तीन सडक कालोपत्रको काम थालियो

बागलुङ । बागलुङ नगरपालिका भित्रका तीन सडक कालोपत्र गर्न थालिएको छ । विश्व बैंकको अनुदान सहयोगमा कालोपत्रका लागि निर्माण व्यवसायीसँग जठे २३ गते एक वर्षका लागि ठेक्का सम्झौता भइ शिलान्यास समेत भइसकेको छ । अहिले मुलपानीदेखि तितौरेसम्मको खण्डमा धमाधम काम थालिएको छ ।

२०७७ सालमा विश्व बैंक र बागलुङ नगरपालिका बीच अनुदान सम्झौताका गरिएको थियो । सम्झौता अनुसार रु. ५८ करोड रकम अनुदान मार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गर्न आउने भएको हो । उक्त लागत अनुमान गरिएको सडकको मल्य अभिवृद्धि कर बाहेक रु. ४३ करोड २१ लाख लागतमा आशिष/फेवा जेवीसंग ठेक्का सम्झौता भएर काम थालिएको बागलुङ नगरपालिकाले जनाएको छ । २०८१ जेठ २३ गते सम्झौता भएको सडक २०८२ असार १५ सम्म सक्नुपर्ने छ ।

सडकनै विकासको आधार भएकाले अनुदान रकमले तीन वटा ठूला सडक कालोपत्र गर्न थालिएको नगरप्रम्ख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिका-७ को मुलपानीदेखि तितौरेसम्म साढे ८.६ किलोमिटर, ओडारचौरदेखि ढोडेनीसम्म साढे २ किलोमिटर र गणेशघुम्तीदेखि नीरयघाटको डेढ किलोमिटर सडक कालोपत्र गर्न थालिएको छ ।

नगरपालिकाले भौतिक पूर्वाधारमा सडकको विकास नै पहिलो विकास भएको भन्दै उक्त अनुदान मार्फत तीन सडक कालोपत्र गर्नका लागि शनिबार बागलुङ नगरपालिका-७ को मुलपानीदेखि तितौरेसम्म ८.६ किलोमिटर सडक कालोपत्रका लागि शिलान्यास गरिएको हो ।

उक्त सम्झौता झण्डै चार वर्ष पछि कार्यान्वयनमा आएको छ । १ वर्ष भित्र बागलुङ नगरपालिका भित्रका तीन सडकहरु ८ मिटर चौडा बनाइ झण्डै १३ किलोमिटर सडक कालोपत्र सम्पन्न हुँदा बागलुङ नगरपालिका-१, ४ र ७ का स्थानीयलाई ठूलो राहत हुनेछ । सबैभन्दा लामो मुलपानीदेखि तितौरेसम्म ८.६ किलोमिटर सडक कालोपत्र हुँदा बानपालाई काठेखोला गाउँपालिका कालोपत्र सडकले जोड्ने छ ।

“एक वर्ष भित्रै काम सक्ने निर्माण व्यवसायीले प्रतिवद्धता जनाउनुभएको छ, नगर भित्रको सबै भन्दा ठूलो लगानीमा बन्न थालेको तीन सडकले बानपालाई समृद्धिको यात्रामा थप अगाढी बढाउनेछ” श्रेष्ठले भन्नुभयो “यस्तो अनुदान देशभरका जम्मा १७ नगरपालिकाले मात्रै पाएको छ, हामीले देशभरमै पहिला काम शुरु गरेका छौं, कालोपत्र सडकले नगरलाई विकासमा टेवा पुग्न निकै सहज हुनेछ ।”

तीन वर्ष अघिदेखि थालिएको बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रम मार्फत उक्त सडक कालोपत्र गर्न थालिएको बागलुङ नगरपालिकाका इन्जिनियर दिपेन्द्र भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार ५.५ मिटर देखि ९ मिटर सम्म चौडा हुँनेछ । घुम्ती सडक चाक्लो र अन्य सडक भने ५.५ मिटर चौडा कालोपत्र हुँनेछ । निर्माण व्यवसायीले सडक चौडा पार्ने, कालोपत्र र ढालान गर्ने, नाली निर्माण गर्ने, पर्खाला लगाउने, फटपाथ निर्माण गर्ने, कजवे र कल्भर्ट निर्माण गर्ने, फर्निसिङ र स्ट्रिट लाइटसहित सडकको शौन्दर्यकरणसमेत गर्नेछ ।

ट्रयाक मात्रै खुलेका उक्त तीन सडकहरु स्तरोन्नतीको पर्खाइमै थिए । संघ र प्रदेश सरकारको प्राथमिकतामा नपरेका र स्थानीय सरकारले निर्माण गर्न बजेटले नसक्ने सडक विश्व बैंकको अनुदान मार्फत पक्की बनाउन थालिएको हो । उक्त सडकहरु नमूना र अत्यन्तै सुविधा सम्पन्न हुनेछ । नविनतम प्रविधि प्रयोग गरेर उक्त सडकहरुले पूर्णता पाउने छ । सडकमा पर्ने घर तथा अन्य टहरा र संरचना हटाउने काम भने नगरपालिकाले गर्नुपर्ने छ ।

बैंकले नेपाल भर १७ वटा नगरपालिकामा शहरी शासकीय सुधार तथा पूर्वाधार विकास कार्यक्रममा सहयोग गरेको छ । बागलुङ नगरपालिकालाई यस अघि समेत अनुदानमा सडक निर्माण गरेको थियो । उक्त अनुदान सहयोगमा बागलुङ नगरपालिका-४ कुडुँले हुँदै मुलपानी तर्फको चक्रपथ निर्माण गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?