महोत्तरी । पुस्तौनी फूलखेती गर्दै आउनुभएका महोत्तरी बल्वा नगरपालिका-२ का राम विनय भण्डारीले यसपालिको तिहारमा भनेजस्तो व्यापार गर्न सक्नुभएन । भारतबाट आयात भएका फूलकै कारण मूल्यमा आकाश-पाताल फरक पर्ने हुँदा बेच्न नसक्ने एउटा कारण रहृयो भने माली समुदायबाहेक अन्य समुदायले पनि व्यावसायिक फूलखेती गर्दा समस्या बनेको भण्डारीको भनाइ छ । उहाँलाई यो तिहारमा व्यापारले भन्दा पनि पेशा नै धरासायी बन्दै गएकोप्रति निकै चिन्ता बढाएको छ । ‘पुख्र्याैली फूलखेती नै गर्ने हाम्रो पेशा हो तर माली समुदायबाहेक अन्य समुदायहरूले पनि व्यावसायिक खेती गर्दा हामी समस्यामा पर्दै गएका छौँ,’ भण्डारीले भन्नुभयो, ‘अब त पेशा नै परिवर्तन गर्नुपर्ने अवस्था देखा परेको छ ।’
उहाँले तिहार तथा छठलाई मध्यनजर गरी झण्डै एक बिगाह क्षेत्रफलमा फूल रोप्नुभएको थियो । तर, एक कठ्ठाको पनि बिक्री नभएको उहाँको गुनासो छ । भारतीय फूल सीमा-नाकाबाट नभित्र्याउने सरकारले निर्णय गरे पनि अवैधानिक बाटोबाट भित्रिँदा मधेशमा मालीलगायत किसानहरूलाई व्यापारमा समस्या भएको भण्डारीको बुझाइ छ ।
भण्डारीजस्तै जनकपुर-६ का जितेन्द्र भण्डारीको पनि उही चिन्ता छ । व्यावसायिकरूपमा ६ महिनाअगाडि चिस्यानमा स्टोर गर्ने र निकै कम मूल्यमा बेच्नेहरूका कारण आफूहरू संकटमा परेको उहाँले बताउनुभयो । पुख्र्याैली पेशाका रूपमा अवलम्बन गरिएको भए पनि कैयौँ माली समुदाय यो पेशाबाट विस्थापन भएको र पहिचानका लागि भए पनि कमले मात्र फूलखेती गरिरहेको भण्डारीले बताउनुभयो । नजिकै जानकी मन्दिर भए पनि पहिलेजस्तो बिक्री नभएको उहाँले बताउनुभयो ।
पूजाकर्मका लागि दैनिक हजारौँ मालाहरू बेच्ने गरेको अनुभव सुनाउँदै भण्डारीले फूलको रेटमा मनलाग्दी गर्न थालिएको गुनासो गर्नुभयो । ‘सरकारले तरकारीमा जस्तै फूलमा पनि मूल्य निर्धारण गरिदिनुपर्छ,’ भण्डारीले भन्नुभयो, ‘अनिमात्र हामी जस्तो फूल व्यवसायीहरू मारमा पर्दैनौँ ।’ तर, फूलको माग र बजार करिब १२ देखि १५ प्रतिशतका दरले बढ्दै गएकाले फूल व्यवसायको सम्भावना बढ्दै गएको फ्लोरिकल्चर एसोसिएसन नेपालको तथ्यांक छ । कृषि विकास मन्त्रालयअन्तर्गत पुष्प व्यवसाय प्रवद्र्धन नीति २०६९ जारी गरिँदा यसलाई उल्लेख गरिएको थियो ।
पुष्प व्यवसाय अनुदान कार्यविधि नआउँदा हरेक वर्ष बजेट फ्रिज भएर जाने गरेको छ । पुस्तौनी फूल व्यवसाय गर्दै आएका समुदायमात्र हैन, फूलखेतीको अधिक सम्भावनालाई सरकारले बेवास्ता गर्दा भारतीय पुष्प व्यवसायीहरूका लागि नेपाल आकर्षक बजार बनेको छ । भारतबाट आयात भएका फूलकै कारण बर्दिबासमा आएर फूल बेच्ने कैयौँ व्यापारीले बिक्री नभएपछि हजारौँ मालाहरू डस्टबिनमा फ्याँकेका थिए । तर, बजार आंकलन गरेर फूल बेच्न ल्याउनुपर्ने ठाउँमा अन्धाधुन्ध ल्याएको हुनाले नोक्सान बेहोर्नुपरेको कतिपयको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच