गुल्मीको पर्यटन प्रवर्द्धनमा बुटवलका व्यवसायी

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

गुल्मी । बुटवलका व्यवसायीले गुल्मीको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने भएका छन् । उद्योग ब्यापार संघ बुटवलको एक टोलीले गुल्मी उद्योग बाणिज्य संघ र रेसुंगा नगरपालिकासंग भेटघाट गरी गुल्मीको पर्यटन प्रवर्द्धनमा आफूहरुको साथ र सहकार्य रहने बताएका हुन् ।

रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी र गुल्मी उद्योग बाणिज्य संघका पदाधिकारीसंगको छलफलमा उद्योग ब्यापार संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेले संस्थाको वार्षिक कार्यक्रम अनुसार संघ संस्था भेटघाट र आन्तरिक पर्यटन प्रवर्द्धनअन्तर्गत रेसुंगा तपोभूमिलगायतका स्थानको अवलोकन भ्रमण गरिएको बताउनुभयाे । अध्यक्ष पाण्डेले आफ्नो संस्थाले विशेष गरी साना मझौला उद्योगी व्यवसायीका हकहितलाई प्राथमिकतामा राखेर आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा राष्ट्रिय पुंजीको विकासमा जोड दिएको बताउनुभयाे ।

अध्यक्ष पाण्डेले कोरोना महामारीको असर अर्थतन्त्रमा अहिलेसम्म रहेपनि अब सुधार हुनेमा आशावादी बन्न आग्रह गर्दै रेसुंगा नगरपालिका र गुल्मी उद्योग बाणिज्य संघसंग संस्थागत सहकार्यलाई निरन्तरता दिइने बताउनुभयाे ।

रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले निजी क्षेत्रको साथ र सहकार्यले मात्रै समग्र देशको विकास हुने बताउनुभयाे । गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बुटवल व्यवसायको हब भएको र गुल्मी धार्मिक पर्यटनको हब भएकाले व्यवसाय र पर्यटनमा सहकार्य जरुरी रहेको बताउनुभयाे । दुबै संस्थासंगको छलफलमा उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उद्योग उपाध्यक्ष पदम जीसी, महिला उपाध्यक्ष अन्जु पाण्डे, महासचिव यमलाल मरासिनी, सचिव एवं कार्यक्रम संयोजक कोशलराज भण्डारीलगायत सदस्यहरुलेसमेत आ-आफ्ना धारणा राखेका थिए ।

उद्योग व्यापार संघको टोलीले रेसुंगा तपोभूमि, रेसुंगा पार्क भ्रमण गरी आर्थिक सहयोगसमेत गरेको र रेसुंगा होमस्टेमा बास बसेर ग्रामीण पर्यटन प्रवर्द्धन गरेको संघका महासचिव यमलाल मरासिनीले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?