मनसुन पूर्वतयारी तथा प्रतिकार्यको काम आजैदेखि शुरु भएको छ : गृहमन्त्री लामिछाने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडाैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारले मनसुनजन्य विपद् न्युनिकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरिएको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरेको जानकारी दिनुभएको हो । उहाँले पोष्टले विपद् अघिको पूर्वतयारीदेखि विपद्पछि गर्नुपर्ने सबै प्रकारका कामहरु गर्ने बताउनु भयो । उहाँले आजबाट शुरु हुनेगरी ११४९ नम्बरको टोल फ्रि नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा विपद् सम्बन्धी सूचना तथा जानकारी लिनका लागि खुला गरिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘मनसुनजन्य विपद्बाट ८३ हजार घरपरिवार प्रत्येक्ष प्रभावित हुनसक्ने । १८ हजार घरपरिवारलाई मनसुनजन्य विपद्मा उद्धार र राहत दिनुपर्ने आँकलन छ । कार्यकारी समितिको बैठकबाट मनसुन शुरु भएदेखि अन्त्य नभएसम्मका लागि गृह मन्त्रालयको विपद् तथा द्वन्द व्यवस्थापन महाशाखाका सहसचिवका नेतृत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको स्थापना गर्ने निर्णय भएको छ । जसमा सबै सुरक्षा निकाय र विपद् व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न मन्त्रालय र विभागका प्रथम श्रेणीका अधिकारीहरुले कार्य गर्नेछन् । कमाण्ड पोस्टले मौसम पूर्वानुमानको जानकारी लिइ, जोखिमको आँकलन गरी, प्रभावका आधारमा पूर्वतयारी र विपद्का घटनापछिको प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयन गर्न, गराउनका लागि वानस्टप सेन्टरको रुपमा संयोजनकारी भुमिका खेल्नेछ । यसै पोष्टले विपद् व्यवस्थापनका लागि परिचालित हुने सरकारी, गैरसरकारी एवं वैदेशिक सहयोगबाट प्राप्त हुने सामग्रीको परिचालनमा समेत समन्वय गर्नेछ । अन्य ठाउँमा समन्वय गर्नुपर्ने भए यसले आफैँले समन्वय गर्नेछ । यसलाई तत्काल कार्यान्वयनमा ल्याइएको छ । समन्वयको अभावले सामानहरु नजाने, पैसाको निकासी नहुने जस्ता कुराहरुबाट विगतमा भएका अनुभवहरुबाट सिकेर कमाण्ड पोष्टलाई पूर्ण अधिकार प्रदान गरिएको छ । कमाण्ड पोष्टले आवश्यक पर्दा प्रत्येक्ष रुपमा गृहमन्त्री, गृहसचिव र प्रधानमन्त्रीसँग समेत समन्वय गर्न सक्नेगरी अधिकारसम्पन्न बनाइएको कुरा जानकारी गराउन चाहान्छु । आजबाट सुरु हुने गरी २४ घण्टा ११४९ नम्बरको टोल फ्रि नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा यस्ता सुचनाहरु लिन, दिनका लागि तैनाथ राखिएको छ । र टोलि आजदेखि नै काम गरिरहेको सदनलाई जानकारी गराउन चाहन्छु ।’

गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दैविक सहायता कोष प्रदेश, जिल्ला र सबै स्थानीय तहका विपद् कोषहरुबाट गरी कुल ६ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ मौज्दात रहेको पनि बताउनु भयो । उहाँले सो रकमको सही परिचालन गर्न सकेमा राहत, उद्धारको काम नागरिकलाई महशुस हुनेगरी गर्न सकिने बताउनु भयो । त्यस्तै, ७३ हजार ६७० क्वीन्टल चामल, ४६ हजार ७४० त्रिपाल, ८ हजार ३५१ टेन्ट, १७ हजार ३५५ ब्ल्याकेट, ६ हजार १६० स्लिपिङ म्याट, ५ हजार ५२३ सेल्टर किट, २ हजार १०२ सेल्टर उपकरण, ८ हजार ६०३ भान्सा सम्बन्धी सरसामानको सिट, ३३ हजार ९३१ हाइजिन सेट मौज्दात रहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले नेपाली सेनाका १० हजार ८४७, नेपाल प्रहरीका १० हजार ५८५, सशस्त्र प्रहरी वल नेपालका १ हजार ९२४ तालिमप्राप्त जनशक्ति पनि विपद्का लागि तयारी अवस्थामा राखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘प्रधानमन्त्री दैवी सहायता कोष प्रदेश, जिल्ला र सबै स्थानीय तहका विपद् कोषहरुबाट ६ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ अहिले मौज्दात रहेको कुरा सदनलाई जानकारी गराउन चाहन्छु । यसको सही परिचालन गर्न सकियो भने हामी नागरिकलाई राहत, उद्धारको कार्यमा तत्काल महशुस हुनेगरी काम गर्नसक्छौँ भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु । १२ वटा बेलिब्रिज स्ट्याण्ड बाइ छ । देशका विभिन्न भागमा सडक खोल्नका लागि हेवी इक्युपमेन्टलाई तैनाथ राखिएको छ । यो सेन्टरले कल गर्न बित्तिकै तुरुन्तै अघि बढ्नेगरी तयार राखिएको छ । नेपाली सेनाको हेलिकप्टर तयार अवस्थामा राखेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग ७३ हजार ६७० क्वीन्टल चामल मौज्दात रहेको छ । विभिन्न गोदामहरुमा ४६ हजार ७४० त्रिपाल, ८ हजार ३५१ टेन्ट, १७ हजार ३५५ ब्ल्याकेट, ६ हजार १६० स्लिपिङ म्याट, ५ हजार ५२३ सेल्टर किट र २ हजार १०२ सेल्टर उपकरण, ८ हजार ६०३ भान्सा सम्बन्धी सरसामानको सिट, ३३ हजार ९३१ हाइजिन सेट मौज्दात अवस्थामा तयारी हालतमा रहेको कुरा जानकारी गराउन चाहान्छु । मनसुनजन्य विपद्मा घटिनसक्ने जनशक्तिको कुरा गर्दा नेपाली सेनाका १० हजार ८४७, नेपाल प्रहरीका १० हजार ५८५, सशस्त्र प्रहरी वल नेपालका १ हजार ९२४ तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा रहेका छन् भने विपद्का समयमा सुरक्षा निकायका थप जनशक्ति पनि आवश्यकताअनुसार परिचालन हुनेगरी तैनाथ अवस्थामा रहेको कुरा जानकारी गराउन चाहन्छु ।’

मन्त्री लामिछानेले राहत सामग्रीको वितरण एकद्वार प्रणालीबाट गरिने भन्दै छिटोछरितो गरिने पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?