योजना अलपत्र छोडेर ठेकेदार सम्पर्क विहीन : जनतालाई सास्ती

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । बेनी-दरबाङ सडकलाई म्याग्दी जिल्लाकै ‘लाइफलाइन’ मानिन्छ । जिल्ला सदरमुकाम बेनीबजारदेखि पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङसम्म २४ किलोमिटर दुरीको यो सडकको ट्रयाक खुलेको करिव दुई दशक हुनलाग्यो ।

मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा २०६३ सालमा सडक पुगेको हो । बेनी-दरबाङ सडक खण्डको बाबियाचौर क्षेत्रसम्म सडक कालोपत्रे भएको छ । तर त्यस यताको करिव ७ किलोमिटर सडक भने जोखिम र सास्तीको पर्याय बनेको छ । यसको कारण सडक स्तरोन्नति र कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनि र त्यसका ठेकेदार बनेका छन् ।

यो सडकको स्तरोन्नति तथा कालोपत्रेको काम तीन खण्डमा विभाजन गरेर अलग अलग निर्माण कम्पनिले जिम्मा लिएका थिए । त्यसमध्ये दुईवटा खण्ड कालोपत्रे भइसकेका छन् । तर तेस्रो खण्डको जिम्मा लिएको विरुवा-क्याराभान जेभीका ठेकेदार भने काम छोडेर वेपत्ता भएका छन् ।

बेनी-दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ-दरबाङको कालोपत्र योजनाको काम अलपत्र पारेर ठेकेदार सम्पर्कविहिन भएका छन् । सडकको बाँकी अन्य खण्डको कालोपत्रे भइसकेको अवस्थामा पूर्वाधार कार्यालयबाट केही रकम निकासा भएपछि बेपत्ता भएका हुन् । ठेकेदारले विभिन्न बाहना र शक्ती केन्द्रको पहुँच देखाउँदै आएका थिए ।

यो सडक कालोपत्र आयोजनाको ठेक्का विरुवा-क्याराभान जेभीले वि.सं.२०७६ साल जेठ ३१ लिएको थियो । ठेकेदारको अटेरीले ५ वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु,यातायात व्यवसायी र स्थानीयबासी सास्ती पाउने गरेका छन् ।

मङ्गला गाउँपालिका-२,रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म ८ किलोमिटर सडक कालोपत्र गर्न ठेकेदार कम्पनी र पुर्वाधार विकास कार्यालय म्याग्दी विच २२ करोड ५७ लाख ९३२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका अनुसार,आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ७२ प्रतिशत सम्पन्न भएको छ । गत चैत-वैशाखदेखियता निर्माण व्यवसायी निर्माण आयोजना स्थलमा देखिएका छैनन् ।

सडक निर्माणको काम नहुँदा यात्रु र स्थानीयले सास्ती बेहोर्दै आएका छन् । स्थानीय भन्छन् “सरकार भन्दा पनि शक्तिशाली हुन्छन् र ठेकेदार ? सरकारले घोक्रेठ्याक लगाएर काममा फर्काउन सक्दैन र ठेकेदारलाई ?”

सडक ओधारेर र खण्डखण्ड बनाएर ठेकेदार सम्पर्क विहीन भएपछि दुर्घटनाको जोखिम र यातायात सञ्चालनमासमेत समस्या हुने गरेको रणबाङका श्रीराम पौड्यालले बताउनुभयो । सडक निर्माणको काम अलपत्र हुँदा धुलो र धुवाँले हैरान बनाउनुका साथै स्वास्थ्यमा समेत समस्या देखिन थालेको मालिका गाउँपालिका-६,तोलाबाङकी पुर्णकली बिकले गुनासो पोखिन् । ‘‘सडकको धुलो र धुवाँ उडेर घरको भान्छामा पस्छ ।बिस्कुन सुकाउन पनि पाइएको छैन । धुलोकै कारण स्वास्थ्यमा समस्या आउने गरेको छ ,’’उहाँले भन्नुभयो । पहिरो प्रभावित क्षेत्र बाहेक रणबाङदेखि ढाँडखर्क सम्म सडक फराकिलो बनाएर नाली पर्खाल निर्माण गर्ने काम सकिएको छ । ठेकेदारको जिम्मामा पर्ने बाङ्गे पहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ ।

सडक आयोजनाका निर्माण व्यवसायीलाई पटकपटक ताकेता गरेपनि अटेरी गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर अर्जुन शर्माले बताउनुभयो । ‘‘ठेक्का लिएको लामो समय बितिसक्यो । पहुँचको आधारमा निर्माण व्यवसायीले म्याद थपेर काम गर्दैनन ,’’ उहाँले भन्नुभयो । फोन नउठाउने विरुवा-क्याराभान जेभीका सञ्चालक चन्द्र थकालीलाई पत्र काटेर ताकेता गरेको कार्यालयले जनाएको छ ।

निर्माण व्यवसायीले ४ किलोमिटरमा सब बेस राखिसकेका छन् । मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दुरिको यो सडक वि.सं. २०६३ मा मार्ग खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्नेगर्दछन् । सो खण्डको कालोपत्र योजनाको लागि बजेट अभाव नभएको पुर्वाधार विकास कायालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?