‘मधेसको माटो म’ गणतन्त्र नेपालको प्रथम उपराष्ट्रपति परमानन्द झाद्वारा लेखिएको आत्मसंस्मरणात्मक पुस्तक हो । आकर्षक आकार प्रकार र कलेवरमा आएको यो पुस्तक पठनीय र उहाँका बारेमा जान्न चाहनेहरूका लागि उपयोगी हुनेछ । मधेसको माटोमा जन्मे हुर्केका झाले आफ्नो माटोको माया गर्दै पुस्तकको शीर्षक पनि माटो समेटिने गरी ‘मधेसको माटो म’ भनेर राख्नुभएको छ । यसको प्रकाशक घोष्ट राइटिङ नेपाल नयाँबानेश्वर रहेको छ । २०७९ साल साउनमा प्रकाशित भएको यो पुस्तक यसको प्रथम संस्करणका रूपमा आएको हो । डिएमआई साइजको यस पुस्तकको छपाइ स्तरीय छ र अशुद्धिहरू कमै पाइन्छन् । पुस्तकमा पहेंलो हलुका कागज प्रयोग भएको छ । पुस्तक २०४ पृष्ठको छ, यसको मूल्य ४५० रुपैयाँ छ ।
सप्तरीमा जन्मिनुभएका परमानन्द झा न्याय सेवामा लामो समयसम्म काम गरेर सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीशसमेत बन्नुभयो । अदालतबाट निवृत्त भएपछि गणतन्त्र नेपालको प्रथम उपराष्ट्रपति बन्नुभयो । उहाँका विषयमा जान्न चाहनेहरूका लागि यो पुस्तक पठनीय छ ।
यसको सर्वाधिकार लेखकमै छ । पुस्तकको लेआउट डिजाइन र आवरण नरेन्द्र लामा (स्याङ्बो) ले तयार पार्नुभएको छ भने आवरण तस्वीर विनोद कार्कीले लिनुभएको छ । आवरणमा नीलो रङको पृष्ठभूमिमा लेखक झाको पूर्णपृष्ठको तस्वीर राखिएको छ । तल पुस्तकको शीर्षक ‘मधेसको माटो म’ र कोष्ठकमा (सप्तरीदेखि शासनसत्तासम्म) भनिएको छ । त्यसभन्दा मुनि लेखकको नाम दिइएको छ । पृष्ठ आवरण पनि नीलो र आकर्षक छ । त्यहाँ प्रकाशकका तर्फबाट घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालको ‘यसलाई पढेर तपाईंले प्रेरणा लिनुभयो भने हामी प्रेरित हुनेछौं’ र लेखक परमानन्द झाको भनाइ ‘मेरो इच्छा चाहना र आकाङ्क्षा देशको समग्र विकास हो ।
त्यसमा पनि म मधेसमा जन्मिएकाले मधेसीले उन्नत जीवन जिऊन् भन्ने चाहन्छु’ भन्ने रहेका छन् । तल प्रकाशक संस्था घोष्ट राइटिङ नेपालको लोगोसहित नाम दिइएको छ । पुस्तकको भूमिका खण्डमा सुरुमा ‘समर्पण’ रहेको छ । यहाँ ‘मेरो सदैव सम्झनामा आइरहने, मलाई यो धर्ती देखाउने पूजनीय बुबा स्व.मदन झा र आमा स्व.राधादेवी झाप्रति सादर समर्पित गर्दछु’ भनिएको छ । त्यसपछि प्रकाशकका तर्फबाट घोष्ट राइटिङका अध्यक्ष कमल ढकालको ‘प्रकाशकीय’ र लेखक झाको ‘लेखकीय’ छन् । यसबाहेक अन्य कसैको भूमिका यहाँ रहेको छैन । त्यसपछि विषय सूची छ । पुस्तक तीन खण्डमा रहेको छ तर पहिलो खण्ड सुरु हुनुभन्दा पहिले नै दशटा लेख समावेश गरिएका छन् ।
यहाँ उहाँ उपराष्ट्रपति बन्दाका केही संस्मरण, केही तिक्तता, केही विभेदको अनुभूति, केही भाषाको मर्मको र स्वीकारोक्ति तथा भाषाको महत्व, उपराष्ट्रपति पदको सुविधा र अधिकारविहीन पद महसुस भएको जस्ता विविध सन्दर्भ उल्लेख भएका छन् । पदमा रहेको समयमा पनि उहाँले आफूलाई कुनै भूमिका नदिइएको सन्दर्भमा पटक-पटक आवाज उठाउनुभएको थियो । राष्ट्रिय पोशाक नलगाएको र राष्ट्र भाषा नेपालीमा शपथ ग्रहण नगरेको विषय त्यतिबेला आलोच्य बनेको थियो । यही कारणले उहाँले पछि दोहोर्याएर शपथ ग्रहण गर्नुभयो तर दोस्रोपटक पनि नेपाली भाषामा नभएर मैथिली भाषामा शपथ लिनुभयो । यी कुराहरूलाई उहाँले आफ्नो यस पुस्तकमा चर्चा गर्नुभएको छ ।
यसका साथै उपराष्ट्रपति पद अधिकार र सुविधाविनाको पद भएको, राष्ट्रपतिका वचनहरू पनि अधुरै रहेका, विदेश भ्रमणमा पनि विभेद गरिएको र संविधानसमेत विभिन्न राजनीतिक पार्टी र व्यक्तिहरूको स्वार्थको घेराभित्र निर्माण गरिएको जस्ता विषय यहाँ प्रस्तुत गर्नुभएको छ । यसरी सुरुका १० वटा पाठमा उहाँले आफू उपराष्ट्रपति बन्दाको समयका विभिन्न सन्दर्भलाई प्रस्तुत गर्नुभएको छ । त्यसपछि मात्र पुस्तकलाई विभिन्न तीन खण्डमा विभाजन गरिएको छ । यसपछि खण्ड एक सुरु हुन्छ । ‘पृष्ठभूमि र पात्रता’ शीर्षकअन्तर्गत चारवटा उपशीर्षहरूमा उहाँले आफ्नो जिजुहजुरबाले बाघसँग लडेर बिर्ता पाएकोदेखि आफ्नो बाल्यकाल, सानै उमेरमा भएको विवाह र नोकरीको प्रारम्भिक चरणलगायत सन्दर्भको संस्मरण गर्नुभएको छ ।
यसैगरी दोस्रो अध्यायमा ‘न्यायको पथ’ शीर्षकअन्तर्गत विभिन्न छवटा उपशीर्षकमा उहाँले गर्नुभएको न्यायसेवातर्फको पदार्पण, आपूmले गरेका कामहरू, विभिन्न ठाउँमा बस्ताको अनुभव, व्यहोर्नु परेका अवगालहरू, थोरै सेवासुविधामा जागिर खानुपर्ने बाध्यता र लागूऔषधसम्बन्धी मुद्दामा आपूmलाई फसाउने प्रयास भएको सन्दर्भहरूको चर्चा गर्नुभएको छ । तेस्रो खण्डमा ‘झाङ्गिएको झा परिवार’ शीर्षकअन्तर्गत विभिन्न उपशीर्षकमा आफ्नो वंशवृक्षको विभिन्न पक्षको चर्चा छ । यहाँ उहाँले आफ्ना मातापिताको प्रशंसा, पत्नीको उदात्त प्रेम, छोराछोरीहरूको स्नेह, गाउँको सम्झाना, काकाहरूको कहानी, मधेसतिरको पान खाने चलन, विदेश भ्रमण, घर बनाएको प्रसङ्ग, पदमा हुँदा/नहुँदाको अनुभव, उपसंहारमा नेपालमा मधेस/मधेसीको अवस्थाको चित्रण र अन्त्यमा वंशावली दिइएकको छ ।
पुस्तकको अन्तिममा उहाँका केही औपचारिक र केही पारिवारिक तस्वीर समावेश गरिएका छन् । सप्तरीमा जन्मिनुभएका परमानन्द झा न्याय सेवामा लामो समयसम्म काम गरेर सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीशसमेत बन्नुभयो । अदालतबाट निवृत्त भएपछि गणतन्त्र नेपालको प्रथम उपराष्ट्रपति बन्ने सौभाग्य पाउनुभयो । हिन्दीमा शपथग्रहण गरेका कारण उहाँ विवादमा तानिनुभयो । अदालतमा हुँदा पनि उहाँले गरेको फैसलामाथि विवाद भयो, उहाँलाई लागूऔषधको कारोबारीलाई सफाइ दिएको अभियोग लाग्यो । यी यावत् सन्दर्भको निवारणसमेत यो पुस्तकमा छ । त्यसकारण उहाँका विषयमा जान्न चाहनेहरूका लागि यो पुस्तक पठनीय बन्नपुगेको छ । एक प्रकारले भन्ने हो भने तत्कालीन इतिहासको सग्लो दस्तावेज पनि हो । संस्मरणकार झा र प्रकाशक घोष्ट राइटिङ नेपाल दुवैलाई पुस्तकका लागि बधाई तथा पुस्तकको सफलताको शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच