शैक्षिकस्तर सुधारका लागि गुणस्तरीय शिक्षा आवश्यक

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 7 mins

कालीकोट । कालीकोट जिल्लाको शैक्षिक गुणस्तर सुधारका लागि घोषणा गरिएको २७ बुँदे कालीकोट घोषणापत्रको कार्यान्वयन अवस्था बारे समिक्षा गरिएको छ । शुक्रबार कालीकोटको सदरमुकाम मान्ममा प्रथम शैक्षिक गोष्ठी कार्यक्रमको आयोजना गर्दै जारी गरिएको घोषणापत्र कार्यान्वयनको अवस्थाबारे समिक्षा गरिएको हो ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कालीकोटले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले विद्यार्थीको सुन्दर भविष्य निर्माणमा विद्यालय, अभिभावक र विद्यार्थीबीचको त्रिकोणात्मक सम्बन्ध हुन आवश्यक रहेको बताउनुभयो । व्यक्ति, समुदाय र समग्र देशको विकासमा गुणस्तरीय शिक्षा सवैभन्दा महत्वपूर्ण पाटो रहेको बताउँदै प्रजिअ नेपालीले गुणस्तरीय शिक्षा आजको आवश्यकता भनिएता पनि कतिपय विद्यालयहरु त्यसप्रति गैरजिम्मेवार देखिएको बताउनुभयो ।

गुणस्तरीय शिक्षा प्रदानका लागि संस्थागत विद्यालयहरुबीच निकै प्रतिस्पर्धा भैरहेको र सामुदायिक विद्यालयहरुमा निकै लापरबाही र विद्यार्थीहरुको भविष्यप्रति गैरजिम्मेवारी देखिदै आएकाले आगामी दिनहरुमा यस्तो नर्गन सुझाव दिनुभयो ।

शैक्षिक गोष्ठीमा सहभागी शिक्षक महासंघ कालीकोटका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले सामुदायिक विद्यालय र निजी विद्यालयबीचको वर्षौ देखिको खाडल पुर्नुपर्ने बताउनुभयो । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा नहुँदा विद्यार्थीको आकर्षण निजीतर्फ देखिएको बताउँदै अध्यक्ष शाहीले सरकार, अविभावक, शिक्षक तथा सरोकारवालापक्ष सवैको एकीकृत प्रयासमा मात्रै सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न सकिने जिकीर गर्नुभयो ।

समिक्षा कार्यक्रममा आफ्नो भनाइ राख्दै गैसस महासंघ कालीकोटका अध्यक्ष तथा हुरेन्डेक नेपाल कालीकोटका उपाध्यक्ष बीरेन्द्रबहादुर बुढाले सरकारले सामुदायिक विद्यालय सुधारको नाममा कुनै पनि निजी विद्यालयलाई निरुत्साहित नगरी सामुदायिक विद्यालयलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो । सामुदायिक विद्यालयको गुणस्तरमा सुधार भए गुणस्तरीय शिक्षाका लागि चर्को शुल्क बुझाउनुपर्ने अभिभावकको बाध्यता स्वतः हट्ने दाबी गर्नुभयो ।

शैक्षिक गुणस्तरको विकासमा अभिभावक वर्गको पनि अत्यन्त महत्वपूर्ण भूमिका हुने भएकाले त्यसप्रति पनि अभिभावकहरु जिम्मेवारी हुनुपर्ने शिक्षक महासंघ कालीकाेटका उपाध्यक्ष पवित्रा शाहीले बताउनुभयो ।

अभिभावकहरुको सहयोग, सुझाव र सहभागिताविना कुनै विद्यालय सफल र प्रभावकारी ढङ्गले अघि बढ्न नसक्ने जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कालीकोटका प्रमुख प्रकाशचन्द धितालले बताउनुभयो । विद्यालयप्रति अभिभावकहरुको दृष्टिकोण कस्तो छ भन्ने तथ्यमा नै कुनै पनि विद्यालयको सफलता निर्भर रहन्छ । ‘उहाँले भन्नुभयो, पारस्परिक विश्वास, सहकारिता, आपसी समझदारी, सकारात्मक सोच, बारम्बार अन्तरक्रिया, विद्यालय विकासका लागि सौहार्दपूर्ण सहभागिता, पारस्परिक सम्मान आदिमा विद्यालय र अभिभावकबीच विशेष पहल हुन आवश्यक रहेको जानकारी गराउनुभयो ।

शिक्षक नियुक्ति गर्दा राजनीतिक पहुँचको भरमा राम्रोलाई नभई हाम्रोलाई गर्ने प्रचलनका कारण विद्यालयको शैक्षिकस्तरमा सुधार आउन नसकेको नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज बिष्टले बताउनुभयो । ‘उहाँले भन्नुभयो, सामुदायिक विद्यालयमा नियुक्ति गरिएका शिक्षक पार्टीका कार्यकर्ता हुने, सट्टामा खेताला शिक्षक राखेर विद्यालयमा गुणस्तरीय शिक्षा खोज्नु मूर्खता भएको बताउनुभयो ।

यस्तै शैक्षिक गोष्ठी कार्यक्रमको सहजिकरण गर्दै किर्डाक नेपाल कालीकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले शैक्षिक गतिविधिभन्दा पनि शिक्षकहरू राजनीतिमा बढी सक्रिय हुँदा सरकारी विद्यालयको यो दूरावस्था आएको बताउनुभयो । सरकारी विद्यालयमा अध्यापनरत शिक्षकले नै आफ्ना छोराछोरीलाई निजी तवरबाट सञ्चालित विद्यालयमा पढाउँछन् । अनि गुणस्तरीय शिक्षा खोज्छन् यो कसरी सम्भव छ उहाँले प्रश्न गर्नुभयो ।

शिक्षा क्षेत्रको हरेक जिम्मेवारी स्थानीय सरकारलाई भएकाले त्यसतर्फ आवश्यक वजेट, स्रोतसाधन, र योनाना निमार्ण गरेर विद्यालयमा गुणस्तरीय शिक्षाको अनुभूती गराउनुपर्ने बताउनुभयो । कालीकोटको शिक्षा सुधारका लागी विकास साझेदार संघसंस्थाहरुले विभिन्न परियोजनामार्फत काम गरिरहेको समेत जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?