गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न : गिरिबन्धुको फाइल खोल्न तयार हुनुहुन्छ ?

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टि स्टेटको फाइल खोल्न तयार हुनुहुन्छ भनि गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले ७० बिगाहाको कमिसन खाएको भनेर आरोपित गरेको भन्दै सो उपर छानविन गर्न चुनौती दिनुभएको हो । उहाँले गिरिबन्धुको अनुसन्धान गरेर काँग्रेसलाई दण्डित गर्न चुनौती दिनुभयो । उहाँले फाइल खोल्न तयार हुनुहुन्छ भनि गृहमन्त्रीलाई प्रश्न गर्नुभयो । महामन्त्री शर्माले गृहमन्त्रीले गिरिबन्धु टि स्टेटको सम्बन्धमा फाइल खोल्न होइन बोल्न पनि नसक्ने बताउनु भयो । उहाँले ओलीले शिक्षामन्त्रीमाथि गरेको टिप्पणी बारेमा समेत पार्टी सभापति समेत रहेका गृहमन्त्रीले बोल्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘म यहाँनिर गृहमन्त्रीजीलाई खोज्न चाहान्छु । सत्ता गठबन्धन दलको सबैभन्दा ठुलो अध्यक्षले कांग्रेसले बेचेर ७० बिगाहाको कमिशन खायो भनेर जे आरोप लगाउनुभएको छ । त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाई गिरिबन्धुको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ? म जान्दछु खोल्न होइन, बोल्न पनि उहाँ सक्नुहुन्न । बोल्न सक्नुभएको भए शिक्षा मन्त्रीउपरको शब्द फिर्ता लिनुस् पूर्वप्रधानमन्त्रीज्यू उहाँले दमदार ढंगले भन्न सक्नुहुन्थ्यो । नम्रतापूर्वक पनि उहाँले भन्न सक्नुभएन । विवाह कसले को सँग गर्ने त्यो कुरा व्यक्तिको नितान्त व्यक्तिगत स्वतन्त्रताको कुरा हो । अघिल्लो पुस्ताका कोही पनि अग्रज आदरणीय नेताहरुले पछिल्लो पुस्ताका जुनसुकै दलका हुन उदाउँदै गरेको राजनीतिक नेतृत्वलाई निरुत्साहित गर्नुहुन्न । प्रोत्साहित गर्नुपर्छ ।’

महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग केपी ओली भिडिरहेको भन्दै त्यसरी भिड्नुपरेमा उपमेयर अथवा सम्बन्धित तहका पार्टी प्रतिनिधिलाई लगाउन सुझाव समेत दिनुभयो । उहाँले न्युरोडमा सडकपेटी बढाउनु जरुरी रहेको धारणा राख्दै मेयर बालेन्द्रले ठिक काम गरेका समेत बताउनु भयो । उहाँले मेयर शाहलाई काम गर्न दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्‍यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि । त्यही तहमा भएका पार्टीका प्रतिनिधिलाई भन्दा हुन्छ नि । तिनले त्यहीँ भने भइगयो नि मेयर साप संयमले बोल्नुस् । जेल बसेका नेताहरुको सम्मान राखेर बोल्नुस् । यो तपाईको शैली बदल्नुस् । तर आफैँ सुरिनु भयो बोल्न । यो प्रकरणमा म केवल यतिमात्रै भन्न चाहान्छु, संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्छ । न्युरोडमा नागरिकका सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो । बालेनले जे गरेका थिए ठिक गरेका थिए । उनलाई त्यहाँ काम गर्न दिइनु पर्छ । संघले यसमा कुनैपनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ म यो आग्रह गर्न चाहन्छु ।’

त्यस्तै महामन्त्री शर्माले अदालतले निर्दोष सावित गरेपछि पनि क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न जान नपाएको भन्दै अमेरिका जान नपाउनुमा कहाँ कमजोरी भयो भनि परराष्ट्रमन्त्री र खेलकुदमन्त्रीसँग जवाफ माग गर्नुभयो । उहाँले अदालतले गरेको फैसला सुसूचित गराएर भिसाको लागि वातावरण बनाउनुपर्नेमा सरकारले त्यसो गर्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘नेपाली क्रिकेट टिम यसबेला विश्वकपको मैदानमा छ । समग्र नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत तर्फबाट म हाम्रा उत्साही खेलाडीहरुलाई शुभकामना व्यक्त गर्न चाहन्छु । हिजो आरोप लागिरहेको बेला शीरमा मुद्दा बोकेर मैदानमा उत्रिनुहुन्न हामी कयौँले भन्यौँ । तर सम्मानित अदालतले निर्दोष साबित गरिसकेपछि यस बेलामा सन्दिप लामिछाने विश्वकपको मैदानमा हाम्रो प्रतिनिधित्व गरेर खेलिरहनुभएको अवस्था हुनुपथ्र्यो । आफ्नो खेलाडीको बारेमा अदालतले गरेको फैसला सुसुचित गरेर उनको भिसाको लागि वातावरण बनाउन सरकारले उचित पहल समयमै गर्नुपर्दथ्यो । यसमा कमजोरी कहाँ रह्यो ? यो किन कमजोरी भयो ? खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारको यस बारेमा म सभामुख महोदयमार्फत ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले सहकारी छानविन विशेष संसदीय समितिले स्वविवेक र तथ्यमा आधारित भएर छानविन गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?