कविता : पुगे सरी मिलोस् सबै

Read Time = 2 mins

✍️ प्रीति आत्रेय ज्ञवाली
सुषुप्त चाहना उठे वसन्तको प्रभावले
रमेर कोइली खुलेर गाउँछन् स्वभावले ।
थपिन्छ मोह लालसा सुकर्ममा रमाउने
नयाँ छ जोश भावना सुकीर्ति नै फिँजाउने ।।१।।

न शीत भो न ताप भो छ ठिक्क याम देशको
वसन्तको सुवासले छ फूर्तिलो शरीर यो ।
भुलेर तिक्तता सबै बिते गए पला जुनै
खुलेर हाँस्नु पर्छ है रमेर हर्षमा सबै ।।२।।

कुरा छ जो हुनै भने सकिन्न रोक्न है कतै
अशक्य जो कुरा भए सकिन्न हुन्छ भन्न नै ।
बुझेर यी सबै कुरा बढेर कर्ममा सधैं
अगम्य जो कुरा भएन लाग्नु है त्यता कबै ।।३।।

सुशान्ति होस् स्वदेशमा सुधार होस् सबै कुरा
फिरोस् सुबुद्धि शासकै गरून् सुकर्म देशमा ।
हितै हुने छ जे गरे गुनेर चित्त कार्यमा
फिरून् युवा स्वदेशमा नखाडिएर खाडीमा ।।४।।

खुशी र मस्त भै बसून् सबै जना स्वदेशमा
रमेर साथ इष्ट-मित्रमातृ-पितृ साथमा ।
पुगे सरी मिलोस् सबै कुरा छ नित्य चाहिने
न आश होस् कतै कसै सधैं स्वकर्ममै रमे ।।५।।
छन्द : पञ्चचामर
फलित ज्योतिषाचार्य (कवि, गीतकार एवं राशि स्तम्भकार)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?