काठमाडौं । नेपाली सुटिङ खेलाडी सुस्मिता नेपालले अर्को महिनादेखि फ्रान्समा हुने पेरिस ओलम्पिक २०२४ खेल्ने हुनुभएको छ । आगामी जुलाई २६ देखि अगष्ट ११ सम्म हुने पेरिस ओलम्पिकमा नेपालकी सुस्मिता वाइल्ड कार्डमार्फत् छनोट हुनुभएको हो । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सुस्मिताको सहभागिता निश्चित भएको जनाएको छ । एनओसी र नेपाल सुटिङ संघले सुस्मिताका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) समक्ष वाइल्ड कार्ड प्रस्ताव गरेको थियो । उहाँलाई युनिभर्सालिटी कोटा प्रदान गरिएको एनओसीले जनाएको छ । सुस्मिताले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नुहुनेछ । आवश्यक न्यूनतम स्कोर पूरा गरेका कारण सुम्मिता उक्त कोटाका लागि योग्य हुनुभएको हो ।
यसअघिको ओलम्पिक टोकियो २०२० मा कल्पना परियारले खेल्नुभएको थियो । १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्दा कल्पनाले ६१६.८ स्कोर बनाउनुभएको थियो । बिहीबार सम्पन्न राष्ट्रिय सुटिङ प्रतियोगिताको २५ औँ संस्करणमा बागमती प्रदेशबाट खेल्नुभएकी सुस्मिताले दोहोरो रजत जित्नुभएको थियो । उहाँले व्यक्तिगत र मिक्स टिममा रजत जित्नुभएको थियो ।
सुस्मिता पेरिस ओलम्पिकका लागि छानिनुभएको नेपालकी छैटौँ खेलाडी हुनुहुन्छ । यसअघि टेबलटेनिसबाट स्यान्टु श्रेष्ठ दक्षिण एसियाली छनोट चरण पार गरेर ओलम्पिकका लागि छानिसक्नुभएको छ । त्यसैगरी, ब्याडमिन्टनबाट प्रिन्स दाहाल, पौडीबाट डुवाना लामा र एलेक्जेन्डर शाह तथा एथलेटिक्सबाट सन्तोषी श्रेष्ठले वाइल्ड कार्डमार्फत् ओलम्पिकमा सहभागिता पक्का गर्नुभएको छ । नेपालले सन् १९८८ को सोल ओलम्पिकदेखि सुटिङमा सहभागिता जनाउन थालेको हो । त्यसयता रियो २०१६ बाहेक सबै ओलम्पिकमा सहभागिता जनाउँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच