गर्मीका कारण तातोपानी कुण्डमा बिरामीको चाप घट्यो

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 9 mins

म्याग्दी । बढ्दो गर्मी र वर्षायाम सुरु भएपछि प्राकृतिक चिकित्सालयको नामले परिचित म्याग्दीको बेनी नगरपालिका-४, सिङ्गास्थित तातोपानी कुण्डमा डुबेर उपचार सेवा लिने बिरामीहरुको चाप घटेको छ ।

तातोपानी कुण्ड व्यवस्थापन समितिले असार १ गते देखि महिला र पुरुषका लागि तातोपानी कुण्डमा डुब्ने आलेपालो सिस्टम नराखी जुन सुकै समयमा पनि डुब्न सकिने व्यवस्था गरेको जनाएको छ ।

“कुण्ड (पोखरी) को बिचमा डिभाइडर राखी एकातर्फ पुरुष र अर्कोतर्फ महिला डुब्न मिल्ने व्यवस्था गरेका छौं” तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले भन्नुभयो “बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म महिला र पुरुष एउटै समयमा कुण्डमा डुवेर उपचार सेवा लिन सक्नुहुनेछ ।”

प्राकृतिक चिकित्सालयको नामले परिचित यो तातोपानी कुण्डमा पुस पहिलो सातादेखि जेठ पहिलो हप्तासम्म दैनिक पाँच सय बढी विरामी र सर्वसाधारणहरुले डुवेर र स्नान गरेर उपचारसेवा लिएका तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताउनुभयो । अहिले करिव एक सय जना विरामीहरु दैनिकरुपमा कुण्डमा डुबेर उपचार सेवा लिइरहेका उहाँले बताउनुभयो ।

कुण्डमा देशका विभिन्न ठाउँहरुबाट वार्षिक २० हजार बढी बिरामीहरु उपचारका लागि आउने गरेका वताउँदै कुण्ड व्यवस्थापन समितिका अध्यक्ष खड्काले भन्नुभयो “अहिले गर्मी पनि बढेको र वर्षाको समय पनि सुरु भएकोले चाप घटेको छ । केही बिरामीहरु हुनुहुन्छ,उहाँहरुलाई आफ्नो अनुकुल समयमा डुब्न मिल्ने व्यवस्था गरेका हौँ ।”

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिममा पर्ने तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा देश-विदेशमा समेत चर्चित छ । यहाँ एक हप्तादेखि १२ दिनसम्म डुबेपछि विभिन्न चर्मरोग, चोटपटक, ग्याष्ट्रिक, गानोगोलादेखि लिएर प्यारालाइसिससम्म निको भएको बिरामीले बताएका छन् ।

देशका विभिन्न नाम चलेका अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय तातोपानीमा आउन थालेका कुण्ड व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताउनुभयो ।

विगत १३ वर्षदेखि ढाड र घुँडा दुख्ने समस्याबाट ग्रसित बागलुङ अमलाचौरका ६३ वर्षिय डण्डपाणी चापागाइँ तीन वर्षदेखि हिउँदका महिनामा तातोपानीमा डुब्न आउनेगरेको बताउनुभयो ।“काठमाण्डौं,पोखराका धेरै अस्पतालहरुमा उपचार गराएँ तर,निको भएन,तीन वर्षअघिदेखि तातोपानीमा आएर १०/१२ दिन डुब्ने गरेको छु । पोहोरसाल भन्दा अहिले दुखाइ कम भएको छ” उहाँले भन्नुभयो ।

उहाँ विगत तीन वर्षदेखि वर्र्र्षमा एक पटक म्याग्दीको सिङ्गास्थित तातोपानी कुण्डमा आएर डुब्ने गर्नुभएको छ । तातोपानीमा डुबेर नै रोग निको हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

तातोपानी कुण्डमा स्नान गर्नका लागि नेपालको अधिकांश जिल्लासहित छिमेकी देश भारत र तेस्रो मुलुकहरु जापान, कोरिया, युरोपियनलगायत देशहरुबाट भ्रमणको क्रममा आएर पर्यटकहरुले पनि नुहाउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताउनुभयो ।

जमिन मुनिबाट ४८ डिग्री सेन्टिग्रेडको तापक्रममा विरेनुनको स्वादमा निस्कने तातोपानी कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, घाउखटिरा, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, नसा च्यापिएको, बज्रिएको सड्किएको र मर्किएकोसहित चिसोबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहेको छ ।

पछिल्लो समय कुण्डमा बिरामीलाई लक्षित गर्दै विभिन्न किसिमका भौतिक पूर्वाधारहरु विस्तार गरिएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिले कुण्डमा स्नान गर्नकै लागि भनेर सहज व्यवस्थापन मिलाएको छ ।

तातोपानीको मुख्य पोखरीमा स्नान गर्नका लागि प्रतिव्यक्ति तीनसय ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने बाहिरको पोखरीमा प्रतिव्यक्ति एकसय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । तीनसय ५० रुपैयाँको टिकट लिएका बिरामीहरुले पालोअनुसार एक हप्तासम्म नुहाउन पाउँछन् भने बाहिरको पोखरीमा एकसय रुपैयाँको टिकटले दुई घण्टा नुहाउन पाइन्छ ।

तातोपानी कुण्डको आम्दानी कुण्ड परिसरमा संरचना निर्माण, कर्मचारी व्यवस्थापन, स्थानीय सरस्वती माविका पाँचजना शिक्षकको तलब/भत्तामा लगानी र बेनी नगरपालिकालाई २५ प्रतिशत दिने गरिएको छ । तातोपानी कुण्डमा नुहाउन शुक्रवार, शनिवार र विदाको दिनमा धेरै भीड लाग्ने गर्दछ ।

कुण्डमा एकपटक आएर डुबेका बिरामीहरु निको भएपछि पुनः फर्किएर पटकपटक आउने गरेका छन् ।तातोपानी कुण्डमा वार्षिक झण्डै २० हजार भन्दाबढी बिरामीहरु स्नान गर्न आउने गरेको तथ्याङ्क रहेको छ । २०४२ सालमा फेला पारिएको तातोपानीको मुहानलाई स्थानीयवासिन्दाले संरक्षणसहित व्यवस्थापनको साथै कुण्डको रुप दिएर प्रचारप्रसार गरेपछि अहिले नेपालकै प्राकृतिक उपचार केन्द्रका रुपमा स्थापित भएको हो ।

नेपालकै प्रसिद्ध पर्यटकीयस्थल राउन्ड अन्नपूर्णमा पद यात्रा गर्ने पर्यटक र विभिन्न अस्पतालहरुमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरुका लागि आजभोलि म्याग्दी जिल्लाका तातोपानी कुण्डहरु मनोरञ्जन र प्राकृतिक उपचारका आकर्षक स्थल बन्दै गएका तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव केसीले बताउनुभयो ।

म्याग्दीका विभिन्न ठाउँमा गरी १४ ओटा तातोपानीका कुण्डहरु रहेका छन् । सिंगा तातोपानी विरामीहरुको उपचारका लागि प्राकृतिक चिकित्सालयको नामले चिनिन्छ भने अरु ठाउँका तातोपानीहरु पर्यटक र स्थानीयवासीहरुको थकान मेटाउने र चिसो भगाउने स्थलको रुपमा चिनिन्छन् ।

उत्तरी म्याग्दीको भुरुङ तातोपानी, दर्मिजाको तातोपानी कुण्डलगायत जिल्लाका १४ ठाउँमा रहेका तातोपानी कुण्डहरुमा बाह्य र आन्तरिक पर्यटकको भीड बढ्दै गएपछि कुण्डहरुलाई व्यवस्थित बनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?