आइसिसी टि-२० विश्वकप क्रिकेट प्रतियोगिता : अष्ट्रेलियाले बङ्गलादेशलाई हरायो

काठमाडौं । आइसिसी टि-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर आठको खेलमा अष्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले पराजित गर्दै विजयी भएको छ ।  नर्थ साउन्डमा भएको उक्त खेल पानी परेर खेल अवरुद्ध भएपछि डकवर्थ एण्ड लुइस (डिएलएस) पद्धतिका आधारमा अष्ट्रेलिया विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रनको योगफल बनाएको थियो ।

एक सय ४१ रनको विजयी लक्ष्य पछयाएको अष्ट्रेलिया ११ दशमलव २ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल प्रभावित बनेको थियो । त्यतिबेला अष्ट्रेलियाले दुई विकेट गुमाएर १०० रन बनाएको थियो । त्यसपछि पानी नरोकिएपछि डिएलएस मेथडका आधारमा अष्ट्रेलियालाई विजयी घोषणा गरिएको हो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले ३५ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा अविजित ५३ रन बनाएका थिए । त्यस्तै ट्राभिस हेडले २१ बलमा तीन चौका र दुई छककाको सहयोगमा ३१ रन बनाएका थिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको बङ्गलादेशका कप्तान नजमुल हृदोय शान्टोले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ३६ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ४१ रन बनाएका हुन । त्यस्तै टोहिद हरिडोइले २८ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ४० रन बनाए । बलिङतर्फ स्ट्रेलियाका प्याट कमिन्सले तीन विकेट लिए भने एडम जाम्पाले दुई तथा मिचेल स्टार्च, मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेलले समान एक/एक विकेट लिए । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज राति ८ः१५ बजे इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?