जलवायु परिवर्तनले गर्भवती महिला र बालबालिकाहरुमा बढी असर परेको छ : उपसभामुख राना

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । उपसभामुख इन्दिरा रानाले जलवायु परिवर्तनले सबैभन्दा बढी गर्भवती महिला र बालबालिकाहरुमा असर परेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर गर्भवती महिला, बालबालिका र वृद्धवृद्धमा पर्ने गरेको भन्दै सरकारले आवश्यक चासो र असर न्युनिकरणका लागि पहल गनुपर्नेमा जोड दिनुभएको हो । उहाँले जलवायु परिवर्तनको असर शहरमा बस्नेहरुलाई खासै जानकारी नभएपनि हिमाल र पहाडी इलाकामा बस्ने मानिसहरुलाई दिन प्रतिदिन समस्या बढ्दै गइरहेको उल्लेख गर्नुभयो ।

उहाँले जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लँदै गएको, हिउँ नपर्ने समस्या बढेको र बालीहरु उत्पादनमा ह्रास आइरहेको जस्ता समस्या बढेको बताउनु भयो । उहाँले तराईमा पनि विभिन्न रोगहरु भित्रिने, बाढी आउने र बाढीबाट हुने समस्याहरु विकराल बन्दै गएको भन्दै सरकारले समयमा नै विशेष ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनबाट परेका असरको न्युनिकरणमा सबै एक भएर लाग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शहरमा बस्ने मानिसलाई त्यत्ति थाहा हुँदैन । यो जलवायु परिवर्तनका कारण के भइरहेको छ, कस्तो असर भइरहेको छ भन्ने । किनभने अस्पतालहरु सबै यहीँ छ । जो हिमाल र पहाडको विकट ठाउँमा बस्नेहरुलाई यसले ठूलो असर पारेको छ । बालीहरु पहिलाको जस्तो फलाउन नसक्ने समस्याहरु उहाँहरुले राख्नुभएको थियो । जलवायु परिवर्तनले गर्दा अहिले त्यहाँ उत्पादन हुन सक्दैन । जलवायु परिवर्तनले गर्दा विशेष गरी गर्भवती महिलाहरु, वृद्धवृद्धा र बालबालिकाहरुमा बढी असर परेको हुन्छ । बाढी तराईमा जाने कुरा बढी वर्षाका कारणले हुन्छ । त्यसको असर धेरै छ । सरकारले धेरै कुराहरुको व्यवस्थापन गर्नुपर्नेछ । जलवायु परिवर्तनका कुराहरु कसरी छिटो व्यवस्थापन गर्ने भन्नेकुरामा हामीले विशेष ध्यान दिनुपर्छ ।’

उपसभामुख रानाले नेपालले यस वर्ष धेरै ऋण लिएकमो उल्लेख गर्दै नेपालमै भएका साधन श्रोतहरुको पहिचान गरी व्यवस्थापन गर्नसके ऋण लिइरहनुपर्ने समस्या नहुने जिकिर गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि आजदेखि नै सबै मिलेर लाग्नुकाे विकल्प नरहेको बताउनु भयो । उहाँले नेपालमा भएका प्राकृतिक श्रोत र साधनलाई राम्रोसँग व्यवस्थित गरेर लैजानसके समृद्ध देश बनाउन सकिने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?