन्दर्भ पारेर प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य तोड्नुभएको थियो । एमाले र रास्वपासँग पुनर्मिलनको तीन महिना बिते पनि प्रधानमन्त्री प्रचण्डको सरकार अझै सुरक्षित देखिएको छैन । जसपा नेपाललाई विभाजित गराउँदा पनि प्रधानमन्त्री प्रचण्डसँग अहिले आरामदायी बहुमत छैन । निरन्तर असन्तुष्टि जनाउँदै आएको एकीकृत समाजवादी, नाउपाको रेशम चौधरी पक्ष र केही स्वतन्त्र सांसदहरूले निर्णय बदलेमा सरकार अल्पमतमा पर्नसक्छ । त्यहीकारण सत्ता घटकहरूलाई रिझाउन प्रधानमन्त्री प्रचण्डले निरन्तर प्रयास गरिरहनु भएको छ ।
सरकार पुनर्गठनको तयारी
प्रधानमन्त्री प्रचण्डले यसै साता मन्त्रिपरिषद् पुनर्गठन गर्दै हुनुहुन्छ । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउने मात्रै नभएर आफ्नै पार्टीका केही नेतालाई अवसर दिन पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लाग्नुभएको हो । मधेशमा जनमतको नेतृत्वमा सरकार बन्न सके संघीय सरकारमा पनि जनमतलाई स्थान दिनुपर्ने हुन्छ । मधेशमा सरकार निर्माणमा सघाएमा लोसपालाई संघीय सरकारमा पनि स्थान दिनुपर्ने हुन्छ । त्यस्तो अवस्थाका लागि तयार रहँदै प्रधानमन्त्री प्रचण्डले केही दिनमै मन्त्रिपरिषद् पुनर्गठन गर्न लाग्नुभएको हो ।
माधव रिझाउन कसरत
पछिल्लो केही दिनयता प्रधानमन्त्री प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई बारम्बार भेटिरहनु भएको छ । विपक्षी दलसँगको बैठकमा पनि नेपाल सहभागी भएपछि सत्ता गठबन्धनमा अप्ठ्यारो नपरोस् भनेर प्रधानमन्त्रीले नेपालसँग नियमित वार्ता गरिरहनु भएको हो । सोमबार एमाले अध्यक्ष केपी ओली समेतलाई राखेर प्रधानमन्त्रीले नेपालसँग छलफल गर्नुभयो । छलफलमा नेपालले आफ्नो पार्टीलाई गठबन्धनमा सम्मानजनक व्यवहार नगरिएको, सुदूरपश्चिम सरकारलाई सहयोग नभएको, कर्णालीमा सरकारबाहिर राखिएको तथा सरकारका निर्णयहरूमा पूर्वछलफल नभएको लगायतका गुनासो गर्नुभएको छ । छलफलपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले संवाद सकारात्मक भए पनि आफ्नो पार्टीका सरोकारहरू सम्बोधन हुन जरुरी रहेको बताउनुभएको छ । मधेश प्रदेशमा समाजवादीले समर्थन नगरे गठबन्धनको सरकार बन्दैन । यस्तो अवस्थामा संघीय सत्ता जोगाउन पनि एकीकृत समाजवादीको साथलाई जोगाउनुपर्ने बाध्यता प्रधानमन्त्रीलाई आइपरेको छ ।
ओली रिसाउलान् भन्ने डर
बजेट अघिसम्म सरकारको आलोचना नगर्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले सरकारसँग रुष्ट हुनुहुन्छ । बजेट निर्माणका क्रममा एमालेसँग छलफल नगरिएको र माओवादी लक्षित कार्यक्रम बजेट समेटिएको विषयमा अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनसँग असन्तुष्ट हुनुहुन्छ । ओलीकै निर्देशनका कारण एमाले सांसदहरूले संसद्को रोष्ट्रममा उभिएर बजेटको विरोध गरिरहेका छन् । मुख्य सत्ता घटकले नै बारम्बार विरोध गर्दा प्रधानमन्त्री प्रचण्डलाई गठबन्धन जोगाउनु थप चुनौतीपूर्ण बनेको छ । यहीकारण हरेक दिन ओलीसँग भेटेर आफूप्रतिकूल वातावरण बन्न नदिन प्रधानमन्त्री प्रचण्ड प्रयासरत हुनुहुन्छ ।
देउवासँग पनि संवादमा
केही दिनअघि प्रधानमन्त्री प्रचण्ड आफैँ कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा पुग्नुभएको थियो । भेटमा दुवै नेताबीच संसद्को गतिरोध र समसामयिक राजनीतिबारे छलफल भएको बताइएको थियो । खासमा सत्तामा आइपर्न सक्ने सम्भावित संकटको विकल्प तयार राख्न प्रचण्डले देउवा भेटेको बताइन्छ । सोमबार पनि बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच समसामयिक विषयमा छलफल भएको छ । कांग्रेसका नेताहरू पछिल्लो समय प्रधानमन्त्रीसँग सभापति देउवाको संवाद बाक्लिँदै गएको बताउँछन् ।
प्रचण्ड सरकार दुई/चार दिनमै ढल्छ : यादव
प्रधानमन्त्री प्रचण्डकै सहयोगमा आफ्नो पार्टी विभाजन गराइएको आरोप लगाउँदै आउनुभएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रचण्ड नेतृत्वको सरकार दुई/चार दिनमै ढल्ने बताउनुभएको छ । कपिलवस्तुमा अगुवा कार्यकर्ताहरू सँगको भेटमा अध्यक्ष यादवले प्रचण्ड नेतृत्वको सरकार केही दिनमै ढल्ने टिप्पणी गर्नुभएको हो । जसपा विभाजनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच