वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ : नेता खनाल

फाइल तस्वीर

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको आगामी महाधिवेशनमा वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा पार्टीको नेतृत्व चयन गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार अखिल नेपाल महिला संघ (समाजवादी)को वैचारिक मुखपत्र महिला संकल्प-२ को विमोचन समारोहलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले यस्तो बताउनुभएको हो । उहाँले पार्टीको आगामी महाधिवेशनबाट सहमतीमा नेतृत्व चयन गर्नुपर्ने भन्दै निश्चित आधारमा मात्रै सहमतिमा नेतृत्व चयन हुनसक्ने बताउनु भयो । उहाँले नेताहरुको टाउको जोडेर मात्रै सहमति नहुने भन्दै वैचारिक, राजनीतिक कार्यदिशा तथा नीति र सिद्धान्तमा आधारित भएर पार्टीको नेतृत्वका लागि सहमति गर्नुपर्ने बताउनु भयो । उहाँले सहमतिमा नेतृत्व चयन गर्नका लागि सबैले प्रयत्न गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘नेतृत्व निर्माण गर्ने भनेको कमरेडहरुले भनेजस्तै एकदमै सहमतिका साथ नेतृत्व निर्माण गर्नुपर्छ । तर सहमति भनेको के त ? सहमति भनेको केमाथि आधारित हुन्छ ? यसो हामीले टाउका जोडेर हुन्छ कि ? अकंमाल गरौँ कमरेडहरु भनेर हुन्छ कि ? के ले हाम्रो एकता गर्छ ? तपाईं हामी सबै के आधारले यहाँ जुटेका छौँ ? हामी जुटेको भनेकै एउटा वैचारिक, राजनीतिक कार्यदिशाको आधारमा, नीतिको आधारमा, सिद्धान्तको आधारमा, एउटा लक्ष्यको आधारमा तपाई हामी जुटेका छौँ । पार्टी भनेको त्यस्तै हो । त्यो निश्चित आदर्श, सिद्धान्त, नीतिको आधारमा हुने कुरा हो । त्यसरी नै नेतृत्व निर्माण पनि सही वैचारिक, राजनीतिक, आधारमा हुन्छ । सहमतिका साथ गर्नुपर्छ, एकदम ठिक हो । तर त्यो सहमती केमाथि आधारित हुनुपर्‍यो ? वैचारिक, राजनीतिक कार्यदिशा, नीति, सिद्धान्तमाथि आधारित हुनुपर्‍यो । त्यस्तो आधारित सहमतिको नेतृत्व निर्माण गर्‍यौँ भने त्यो सुनमा सुगन्ध हुन्छ । त्यसकारण सुनमात्रै नबनाऔँ । सुगन्ध आउने सुन बनाऔँ । त्यसको लागि हामी सबैले प्रयत्न गर्नुपर्ने हुन्छ । सबैले प्रयत्न गर्‍यौँ भने सुनमा सुगन्ध आउँछ ।’

सम्मानित नेता खनालले हाल पार्टीभित्र ८ प्रतिशत मात्रै महिला सदस्यहरु रहेको भन्दै धेरै भन्दा धेरै महिला तथा श्रमिक महिलाहरुलाई पार्टीमा संगठित गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?