जुम्लाको तिला गाउँपालिका-६ लाई बालमैत्री वडा घोषणा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिका-६ ले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सूचक पुरा गरेपछि सो वडालाई बालमैत्री वडा घोषणा गरिएको छ ।

शुक्रबार एक भव्य कार्यक्रमका बीच तिला-६ लाई बालमैत्री वडा घोषणा भएको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य र तिलाका अध्यक्ष मोतिलाल रोकायाले संयुक्त रूपमा वडालाई बालमैत्री घोषणा गरेको थियो । बालमैत्री स्थानीय शासन ऐनले तोकेको ५१ वटा सूचक पूरा भएपछि तिला-६ लाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो ।

किर्डाक नेपाल र वल्डभिजन इन्टरनेशनल नेपालले सूचक पूरा गरी बालमैत्री वडा घोषणाका लागि प्राविधिक सहयोग गरेका छन् । वडाकै अगुवाई, दातृसंस्थाको सहयोग तथा पालिकाको समन्वय र स्थानीयहरुको सक्रियतामा उक्त वडालाई पहिलो बालमैत्री वडा बन्ने सफल भएको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बालमैत्री घोषणा सुखद भएपनि कार्यान्वयनमा चुनौती रहेकोले स्थानीय सरकारलाई त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

बालबालिकाको क्षेत्रमा तिलाले गरेको काम अन्य स्थानीयतहले अनुसरणयोग्य रहेको छ । प्रायः कार्यान्वयनपछि हरेक कार्यक्रम फितलो हुने परिपाटी भएकोले बालमैत्री वडा घोषणा प्रभावकारी रुपमा गर्न स्थानीय सरकारको काँधमा आएको जिसस प्रमुख आचार्यको भनाइ छ । बालबालिका सवालमा संवेदनशील हुँदै सबै सुचक पुरा गरेर बालमैत्री वडा घोषणा गर्न पालिका सफल भएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ ले निर्दिष्ट गरेको सुचकका अधारमा बालमैत्री वडा घोषणा गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो । तिला-६ मा रहेका घोडे, सुडि र रिपि गाउँका १८५ घरधुरिका बालबालिकको समृद्धि र बालबालिका माथि हुने सबैखाले हिंसा शोषण अन्त्य भएको सन्देश दिन वडालाई बालमैत्री घोषणा गरिएको वडाध्यक्ष जंग रोकायाले जानकारी दिनुभयो ।

किर्डाक नेपालका अध्यक्ष सम्झना मल्लले मुलुकको दक्ष सक्षम जनशक्ति उत्पादनका लागि बाल्य अबस्थामा लगानी गर्नुपर्ने बताउनुभयो । किर्डाकले लामो समयदेखि बालबालिकाका क्षेत्रमा उल्लेखीय काम गर्दै आएको किर्डाक नेपालका अध्यक्ष मल्लको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?