जिसस कैलालीमा तीन दलको सहमति, प्रमुख नागरिक उन्मुक्ति र उपप्रमुख एमालेले पाउने

हिमालय टाइम्स
Read Time = 4 mins

-गोविन्द बीसी

टीकापुर । स्थानीय तह निर्वाचन सम्पन्न भएसंगै राजनीतिक दलहरु जिल्ला समन्वय समितिको गठनको आन्तरिक कसरतमा जुटेका छन् । कैलालीमा जिल्ला समन्वय समितिको लागि रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेल हुने भएको छ । बिहीबार भएको तीन दलीय बैठकबाट जिल्ला समन्वय समिति बनाउने आपसी सहमति भएको हो ।

सहमति अनुसार नागरिक उन्मुक्तिले प्रमुख र दुई जना सदस्य गरी तीन जना, नेकपा एमालेले उपप्रमुखसहित एक सदस्य र नेकपा माओवादी केन्द्रले चार सदस्य पाउने सहमति भएको नेकपा एमाले कैलालीका सचिव डेजी पाण्डेयले जानकारी दिनुभयो ।

तीन दल मिल्दा कैलालीमा समन्वय समिति बनाउन बहुमत पुग्छ । कैलालीमा नागरिक उन्मुक्तिका सात जना, नेकपा एमालेका पाँच जना र माओवादी केन्द्रका चार जना प्रमुख उपप्रमुख छन् । कैलालीमा जिल्ला समन्वय समिति बनाउन १४ सदस्य चाहिन्छ । तीन दल मिल्दा कैलालीमा १६ सदस्य हुन्छ ।

यही जेठ ३० गते हुन लागेको जिल्ला समन्वय समितिको निर्वाचनका लागि तीन दलबीच सहमति भएको नेकपा माओवादी केन्द्रले समेत जनाएको छ । बैठकमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट केन्द्रीय प्रवक्ता दामोदर पण्डित, केन्द्रीय सदस्य रमेश विक, रामलाल थारु र लालवीर चौधरी हुनुहुन्थ्यो । यस्तै, नेकपा एमालेका तर्फबाट कैलाली उपाध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डेय, उपसचिव ममताप्रसाद चौधरी र लोकेन्द्र शाहीको उपस्थित थियो।

नेकपा माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज हरि ज्ञवाली र प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का संयोजक सुरेन्द्र देवकर सहभागि हुनुहुन्थ्यो ।

यस्तो छ, अंक गणित :

१३ पालिका रहेको कैलालीमा नेपाली कांग्रेसले तीन पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुख जितेको छ । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले चार पालिकामा प्रमुख र तीन पालिकामा उपप्रमुख जितेको छ ।

नेकपा एमालेले दुई पालिकामा प्रमुख र तीन पालिकामा उपप्रमुख जितेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले दुई प्रमुख र दुई उपप्रमुख जितेको छ । कैलालीमा स्वतन्त्र उम्मेदवारले एक पालिका प्रमुख र नेकपा (एकीकृत समाजवादी) ले एक पालिका प्रमुख जितेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?