बाजुरामा नुन अभाव छैन : साल्ट ट्रेडिङ

हिमालय टाइम्स
Read Time = 2 mins

बाजुरा । साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ । नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भीड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो ।

कार्यालय प्रमुख टेकबहादुर बुढाले जिल्लाका तीन वटै क्षेत्रमा नुनको आवश्यक मौज्दात यथावत रहेको बताउनुभयो । उहाँले वर्षायाममा नुन ढुवानीमा समस्या हुने गरेकाले आइतबार मात्रै बिक्री गर्ने गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मार्तडीमा दुई सय ७३ क्विन्टल, कोल्टीमा तीन सय ८७ क्विन्टल र मौरेमा ७५ क्विन्टल नुन मौज्दात छ । “वर्षाको समयमा ढुवानी गर्दा समस्या हुने देखेर आइतबार मात्रै नुन बिक्री गन थालेपछि नुन अभावको हल्ला फैलिएको हुनसक्छ”, उहाँले भन्नुभयो, “हल्ला फैलिएपछि एकै घरका चारजनासम्म नुन लिन आएको पाइएको छ ।”

स्थानीय गोरख धामीले नुनको अभावको कु्रा सुनेपछि आफू लाइन बस्न आएको बताउनुभयो । “नुनको कोटा काटिएको र नुन ढुवानी नहुने खबर सुनेपछि हामीहरु कार्यालय आएका हौँ, तर यहाँ नुनको मौज्दात पर्याप्त रहेको जानकारी पाइयो”, उहाँले भन्नुभयो ।

बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पनि नुनको अभाव नभएको भन्दै भीड नगर्न आग्रह गर्नुभयो । उहाँका अनुसार प्रशासनले नुन र खाद्यान्नको मौज्दातको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?