अझै भेटिएनन् सुनकोशीमा बेपत्ता सीटीईभीटीका अधिकारीहरु, खोजी कार्य जारी

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 5 mins

सिन्धुली । सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का अधिकारीहरुको खोजी कार्य भइरहेको छ । घटना भएको पाँचौँ दिन वित्नै लागिसक्दा समेत अझैसम्म भेटिएका छैनन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको जिपमा सीटीईभीटी प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार हुनुहुन्थ्यो । उहाँहरू सबै बेपत्ता हुनुहुन्छ् । चालक कृष्ण चौधरी घाइते अवस्थामा पौडिएर निस्किनु भएको थियो ।

खोजी जारी भएपनि हालसम्म वेपत्ता व्यक्ती र गाडी भेटिएको छैन । सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानसमेत चार वटा टोलीले शुक्रबारदेखि खोजी कार्य निरन्तर गरिरहेको छ ।

एकातर्फ पानीको बहावलाई फर्काउने काम भइरहेको छ भने अर्कोतर्फ गोताखोरहरुले चुम्बककोसमेत प्रयोग गरी गहिराईमा पुगेर खोजी गरिरहेका छन् । बेपत्ताहरू खोजी गर्ने काममा जुटेको टोलीले पाँचौं दिन मंगलबार पनि प्रयास जारी राखेको छ । चर्को घामको प्रवाह समेत नगरी खोजी कार्यमा लागिपरिहेका छन् ।

दुवैतर्फबाट सुनकोशीलाई छेकेर अब एउटा भँगालो थुनेपछि पूरै पानी रामेछापतर्फबाट बहने र बेपत्ताहरूको खोजी गर्न सहज हुने खोजी गोताखोर केशव महतले जानकारी दिनुभयो । घटनास्थल वरपर नदीको पानी ठाडो बगेकाले करेन्ट बढी हुँदा गहिराइमा पुगेर खोज्न नसकिएको उहाँको भनाई छ । -याफ्टिङ लिएर माथिमाथि, कुना कन्दरामा खोजी गरे पनि गहिराइमा पुगेर टोलीले खोजी गर्न सकेको छैन ।

‘पानीको वेग बलियो छ । अलिकति तल जानासाथ हुत्याइदिन्छ । घुमाउनेमा फसिने डर भएकाले पानी डाइभर्ट नभएसम्म खोजी कार्य प्रभावकारी हुन सकेको छैन,’ उहाँले भन्नुभयो ।

सुनकोशी नदीको पानीमा अत्यधिक करेन्ट भएकाले नदीको तल्लो भागसम्म पुग्ने गरी ५० केजी वजन जीउमा बाँधेर खोजी कार्य सुरु भए पनि धमिलो पानी भएकाले भित्र नदेखिँदा समस्या भएको छ । गोताखोर महतकाअनुसार नदीको पानी कञ्चन भइदिएको भए यति ठूलो समस्या हुने थिएन ।

घटना भएको दोस्रो दिनबाटै सुनकोशीको पानीलाई रामेछापतर्फको किनारबाट पठाएर घटनास्थलमा पानी कम गराउने प्रयास भइरहेको छ । चारवटा स्काइभेटर, तीनवटा जेसीबी, डोजर, पाँचवटा टिपर र ट्याक्टरलगाएर पानीका बहाव अर्कोतर्फबाट फर्काउन प्रयास भइरहेपनि हालसम्म सफल भएकाे छैन ।

चारवटा एक्सकाभेटर, दुइ वटा डोजर र केही ड्रम ट्रक लगाएर सोमबार रातको ९ बजेसम्म पानीको बहाव फर्काउन लगातार मेसिन मार्फ काम गरिएको थियो । रातमा बत्ती बालेर लगातार गरेको मेहनत मंगलबार बिहान हेर्दा उस्तै भयो । अहिले सोही कार्य दोहो-याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?