प्रदेश सरकारले बजेट ब्यवस्थापन नगर्दा भोजपुरमा आइसीयु सेवा चलेन

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 7 mins

भोजपुर । दुर्गम पहाडी जिल्ला भोजपुर सदरमुकाममा रहेको एक मात्र जिल्ला अस्पतालमा आइसीयु सेवा संचालनका लागि सम्पुर्ण तयारी पुरा भएको छ । तर जनशक्ति ब्यवस्थापनका लागि बजेटको ब्यवस्था हुन नसक्दा तयारी अवस्थामा भएपनि नागरिक सो सेवा लिनबाट बञ्चित हुदै आईरहेका छन ।

अस्पताल प्रशासनले दुर्गम जिल्लाका नागरिकको सेवालाई ध्यानमा राखेर आर्थिक सहयोगका लागि सरोकारवाला निकायहरुसँग पटक पटक आग्रह गरेपछि त्यस तर्फ कसैले चासो नदेखाएको जिल्ला अस्पताल भोजपुरले जनाएको छ । सेवा संचालनका लागि चाहिने बजेटका लागि सहयोग गर्न भोजपुरका नौ वटै पालिकाहरुसँग आग्रह गरिएको भएपनि ती पालिकाहरुले पनि बास्ता नगरेको जिल्ला अस्पताल भोजपुरका प्रमुख डाक्टर शिवजी रिजालले बताउनुभयो ।

कोशी प्रदेश सरकारले ल्याएको आर्थिक बर्ष २०८१/०८२ नीति तथा कार्यक्रम अन्तर्गतको स्वास्थ्य सेवाको बिस्तार कार्यक्रममा पनि भोजपुर अस्पतालको नाम छैन । प्रदेश सरकारको स्वास्थ्य सेवा बिस्तार कार्यक्रममा मेची प्रादेशिक अस्पताललाई उत्कृष्ठ सेवा केन्द्रकोरुपमा बिकास गर्दे प्रदेश मातहतका पाँचथर, धनकुटा, उदयपुर, संखुवासभा, खोटाङ जिल्ला अस्पतालबाट गुणस्तरीय आइसीयु सहितको सेवा प्रवाह गर्न ६० करोड ५५ लाख बजेट बिनियोजन गरिएको छ ।

प्रभावकारी स्वास्थ्य सेवा पाउनबाट बञ्चित भोजपुरका नागरिक आइसीयु सेवा लिनबाट समेत बञ्चित भएका छन । जिल्ला अस्पताल ५० शैया क्षमताको सुबिधा सम्पन्न बनेको छ । तर पनि आएका सामाग्रीहरु समेत जनशक्ति अभावमा संचालनमा आउन सकेका छैनन ।

जिल्ला अस्पताल भोजपुरका प्रमुख डाक्टर शिवजी रिजाल सहितको स्वास्थ्यकर्मीको टोलीले भोजपुरमा रहेका पालिका प्रमुख तथा उपप्रमुखहरुलाई भेटेर संचालनमा आउन नसकेको आईसीयु सेवा संचालन हुने बातावरण बनाउनका लागि आर्थिक सहयोग गर्न आग्रह समेत गरेको थियो । अस्पताल प्रमुख डाक्टर रिजालले भन्नुभयो, “तयारी अवस्थामा रहेको आईसीयु सेवा संचालनका लागि हामीले जिल्लामा रहेका ९ वटै स्थानीय तह र सरोकारवाला निकायहरुसँग पनि समन्वय गरियौ तर कतैबाट पनि सहयोग नपाएपछि सेवा संचालन गर्न सकेनौ ।” दुई करोड रुपैयाँभन्दा धेरै लगानी गरेर बनाईएको सघन उपचार कक्ष (आईसीयु) संचालनमा आउन नसक्दा बिरामीहरु समेत सहज उपचार पाउनबाट बञ्चित हुदै आई रहेका छन, प्रमुख डा. रिजालले भन्नुभयो ।

आर्थिक बर्ष २०७८/०७९ मा कोभिड संक्रमण रोकथाम तथा महामारी ब्यवस्थापन कार्यक्रमअन्तर्गत बिनियोजित भएको रकमबाट आवश्यक सामाग्री खरिद गरी आईसीयु कक्ष तयारी अवस्थामा राखिएको भएपनि आर्थिक अवस्थाका कारण दक्ष जनशक्तिको ब्यवस्थापन हुन नसक्दा भोजपुरका नागरिक सेवा पाउनबाट बञ्चित भएका हुन ।

“दुर्गम जिल्ला त्यसै भोजपुरमा स्वास्थ्य सेवा प्रभावकारी छैन, संचालनमा आउने सेवा पनि जनशक्ति अभावमा चल्न सकेन, यो भन्दा दुर्भाग्य के हुन्छ भोजपुरलाई ।” जिल्लावासी घमचन्द्र दाहालले भन्नुभयो, जिल्लाबाट प्रदेशमा प्रतिनिधीत्व गर्ने सांसदहरुको भुमिका समेत प्रभावकारी नदेखिदा यस्ता समस्या आउने गरेको छ । स्थानीय पालिकाहरुले सेवा संचालनमा कुनै चासो नदेखाए पनि संघीय र प्रदेश सरकारले समेत जनशक्ति ब्यवस्थापनमा कुनै सहयोग गरेको छैन ।

जिल्ला अस्पतालका अनुसार सेवा संचालनका लागि नौ जना दक्ष जनशक्तिको आवश्यकता रहेको छ । जसमा कन्सल्टयान्ट एनेस्थेसियोलोजिष्ट एक जना, कन्सल्टयान्ट इन्टरनल मेडिसिन एक जना, तालिम प्राप्त मेडिकल अधिकृत दुई जना र तालिम प्राप्त नर्सिङ स्टाफ पाँच जना चहिने हुन्छ । जिल्ला अस्पतालमा आईसीयु सेवा संचालनका लागि दक्ष जनशक्ति ब्यस्थापनका लागि मासिक तलव भत्तालाई नौ लाख ८० हजार पाँच सय २२ रुपैया आवश्यक पर्ने देखिन्छ । सो श्रोत जुटन नसक्दा सेवा चल्न नसकेको हो ।

अस्पताललाई सुविधा सम्पन्न बनाउँदै आकस्मिकरुपमा हुने दुर्घटना, सुत्केरी लगायत अन्य जटिल किसिमका बिरामीहरुलाई उपचारमा सहज बनाउने उद्देश्यका साथ जिल्ला अस्पतालमा सघन उपचार (आईसीयु) कक्ष भेन्टिलेटर सहितको आईसीयु कक्ष तयारी अवस्थामा छ ।

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल बिकास समितिका अध्यक्ष कमल थुलुङ राईले आइसीयु सेवा संचालनका लागि पहल गरिए पनि कसैले सहयोग गर्ने बचन नदिएको बताउनुभयो । राईले भन्नुभयो, “एक मात्र जिल्ला अस्पतालमा आईसीयु सेवा संचालनका लागि जिल्लामा रहेको सवै स्थानीय तहहरुसँग पनि आग्रह गरियो, कुनै पनि पालिकाको सहयोग मिलेन ।” संघीय र प्रदेश सरकारले पनि खासै चासो देखाएका छैनन ।

जिल्ला अस्पतालमा भौतिकरुपमा सुविधा सम्पन्न हुँदै गए पनि अवश्यक जनशक्ति अभावका कारण समय र बढी पैसा खर्च गरेर धरान, विराटनगर, काठमाडौं जस्ता सुविधा सम्पन्न अस्पताल जानु पर्ने बाध्यता छ । जिल्लामा उपचार सम्भव नभएपछि रेफर गरेका कति बिरामीले बाटैमा ज्यान गुमाउनु पर्ने बाध्यता समेत रहदै आएको छ । सेवा संचालनका लागि युवाहरुले समेत अस्पताललाई दवाव दिदै आई रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?