![पीडादायी हारमा स्तब्ध नेपाल](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Nepali-Cricket-Hita-fornt-page.jpg)
काठमाडौं । परम्परागत राजनीतिक दलहरूको नेतृत्व र कार्यशैलीमाथि प्रश्न उठाएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना भएको दुई वर्ष पुग्न लागेको छ । अरूमाथि प्रश्न उठाएर उदाएको रास्वपा अहिले भने आफैँ अनेकौँ प्रश्नको घेरामा परेको छ । २०७९ असार पहिलो साता काठमाडौंको राष्ट्रिय सभागृहबाट राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरिएको थियो । पार्टी स्थापना भएको एक वर्ष पनि नपुग्दै आम निर्वाचनमा बलियो उपस्थिति देखाएको रास्वपाले दुई वर्षमै थुप्रै उतारचढावको सामना गर्नुपरेको छ । स्थापनाको वर्ष नै मुलुकको राष्ट्रिय राजनीतिमा चौथो शक्ति बनेको रास्वपा अहिले आफैँ प्रश्नको घेरामा छ । खासगरी पार्टी सभापति रवि लामिछाने जोडिएका विविध विषयले रास्वपालाई बारम्बार विवादमा तानिरहेको छ । सञ्चार क्षेत्रमा तमाम प्रश्न उठाएर राजनीतिमा आउनुभएका लामिछाने अहिले जवाफ दिने ठाउँमा पुगेपछि भने तर्किएर हिँड्न थाल्नुभएको छ । उपप्रधान एवं गृहमन्त्रीसमेत रहनुभएका लामिछाने शुक्रबार मात्रै पत्रकारलाई निर्मम प्रश्न गर्न आग्रह गरेर प्रश्नै नसुनी हिँड्नुभएको थियो ।
गृह मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लामिछानेले पत्रकारलाई निर्ममभन्दा निर्मम प्रश्न गरिराख्न आग्रह गर्नुभएको थियो । तर, कार्यक्रमको अन्त्यमा पत्रकारको एउटा पनि प्रश्न नसुनी उहाँ कार्यक्रम हलबाट बाहिरिनुभयो । कार्यक्रम हलबाट उहाँ निस्कन लागेपछि पत्रकारहरूले प्रश्नको जवाफ दिन आग्रह गरेका थिए । उहाँ निस्किने क्रममा केही पत्रकारले प्रश्नसमेत गरेका थिए । तर, गृहमन्त्रीले जवाफ दिनुभएन । आफ्नो सय दिने कार्यकालको उपलब्धि सुनाउनुभएका गृहमन्त्रीले प्रश्न सुन्नै चाहनुभएन । पार्टी स्थापनादेखि नै विभिन्न विवादमा मुछिनुभएका लामिछानेलाई पछिल्लो समय सहकारी रकम हिनामिनाको प्रश्नले लखेटिरहेको छ । उहाँको समेत संलग्नता दाबी गरिएको सहकारी प्रकरणको छानविन गर्न संसदीय समितिसमेत बनेको छ । यसअघि उहाँको नागरिकता र राहदानीबारे गम्भीर प्रश्न उठेको थियो । अदालतको फैसलापछि नागरिकताको विषय निरूपण भए पनि राहदानीको विषयमा उन्मुक्ति दिइएको भन्दै आलोचना भरहेको छ ।
लामिछानेले सञ्चारकर्ममा कमाएको लोकप्रियताकै बलमा गत निर्वाचनमा रास्वपाले प्रत्यक्षमै सात सिट जितेको थियो । समानुपातिकमा देशभरबाट ११ लाख ३० हजार ३४४ मत ल्याएर १३ सिट पाएको रास्वपाले उपनिर्वाचनमा समेत एक सिट थपेको थियो । गत मंसिर ४ मा भएको आम निर्वाचनमा रास्वपाले प्रत्यक्ष तर्फको १६५ क्षेत्रमध्ये १३१ क्षेत्रमा मात्रै उम्मेदवारी दिएको थियो । प्रदेश सभातर्फ भने उसले उम्मेदवारी नै दिएको थिएन ।
दुई वर्षमै दुईचोटि सरकारमा
रास्वपा स्थापनाको दुई वर्ष हुनै लाग्दा दुईपटक सरकारमा सामेल भइसकेको छ । निर्वाचन परिणामपछि प्रतिपक्षीमा बस्ने जनमत भए पनि रास्वपा सरकारमा छ । आम चुनावपछि कांग्रेस नेतृत्वको गठबन्धनमा प्रधानमन्त्रीबारे विवाद उत्पन्न भएर २०७९ पुस १० मा सत्ता समीकरणले कोल्टे फरेपछि रास्वपा सरकारमा सामेल भएको थियो । राजनीतिक समीकरण परिवर्तन भएसँगै रास्वपाले एकाएक सरकार निर्माणमा ‘किङ मेकर’को स्थान पाएको थियो । तीन मन्त्री र एक राज्यमन्त्रीसहित प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा सहभागी भएको थियो । ११ पुसमा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्नुभएको थियो । माघ ३ मा मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा रास्वपाबाट तीन मन्त्री र एक राज्यमन्त्री बनेका थिए ।
तर, नागरिकता प्रकरणले उहाँलाई सताउनु सतायो । गृहमन्त्री बनेर सिंहदबार इन्ट्री गर्नुभएका लामिछाने ‘अनागरिक’ भएर ‘आउट’ हुनुप¥यो । आफूमाथि लागेको नागरिकता र राहदानी दुरुपयोगको आरोपबारे छानविन गरिरहेको प्रहरीकै तालुकदार मन्त्रालयको जिम्मेवारीमा लामिछाने बसिरहेकोमा पनि विवाद भयो । लामिछानेसँग नेपाली नागरिकता नरहेको भन्दै परेको उजुरीमा सर्वोच्च अदालतले माघ १३ मा फैसला गरेको थियो । अदालतले लामिछानेलाई नागरिकता प्रकरणमा दोषी ठहर गरेपछि सांसद पदसमेत खारेज गरेको थियो ।
अदालतको फैसला आउनेबित्तिकै राजीनामा दिएर गृहबाट बाहिरिनुभएका लामिछानेले दुई दिनपछि नै नागरिकता पुनः प्राप्ति गरेर फेरि गृहमन्त्री बन्न चाहनुभएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि रास्वपाले आफ्ना मन्त्रीहरू फिर्ता बोलाएर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो ।
तर, चैत ६ गते प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक प्रतिनिधि सभामा विश्वासको मत लिँदा सरकारबाट बाहिरिएको रास्वपाले ‘लामिछानेलाई राहदानी मुद्दामा क्लिन चिट दिने सर्त’मा प्रधानमन्त्रीलाई विश्वासको मत दियो । विश्वासको मत दिनुभन्दा केही घण्टाअघि महान्यायाधिवक्ता कार्यालयबाट लामिछानेले राहदानी प्रकरणमा ‘क्लिन चिट’ पाउनुभएको थियो । दोस्रोपटक विश्वासको मत दिए पनि साढे एक महिनापछि रास्वपाले सरकार प्रतिको समर्थन फिर्ता लिएको थियो । तर, २०८० को फागुन अन्तिममा फेरि सत्ता समीकरण फेरबदल हुँदा रास्वपा फेरि सरकारमा सामेल भएको हो । दोस्रोपटक सरकारमा सामेल हुँदा पनि सभापति लामिछानेमाथि सहकारी प्रकरणमा संलग्न रहेको आरोप लागेको थियो । तर, उहाँ फेरि उपप्रधानसहित गृहमन्त्री बन्नुभएको छ । सरकारमा सामेल भएको सय दिनमै पार्टीभित्रै समीक्षा गर्नुपर्ने आवाज उठिरहेको छ ।
उसो त पार्टी गठन भएको दुई वर्षसम्म पनि पार्टीको वैचारिक र सैद्धान्तिक कार्यदिशा माथिको अन्यौलता रास्वपाले चिर्न सकेको छैन । एकातिर राजनीतिक उपलब्धिको रमझम र अर्कोतिर विवादको झमेलाबीच रास्वपाले दुई वर्ष पूरा गर्दै छ । सामाजिक असन्तोष अनि सभापति लामिछानेको व्यक्तिगत चर्चाको बलमा स्थापना भएको पार्टी लामिछानेकै अनेक सनक, विवाद र अनिर्णयको गञ्जागोलमा फस्दै गएको छ । सभापति लामिछानेका कारण उपलब्धिको उचाइमा पुगेको पार्टी विवादको केन्द्रमा समेत छ ।
सय दिन सरकारमा बसेर विधि बनायौँ : लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले रास्वपाका मन्त्रीहरूले सरकारमा गएको सय दिनभित्र विधि बसाउने काम गरिरहेको दाबी गर्नुभएको छ । पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । माछा समाउने भाष्य आफूहरूले नै बनाएकाले प्रश्न उठ्नु स्वाभाविक नै रहेको उहाँले बताउनुभयो । ‘अहिलेको सन्दर्भमा सरकारमा गएर नराम्रो काम केही नगर्नु भनेको सबैभन्दा राम्रो गर्नु हो । हामीले सय दिनमा केही पनि नराम्रो गरेनौँ, बरु विधि बनाउने काम गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘तर नराम्रो नगर्दैमा चुप लाग्ने अवस्था छैन । यहाँ त माछाका कुरा छन् । यहाँ सबैभन्दा ठूलो त माछाको कुरा छ नि । उपलब्धि भनेकै माछा भन्ने हामीले नै भनेकाले समेत माछा खोइ माछा ? भनेर सोध्छन् ।’ चरित्रहत्याका कारण कतिपय रास्वपाका कार्यकर्तामा सातो गए पनि सातो जानुपर्ने खालको गल्ती आफूहरूबाट नभएको दाबी गर्नुभयो ।
रविकै नेतृत्वमा मिसन ८४ सफल बनाउने हो : वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले चुनाव लड्न र विपक्षीका अफवाह चिर्न कार्यकर्तामा आधारित संगठन चाहिने रहेछ भन्ने आभास इलामको उपनिर्वाचनले गराएको बताउनुभएको छ । रास्वपा स्थापनाको दोस्रो वर्ष पुगेको अवसरमा शनिबार आयोजित कार्यक्रममा वाग्लेले इलामको पराजयपछि कार्यकर्ता चाहिने रहेछ भन्ने लागेको बताउनुभयो । ‘मास बेस’ पार्टी मात्र बन्छौँ भनेर नहुने रहेछ भन्ने निष्कर्ष उपचुनावको परिणामले देखाएको उहाँको भनाइ छ । उहाँले सभापति लामिछानेकै नेतृत्वमा मिसन २०८४ सफल बनाउने बताउनुभयो । ‘हामी नीति र नेतृत्वमा प्रष्ट र एक ठाउँमा संगठित छौँ । नेतृत्वमा हाम्रो संस्थापक सभापति रवि लामिछानेको विकल्प छैन र उहाँकै नेतृत्वमा मिसन ८४ सफल बनाउने हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच