गुमेका आँखाको ज्योति फर्किएपछि वृद्धवृद्धा खुसी

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । ५ वर्षअघि दुवै आँखा बन्द भएपछि बाहिरी संसार देख्न नपाएकी पाल्पा रिव्दीकोट गाउँपालिका-२ लघुवाकी विष्णु कुमारी नेपालले दुवै आँखा देखेपछि खुसी हुँदै भन्नुभयो ’नयाँ जन्म पाएजस्तो भएको छ ।’ नेपाललाई उहाँका कान्छा छोराले पिठ्युँमा बोकेर नजिकैको स्वास्थ्यचौकीमा सञ्चालित आँखा शिविरमा ल्याउनुभएको थियो । उहाँले हिटासँग भन्नुभयो ‘ अहिले त गाउँमा पनि ठूल्ठूला घर बनेछन्, पहिले साना-साना झुप्रा थिए ।’ आँखाको ज्योति गुमाएपछि जीवन नै अन्धकार भएको उहाँ सम्झनुहुन्छ । नेपाल भन्नुहुन्छ ‘घरमा छोरा, छोरी, नाति नातिना छन् तर, आँखा नभएपछि कोही नभएजस्तो केही नभएजस्तो महसुस हुने रहेछ, अहिले ज्योति पाएपछि संसार नै उज्यालो भएको छ ।’ उहाँको ५ बर्ष अघि मोतियाविन्दु भएको थियो ।

त्यस्तै, आँखा उपचारका लागि शिविर आउँदा छोराको पिठ्युँमा बोकिएर आउनुभएका लघुवाकै केशवराज नेपाल पनि आँखा शिविरबाट ज्योति पाएपछि दंग पर्दै ठमठम हिंडेर घर फर्किइनुभयो । ‘गाउँपालिकाले वडामै आँखा शिविर राख्यो, आँखा जचाँए, गाउँपालिकाले निःशुल्क अप्रेसन गरिदिएकाले अब दुबै आँखाले देख्ने भएको छु’ नेपालले भन्नुभयो । आँखाको ज्योति फर्किएपछि उहाँ खुसी हुनुहुन्छ । ‘अर्को जन्म पाएजस्तो भएको छ,’ खुसी हुँदै उहाँले भन्नुभयो ‘फेरी आँखा देखिन्छ भनेर सोचेको थिएन् । संसार देख्न पाउँदा सारै खुसी लागेको छ ।’ आँखा शिविरमा आँखाको पुनः ज्योति पाएर संसार चिहाउन सक्ने बन्नुभएका विष्णुकुमारी र केशव मात्रै होइन पालिकाका करिव १ सय ३९ नागरिक सबै दंग छन् ।

यहाँको रिब्दीकोट गाउँपालिकाले वडा वडामा पुगेर शिविरमार्फत मोतियाविन्दुको अप्रेसन गर्दै आएको छ । गाउँपालिकाले नेपाल नेत्र ज्योती संघ पाल्पा लायन्स लाकौल आखाँ अस्पतालको सहकार्यमा पालिकाभरीका जेष्ठ नागरिकहरुलाई संसार देखाउने काम गरेको हो । गाउँपालिकाले सबै वडाका बस्ती-बस्ती टोल-टोलमा पुगी आँखा शिविर सञ्चालन गरेर मोतियाविन्दु रोग लागेका सबै विरामीहरुलाई दुई दिने शिविरमार्फत निःशुल्क रुपमा अप्रेसन गरी गुमेको आखाँको ज्योती पुनः फर्काएर संसार देख्ने बनाएको हो । ‘गाउँपालिकाका जनतालाई हाम्रो साथमा स्थानीय सरकार छ भन्ने प्रत्याभूूति दिलाउने हो, सोही अनुसार म बनाउछु मेरो रिब्दीकोट अभियान अन्तर्गत पाल्पा लायन्स लाकौल आँखा अस्पतालसँग सहकार्यबाट एउटै अभियानमा ५ हजार २ सय भन्दा बढी नागरिकहरुको आखाँ जाँच गरेर उनीहरुलाई आवश्यकता अनुसारको उपचार गरेको छौं । १ सय ३९ जनाको निःशुल्क अप्रेसन गरिएको छ’ पालिका अध्यक्ष नारायण बहादुर कार्कीले भन्नुभयो । पालिकाले आँखा अप्रेसन गर्ने जेष्ठ नागरिक तथा विरामी कुरुवालाई घर-घरबाट ल्याउने लैजाने, खान बस्नको निःशुल्क व्यबस्था गरेको र छुटेका अप्रेसन गर्नुपर्ने आखाँका विरामीहरुलाई तानसेन तथा भैरहवा पठाउने व्यवस्था समेत रहेको पालिका उपाध्यक्ष कान्ता अधिकारीले बताउनुभयो ।

जनहितको लागि पालिकाको यो निकै महत्वपूर्ण काम हो । आधारभुत स्वास्थ्य सेवा निःशुल्क पाउनु पर्छ भनि संविधानको मूूल भावना अनुसार एकै पटक पालिका भरीका ५२ सय व्यक्तिले आँखाको उपचार सेवा पाएका हुन । अभियानले नागरिकहरुलाई स्थानीय सरकार भएको अनुभुती भएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले बताउनुभयो । पालिकाभरीका जनतालाई आँखा देख्ने बनाउन, सबैलाई संसार देख्ने बनाउन सिंगो पालिकादेखी सबै वडाका स्वास्थ्यकर्मी, महिला स्वयमसेविका निरन्तर दुई महिनादेखी गाउँघरमा खटियौ, सबैका घर-घरमा पुग्यौ र आज आँखा नदेख्ने १ सय ३९ जनाको शल्यक्रिया गरेर आँखा देख्ने बनाउन सफल भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?