समाजवादी मोर्चाले सातै प्रदेशमा कार्यक्रम गर्ने, कार्यदल गठन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ ।

आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको सन्देश आम जनतामाझ पुर्याउन यही साउन महिनाभित्रै प्रदेश राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकमा लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अघि बढाउनेबारे विशेष छलफल भएको र सातै प्रदेशमा केही दिनभित्रै आमसभा गर्ने निर्णय भएको छ । “साउन महिनाभित्र सातै प्रदेशमा आमसभा गर्ने र सोको मिति यही २७ गते अर्को बैठकले कुन प्रदेशमा कस्ता कार्यक्रम गर्ने भन्ने घोषणा गर्नेछ”, उहाँले भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’लगायत चारै पार्टीका दोस्रो तहका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

कार्यदल गठन

एकीकृत समाजवादीका अध्यक्ष नेपालको अध्यक्षतामा बसेको बैठकले सातै प्रदेशमा गरिने आमसभाको मिति र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । उक्त कार्यदलले सात प्रदेशमा गरिने कार्यक्रमको मिति र आचारसंहिता तयार गर्ने उपाध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

चार सदस्यीय कार्यदलमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठ र नेकपाका खड्गबहादुर विश्वकर्मा रहनुभएको छ । कार्यदलले समाजवादी मोर्चाको भावी रणनीति तयार गर्ने जनाइएको छ । मोर्चालाई कसरी बलियो बनाएर लैजाने, नेपाली समाजको विशेषताअनुसारको समाजवाद कस्तो बनाउने भन्ने नीतिगत दस्तावेज तयार गर्ने जिम्मेवारी दिइएको एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

मोर्चाको अध्यक्षता हरेक छ महिनामा आलोपालो

मोर्चाको नेतृत्व छ–छ महिनामा नेताहरूले आलोपालो गर्ने समझदारी बनेको र सो विषय आगामी बैठकले टुङ्गो लगाउने एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले जानकारी दिनुभयो । आजको बैठक सौहार्दपूर्ण ढङ्गले सम्पन्न भएको र भावी रणनीतिबारे आगामी बैठकमार्फत बाहिर ल्याइने उहाँको भनाइ छ ।

मोर्चा गठन भएको २३ दिनपछि पहिलो बैठक बसेको हो । “मोर्चा गठन भएको लामो समयपछि बैठक बस्यो, प्रथम बैठक अलि ढिला भयो भन्ने हामी सबैले समीक्षा गर्यौँ । आजको बैठकमा लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अघि बढाउनेबारे विशेष छलफल गर्यौँ”, उपाध्यक्ष पाण्डेले भन्नुभयो ।
रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?