कर्णाली राजमार्गको खच्चा सडक भाँसिदा दुई ट्रक फसे

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका-१ को खच्चामा पर्ने कर्णाली राजमार्ग सडक खण्डमा सामान ल्याएर आएका दुईवटा मालबाहक ट्रक फसेका छन् ।

आइतबार विहान ११ बजे उक्त सडकमा सुख्खा पहिरो र सडक भाँसिदा सवारी साधन आउजाउ बन्द हुनुका साथै दुईवटा ट्रक फसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । खच्चमा रहेको उक्त सडकखण्ड बाजुरा जिल्लाले हेर्ने भएकाले खबर गरिसकेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।

खच्च सडकखण्ड स्तरोन्नतीका साथै फसेका ट्रक निकाल्नका लागि जानकारी गराइ सकिएको बताइएको छ । धेरै पटक जिल्ला प्रशासन कार्यालय बाजुरालाई उक्त सडकखण्ड स्तरोन्नतिका लागि आग्रह गरिसकेको भएपनि कुनै सुनुवाई नगरेको बताइएको छ । सडक मर्मत र स्तरोन्नतिका लागि प्रशासनको ध्यानाकर्षण भएको छ ।

यस सडकखण्डमा सर्वसाधरण तथा यात्रुले पैदल आवतजावत गरिरहेका छन् भने आइतबार विहानदेखि सवारी साधन सञ्चालनमा नआएको खच्चमा होटेल व्यवसाय गर्दै आएका सर्केगाड गाउँपालिका-१ जैरका डिल बहादुर कार्कीले बताउनुभयो । सडक खुलाउन अहिलेसम्म डोजर नआएका कारण सवारी साधन फसेको स्थानीय कार्कीले बताउनुभयो ।

यस क्षेत्रका सडक वर्षेनी अवरुद्ध हुँदा राजमार्ग नै अवरुद्ध हुने गरेको छ । खच्चमा सुख्खा पहिरो जाने माटो मात्रै भएकाले हरेक वर्ष उक्त सडक भाँसिन्दै जाने गरेको कार्कीले बताउनुभयो । स्थानीय कार्कीले भन्नुभयो, “सडक मर्मत गर्न राज्यले चरम बेवास्ता गरेको छ । मर्मतमा सरकारले बेवास्ता गर्दा नागरिकले सास्ती खेप्नु परेको छ ।” सडक भाँसिदा गाडी फसेर सर्वसाधारण नागरिक अलपत्र परेको बताउनुभयो ।

सडकको हैरानी खेप्दै आएका सर्वसाधारण नागरिकले सडकको दीर्घकालीन मर्मतको माग राख्दै आएका छन् । दीर्घकालीन मर्मतका लागि तीन वटै सरकारले चासो नदेखाउदा बाजुरा, मुगु र हुम्ला गरी तीन जिल्लाका लाखौँ यात्रुहरु अलपत्र पर्ने गरेका छन् । यस क्षेत्रमा पर्ने सडक मर्मत दीर्घकालीन नहुँदा कालिकोटको खुलालुदेखि सलिसल्ला सम्मको ११२.१० किलो मिटर सडकमध्ये खच्चा सडकमा पुगेर यात्रु अलपत्र पर्नुपर्ने अवस्था छ ।

सर्केगाड गाउँपालिका-१ मा पर्ने कर्णाली राजमार्गअन्तर्गतकाे अवरुद्ध खच्चा सडकखण्ड र फसेका सवारी साधनहरु । तस्विर: दाने बोहरा/हिटा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?