रत्नपार्कको सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क बालमन्दिरको जग्गामा बनेको खुलासा

हिमालय टाइम्स
Read Time = 5 mins

-चिसाङ शेर्पा

खोटाङ । खोटाङको दिक्तेल बजारस्थित रत्नपार्कमा निर्माण भएको सपिङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्कको जग्गा नेपाल बालमन्दिरको नामका रहेको खुलासा भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन नगरप्रमुख दिपनारायण रिजालको कार्यकालमा निर्माण गरिएको संरचना नगरपालिकाको नाममा जग्गा नामसारी नगरी अर्कैको जग्गामा बनेको पाइएको हो ।

साबिक दिक्तेल वडा नं. ४ साबिक कित्ता नम्बर ११६४ क्षेत्रफलमा नेपाल बालमन्दिरको नाममा रहेको ‘एक रोपनी सात आना तीन पैसा दुई दाम’ एकलौटी जग्गामा अनुमतिबिना नगरपालिकाले व्यापारिक भवन तथा बालबालिकाहरूको खेलमैदान निर्माण गरेको भन्दै २३ साउनमा नेपाल बाल संगठन केन्द्रीय कार्यालय नक्सालले जग्गा अतिक्रमण रोक्का गर्न नगरपालिकालाई पत्राचार गरेको छ ।

अनुमतिबिना नगरपालिकाले व्यापारिक भवन तथा बालबालिकाहरूको खेलमैदान निर्माण गरी भाडामा दिन लागेकोबारे मौखिक जानकारी प्राप्त भएपश्चात् नगरपालिकालाई कानुनविपरीत गरिएको कार्य रोक्का गर्नका लागि पत्राचार गरिएको र हालसम्म पनि उक्त पत्रको प्रत्युत्तर प्राप्त नभएपछि मन्दिरको जग्गा यथाशीघ्र फिर्ता गर्न नगरपालिकालाई पत्राचार गरिएको नेपाल बाल संगठनका प्रमुख कार्यकारी अधिकृत अजयकुमार शाहले लेख्नुभएको पत्रमा भनिएको छ ।

‘के–कति कारणले अनाथ बालबालिकाको जग्गामा जनप्रतिनिधिमूलक संस्थाले बिनाअनुमति व्यावसायिक भवन बनाई भाडासमेत लगाएर अनधिकृत प्रयोग गरेको हो ? यथाशीघ्र बालमन्दिरको जग्गा फिर्ता गरी सहयोग गरिदिनुहुन अनुरोध छ,’ पत्रमा भनिएको छ । जग्गा फिर्ता गर्न भनी लेखिएको पत्रमा नेपाल बाल संगठन केन्द्रीय कार्यसमिति अध्यक्ष, महासचिव, प्रशासन विभाग र जिल्ला प्रशासन कार्यालय खोटाङलाई बोधार्थ दिइएको छ । जिल्ला मालपोत कार्यालयमा अभिलेख हेर्दा संरचना बनेको जग्गा अहिले पनि बालमन्दिरकै नाममा रहेको छ ।

सामान्यरूपमा जग्गापास गरेर आफ्नोमा नामसारी गरेर संरचना बनाइने तथा भोगचलन गर्ने प्रचलन छ । तर, जग्गा त अहिले पनि बालमन्दिरकै नाममा छ । मालपोत कार्यालयका एक अधिकारीले भन्नुभयो, ‘यो त अचम्म भो । जग्गाधनीले चाहे जे पनि गर्न सक्छ । संरचना भत्काउन पनि सक्छ ।’

पर्यटन मन्त्रालयको दुई करोड ५७ लाख र नगरपालिकाको एक करोड ८० लाख ८४ हजार ७५१ रुपैयाँमा उमा–लामा–अन्सुबी जेभीले सपिङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क निर्माण गरेको थियो । सपिङ कम्प्लेक्सका लागि बनाइएको भवनको पहिलो तलामा १४ वटा सटरमध्ये अहिले केही भाडामा सञ्चालन भइरहेको छ । माथिल्लो तलामा (६ वटा सटर बराबरको) एउटा रेस्टुरेन्ट हल र स्टलका लागि पाँचवटा कोठा रहेका छन् । माथिल्लो तलाको पछाडि खुला जमिनमा चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।

३ फागुनमा तत्कालीन मेयर रिजालले उद्घाटन गर्नुभएको उक्त संरचनाअन्तर्गत चिल्ड्रेन पार्कको पछाडिको टेवा पर्खाल चार महिनामै सामान्य वर्षाले दबिएर चिरा–चिरा हुंदै स्विमिङ पुल र अन्य संरचना पनि भासिएको छ । निर्माण भएको चार महिनामै संरचना काम नलाग्ने गरी चर्किएपछि ११ असारमा नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख बिसन राई, प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेलगायतले अनुगमन गर्नुभएको थियो । तर, चर्किएको संरचना अहिले पनि उस्तै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?