![‘ड्रेस डिजाइन पनि एउटा कला हो’](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Sanjita-Baral-hita-barta.jpg)
नेपाली सांगीतिक क्षेत्रमा एक ओजस्वी नाम हो अशोककुमार राई । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद्का पूर्वसदस्य उहाँ खासगरी नेपाली मौलिक संगीतलाई आधार मानेर संगीत सिर्जना गर्नुहुन्छ । उहाँका सयौँको संख्यामा गीतहरू रेकर्ड भएका छन् । हाल उहाँ मौलिक नेपाली बाजाको आर्केष्टा तयार गर्ने उद्देश्यका साथ काम गरिरहनुभएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई संगीत नाट्य ग्रामको वातावरण बनाउनुपर्छ भन्ने धारणा राख्नुहुने अशोककुमार राईसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
कहिलेदेखि हुनुहुन्छ गीत संगीतको क्षेत्रमा ?
संगीत यात्रामा स्कुले जीवनदेखि नै लगाव हो । २०४५ मा ललित कला क्याम्पसमा संगीत विषय अध्ययनपश्चात् व्यावसायिक कलाकारका रूपमा २०४८ बाट सुरु भएको हो ।
यो क्षेत्रमा लाग्नका लागि कोहीबाट अभिप्रेरित हुनुभयो कि ?
म जन्मेको, पढेको गाउँ ताप्लेजुङ जिल्लाको हाङ्पाङमा प्रायः वार्षिक रूपमा सांस्कृतिक कार्यक्रम हुने गथ्र्यो । त्यसकै प्रभाव र मेरो बाबा पनि गीत लेख्ने, संगीत गर्ने भएकाले पनि यस क्षेत्रमा लाग्न अभिप्रेरित भएँ कि भन्ने लाग्छ । पछि मामा माधव प्रधानबाट यस क्षेत्रमा अघि बढ्न धेरै सहज भयो ।
यहाँको पहिलो संगीत सिर्जना कुन थियो, याद छ कि ?
संगीत शिक्षक भएर सिर्जना गरेका गीतहरूबाहेक बुबाले लेख्नुभएको ‘मारेछ माछी जालहारी दाइले भदौरे भेलैमा’ जुन पछि वरिष्ठ गायिका कुन्ती मोक्तानको स्वरमा रेकर्डिङ भयो । त्यो नै मेरो पहिलो संगीत सिर्जना हो ।
औपचारिक रूपमा कहिलेदेखि यो क्षेत्रमा हुनुहुन्छ, हालसम्म यहाँका कति जति सिर्जना श्रोता/दर्शकमाझ आए होलान् ?
माथि पनि भनेँ, मैले संगीत गर्न सुरु गरेको २०४७/०४८ तिरबाट हो । हालसम्म पनि गरिरहेको छु । यति नै भनेर अंकमा चाहिँ गनेको छैन ।
यहाँले सिर्जना गरेकामध्ये आफैंलाई मन परेको सिर्जना ?
एउटा सर्जकलाई आफ्ना सबै सिर्जना उत्तिकै मन पर्छन । मलाई मन परेको सिर्जना भन्दा पनि जनमानसले धेरै रुचाइएका गीत चाहिँ पूर्वेली पालम भाकामा आधारित ‘बल्ल भेट भो आदाङ्बे मन खोली हासौन’ र राष्ट्रिय भावनामा आधारित मेरो शब्दको ‘पूर्वको माया पश्चिमलाई पश्चिमको माया पूर्वलाई’ छन् । जुन दर्शक श्रोताले धेरै मन पराउनुभएको छ ।
यहाँहरूले अन्तरा सांगीतिक समूह बनाएर नै सांगीतिक कार्यक्रमहरू गर्नुभएको छ नि होइन, यसको उद्देश्य ?
हो, सांगीतिक कार्यक्रमहरू गरिरहँदाका क्रममा सामूहिक भावनाले काम गर्न सजिलो होस् भन्ने उद्देश्यले हामीले काम गरिरहेको टिमलाई ‘अन्तरा सांगीतिक समूह’ भनेर नाम दियौँ । जुन सुरुवात गरिएको करिब १० वर्ष नै भइसक्यो । हाम्रो उद्देश्य मुल रूपमा मनोरञ्जनात्मक साथै समाज परिवर्तनका लागि पनि सन्देशमूलक सांगीतिक प्रस्तुति रहोस् भन्ने हो ।
यहाँ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको पूर्व सभा र परिषद् सदस्य हुनुहुन्छ, यहाँको कार्यकालमा के-कस्ता काम भए ?
यहाँले भने जस्तै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा एक कार्यकाल सभा सदस्य र एक कार्यकाल परिषद् सदस्यका रूपमा काम गर्ने अवसर पाएको थिएँ । सभा सदस्य रहँदा विशेषतः प्रतिष्ठानको काम कर्तव्य, त्यसका ऐन विधि विधानबारे जानकारी लिन पाएँ । जसले गर्दा म पुनः परिषद् सदस्यमा नियुक्ति हुँदा प्रतिष्ठानमा कामहरू गर्न सहज भयो । सभा सदस्यको प्रतिष्ठानको काम कारबाहीमा प्रत्यक्ष कार्यकारी भूमिका रहँदैन । तैपनि सभा बैठकमा भाग लिँदा प्राज्ञिक कामहरू कसरी गरिन्छ, गर्नुपर्छ भन्ने चाहिँ जानकारी हुन्छ । परिषद् सदस्य त पूर्ण कार्यकारी पद हो । म प्रतिष्ठानमा संगीत विभाग प्रमुख रहेर काम गरेँ । कार्यक्रम बनाउने, बजेटको खाका तयार गर्ने, कार्यान्वयनदेखि कार्यक्रम सम्पन्न गर्नेसम्मको काम गर्नुपर्दछ ।
चार वर्ष संगीत विभागको जिम्मेवारी लिँदाको अवस्थामा २० वटा जति कामहरू गरिएछन् । जसमा मुख्यतः मौलिक नेपाली बाजाहरू पाठ्यपुस्तक भाग–१ तयार गरी प्रकाशन गरियो । पचासवटा राष्ट्रिय गीतहरूको पूर्वीय तथा पाश्चात्य स्वरलिपिसहित पुस्तक प्रकाशित भयो । विभिन्न समुदायको लोपोन्मुख भाका संकलन, रेकर्डिङ र प्रस्तुति गरियो । जसको निरन्तरता हामी अन्तरा समूहले मौलिक नेपाली धुनहरूको अर्कष्ट्रेसन गरिरहेका छौँ । नेपाली आधुनिक संगीतमा १०० वर्ष नामक ऐतिहासिक कार्यक्रम, १५ जना सारंगी बादकको अर्केष्ट्रा, लोपोन्मुख बाजा प्रदर्शन तथा प्रस्तुति आदि काम सम्पन्न गरियो । तीन महिना सदस्य-सचिव रहँदा संस्थाको प्रशासनिक, आर्थिक काम कारबाहीबारे जानकारी लिने अवसर भयो भने प्रतिष्ठानको भवन निर्माणको सम्झौतामा हस्ताक्षर गर्नेसमेत अवसर प्राप्त भयो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गर्नुपर्ने काम के-कस्ता देख्नुहुन्छ ?
तत्काललाई ठेट नेपाली संगीतको विकास हुने गरी स्कुलदेखि क्याम्पससम्म पाठ्यक्रम तयार गर्नुपर्छ भन्ने लागेको छ । मौलिक नेपाली बाजाहरूको अर्केष्ट्रा तयार गर्नुपर्छ र प्रतिष्ठानलाई संगीत नाट्य ग्रामको वातावरण बनाउनुपर्छ ।
यहाँले हालसम्म स्टेज र संयोजन गरेर कति जति प्रस्तुति दिनुभयो होला ?
स्टेज कार्यक्रम र संयोजन यति नै भनेर गन्ती गरेको त छैन । तर पनि हालसम्म ५०० भन्दा धेरै नै भयो होला ।
नेपाली मौलिक बाजामा कोरससहितको प्रस्तुति मन पराएको पाइन्छ नि ?
नेपाली मौलिक बाजामा कोरससहितको प्रस्तुति नयाँ प्रयोग र नेपालीपन रहेको भन्ने प्रतिक्रिया मिलेको छ । तर, यसलाई वास्तविक अर्केष्ट्राको रूप दिन धेरै मिहिनेत, अभ्यासको जरुरत छ । आर्थिक लगानीसँगै दक्ष जनशक्ति उत्पादन गर्न अति जरुरी छ ।
हाम्रो परम्परागत लय भाका लोप हुँदै गएको पाइन्छ, यसको संरक्षण र प्रवद्र्धनका साथै नयाँ पुस्तालाई यसतर्फ आकर्षित गर्न के-कस्ता पहल आवश्यक छन् ?
मूलतः मौलिक नेपाली संगीत जुन परम्परागत रूपमा हाम्रा गाउँघरमा चलिआएका छन्, तिनै हाम्रा वास्तविक पहिचान हुन् । धार्मिक कार्य, मेला, चाडपर्व, मृत्यु संस्कार आदिमा गाइने, बजाइने भाका लयमा हाम्रो संस्कृति झल्किएको हुन्छ । समय क्रममा मानव विकाससँगै यी विस्तारै लोप हुने, कुनै परिमार्जित हुँदै जाने स्वाभाविक नै हो । तर, यसलाई सकेसम्म वास्तविक स्वरूपमा बचाइराख्नुपर्दछ भन्ने हाम्रो सोच हो ।
व्यक्तिगत, विभिन्न जातीय संस्था र सरकारी क्षेत्रबाट यसको संरक्षण गर्ने, अभिलेखीकरण गर्ने कामहरू भई नै रहेका छन् । तर, यो एकदम भेगीय कार्य भयो तर वर्तमान समाज अति द्रुत गतिमा परिवर्तनशील भइरहेकाले यी हाम्रा परम्परागत मौलिक भाका, लय, नृत्य बचाउन हामी पनि अझ आक्रामक हिसाबले लाग्नुपर्छ । नत्र यसलाई बचाउन ढिलो हुनेछ ।
यी हाम्रा परम्परागत मौलिक लोक संगीतलाई संरक्षण भनौँ या अभिलेखीकरण यस क्षेत्रमा लाग्ने जनशक्ति पनि उत्पादन गर्नुपर्छ । होइन भने जीवित राख्न असम्भव छ । यसका लागि जनशक्ति उत्पादनसँगै यसबाट जीवनयापन गर्नका लागि व्यावसायिक र आम्दानीको माध्यम बनाइने वातावरण तयार हुनुपर्छ तबमात्रै नयाँ पुस्ता यतातिर आकर्षित हुनेछन् ।
यसका लागि संस्थागत रूपमा सरकारी तवरबाट नै वातावरण बनाउन जरुरी छ । त्यसो भएमात्रै यस कार्यले निरन्तरतासँगै संक्षण र प्रवद्र्धन हुनेछ ।
संगीत के हो ?
मनका भावनाहरूलाई सिर्जनात्मक रूपमा लयबद्ध भाकामा प्रस्तुत हुने नै संगीत हो । जुन बिना ताल वादनसँग पनि हुन्छन् र ताल वादनसँगै पनि हुन्छन् । यसलाई यसरी अझै धेरै रूपमा पनि प्रस्ट्याउन सकिन्छ । हाम्रो सिमानाभित्र जुन वैदिककालदेखि धार्मिक कार्य, विभिन्न सामाजिक संस्कार, जीवनयापन कार्य आदिसँग जोडिएर हाम्रा पुर्खाले गाउँदै बजाउँदै आएका रैथाने भाकाहरू नै हाम्रो ठेट नेपाली संगीत हुन् र यसमा आधारित गीतहरूलाई अहिले लोक संगीत पनि भनिन्छ । जुन समाज आधुनिकीकरणसँगै परिमार्जित हुँदै विलयको अवस्थामा पुगेका छन् ।
यहाँको नेतृत्वमा गत वर्ष के-कस्ता सांगीतिक गतिविधि भए र यस वर्षको योजना के-कस्ता रहेका छन् ?
गत वर्ष केही राम्रा कामहरूको संयोजन कार्य सम्पन्न गर्ने अवसर मिल्यो । जसमा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानको आयोजनामा मुस्ताङमा टुङ्ना प्रशिक्षण, सांस्कृतिक संस्थानको ५१औँ वार्षिक सांस्कृतिक कार्यक्रम संयोजक, गीतकार टीका चाम्लिङको एकल सांगीतिक साँझको संगीत संयोजक, वरिष्ठ सर्जक गणेश रसिक एकल साँझको संगीत संयोजक, पर्यटन बोर्डको प्रायोजन तथा सांस्कृतिक संस्थानको आयोजनामा भएको ठेट नेपाली सांस्कृतिक कार्यक्रम संयोजक, जिफन्ट नेपालसँग सहकार्य गर्दै सांगीतिक कार्यक्रम, सिस्नोपानी नेपालको आयोजनामा मौलिक धुन प्रस्तुति, राष्ट्रिय जन सांस्कृतिक महासंघको आयोजनामा सात प्रदेश झल्काउने सांगीतिक प्रस्तुति भए । यस वर्षको सुरुवात वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको ७५औँ हिरक महोत्सवमा विशेष सांगीतिक कार्यक्रमको संयोजन कार्य सम्पन्न गर्दै सुरुवात भएको छ । अहिलेसम्म निश्चित भएका योजनामा प्रिमियर इन्टर नेसनल बोर्डिङका १७० जना विद्यार्थीलाई हाम्रो मौलिक बाजा प्रशिक्षण गराई मौलिक धुनहरूको अर्केष्ट्रा प्रस्तुति गर्ने जुन जेठ २ बाट सुरु गरेका छाँै । हाम्रो सात प्रदेश झल्काउने जुन नृत्यसहितको सांगीतिक प्रस्तुति छ त्यसलाई सातै प्रदेशमा प्रदर्शन गर्ने तयारीमा छौँ । त्यससँगै संगीत सिर्जना, संगीत संयोजन रेकर्डिङको काम त निरन्तर चलिरहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच