कवाडी व्यवसायीहरुमाथि प्रहरी धरपकडबारे संसदमा प्रभु साह र अमरेशको आक्रोश

काठमाडाैं । प्रतिनिधि सभा सदस्य प्रभु साहले सांकेतिक बिरोध प्रदर्शनमा उत्रिएका कवाडी व्यवसायीहरुमाथि प्रहरीको लाठी चार्जबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको जवाफ माग गर्नुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सांकेतिक प्रदर्शनका क्रममा कवाडी व्यवसायीहरुमाथि भएको प्रहारबारे सरकारको जवाफ माग गर्नुभएको हो । उहाँले सांकेतिक बिरोध प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक भएको उल्लेख गर्नुभयो । उहाँले प्रहरीको लाठी चार्जका कारण मंगलवार बानेश्वरमा आन्दोलनका क्रममा ५० जना घाइते भएको र एक दर्जन बढी गम्भीर घाइते भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सांकेतिक बिरोध प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक हो । लोकतान्त्रिक हक हो । तर हिजो कवाड व्यवसायीहरु सांकेतिक जुलुसमा थियो । सांकेतिक आन्दोलनमाथि प्रहरीले निर्मम प्रहार गरेको छ । ५० जना जति घाइते छन् । एक दर्जन जति त गम्भीर घाइते भएका छन् । यसमा म गृहमन्त्रीको भनाइ चाहन्छु, सांकेतिक जुलुसमा किन लाठी प्रहार भयो । त्यसमा संलग्न प्रहरीमाथि कारबाहीको माग गर्न चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले कवाडी व्यवसायीहरुमाथि सरकारले दमन गरेको बताउनु भयो । उहाँले मधसी जनतामाथि प्रहरीले दमन गर्नुले फेरि रंगभेदको आन्दोलन शुरु हुने खतरा देखिएको बताउनु भयो । उहाँले आन्दोलनका क्रममा प्रहरीको लाठी चार्जबाट घाइतेहरुको निःशुल्क उपचारको माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मधेसका कवाडी व्यवसायीहरु आन्दोलनरत छन् । कानूनी रुपले पनि सही छ । यहीँ पाटन उच्च अदालतबाट दुई वटा अन्तरिम आदेश जारी छ की उनीहरुको कवाडी नहटाउनु । शान्तिपूर्ण आन्दोलन गर्दा एकाएक लाठी चार्ज भयो, रंगभेद, जातिभेद, लिंगभेदको लागि, वर्गभेदका लागि धेरै आन्दोलन भएका छन् । तर अहिले पनि २१ औं शताब्दीमा रंगभेद र जातिभेद गरिन्छ । एउटा वर्गले आन्दोलन गर्दा पानीको फोहरा, केही हुँदैन । मधेसको मान्छे काठमाडौंमा देख्नै नहुने यो कस्तो हो । कस्तो रणनीति हो सरकारको । दर्जनौँ घाइते भएका छन् । उनीहरुको उपचार निःशुल्क होस् । साथै काठमाडौंलाई रणमैदान बनाउन खोज्नुभएको छ । सबै फोहोर बालेन साह र महानगरपालिका अगाडि थुपारौँ । त्यसको लागि हामी साथमा छाैँ । किनभने म्हानगरले नै सिकाएको हो ।’

उहाँले काठमाडौंलाई रणमैदान बनाउन खोजिएको हो भन्दै गृहमन्त्रीसँग प्रश्न गर्नुभयो । उहाँले काठमाडौंका कवाड व्यवसायीहरुलाई फोहोर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको घर र महानगर अगाडि लगेर फाल्न आग्रह गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?