![हालसम्म धान रोपाइँ ९.८ प्रतिशतमात्रै](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/percent-of-paddy-planting-has-been-done.jpg)
झापा । झापाको त्रिभुवन मावि कुनै बेला जिल्लाकै कहलिएको विद्यालय थियो । तर, आजभोलि त्यही विद्यालय दुर्दिनको सामना गरिरहेको छ । त्यसको मुख्यकारण हो, सरोकारवाला निकायको उदासीनता र बक्रदृष्टि । त्रिभुवन माविका लागि हिउँद, बर्खा दुवै याम अक्करिलो बनेर बितेको दशक भइसक्यो । पानी पर्न थाल्यो कि विद्यार्थीलाई कक्षा कोठासम्म जान नै सकस हुन्छ । घुँडाघुँडासम्म पानी छिचोलेर कक्षा कोठामा पुगेपछि पनि विद्यार्थीको सास्तीको पारो घट्दैन, झन् बढ्छ । विद्यालयका शिक्षक रामचन्द्र फुँयालले भन्नुभयो, ‘हिउँदमा शीत छिर्छ, बर्खामा घाम र पानी छिर्छ ।’
शिक्षक फुँयालको तर्कमा सत्यता छ । छानो जीर्ण छ, कतिपय भवनको त छानो नै छैन । खिया लागेर मक्किसकेको टिनले घाम, पानी र शीत केही नै छेक्दैन । झ्याल ढोकाको अवस्था पनि उस्तै छ । ‘हिउँदमा सिरेटोले चिन्छ, बर्खामा पानीको धारो छिर्छ, प्रांगणमा त पोखरी नै जम्छ’ विद्यालयका प्रधानाध्यापक नारायण चापागाईंले भन्नुभयो, ‘यो सास्ती खेपेर कसरी पढाउनु, कति दिन विद्यालय चलाउनु !’
पानी पर्न थालेसँगै विद्यालयको पढाइ प्रभावित बनेको छ । विद्यार्थीले कक्षा कोठामै छाता ओढेर पढ्ने गरेका छन् । कतिपय विद्यार्थी विद्यालय नै आउन छाडिसके । विद्यालयको प्रांगणमा पानी जम्ने क्रम दोहोरिँदो छ । एकसाता अघि पनि विद्यालयको प्रांगणमा पानी झमेको थियोे । विद्यार्थी र शिक्षक सास्ती पुरानै हो । विगत वर्षहरूमा पनि यस्तै हुन्थ्यो । सो विद्यालयका पुराना शिक्षक युवराज सेढाईंले भन्नुभयो, ‘हाम्रा लागि त यो कुनै नौलो कुरै होइन, तपाईंहरूलाई अनौठो लाग्न सक्छ, त्यो स्वाभाविक नै हो ।’ विद्यालयको अवस्था सबैलाई थाहा भए पनि सास्ती बेहोर्ने चाहिँ विद्यार्थी र शिक्षक मात्र भएको उहाँले सुनाउनुभयो ।
विद्यालयको कक्षा १ देखि कक्षा ४ सम्मका कोठामा प्रांगणबाट पानीको सतह बढेर पस्ने गरेको छ । बाटो तथा वरिपरिको प्रांगणमा जम्मा हुने र कक्षा कोठामा पस्ने गरेको छ । बालकक्षाका विद्यार्थीलाई केही दिन अघिदेखि नै केही सुरक्षित अन्य कोठामा सारेर पढाइ रहेको शिक्षक फुँयालले बताउनुभयो । बालकक्षा सञ्चालन गरिएका कोठामा पानी जमेको छ ।
विगत वर्षहरूमा नाली काटेर तथा पाइप लगाएर पानी बाहिर पठाउने गरिएको सो विद्यालयमा यसपटकको बर्खा झन् सास्तीपूर्ण हुने देखिएको छ । सामान्य वर्षामा नै यसपटक पानी जमेपछि प्रथम त्रैमासिक परीक्षा प्रभावित हुने सम्भावना छ । ‘मौसमको अवस्था हेर्दा परीक्षा गर्न नै कठिन हुने देखिएको छ’ प्रधानाध्यापक चापागाईंले भन्नुभयो, ‘मौसममा सुधार भएन र पानी परिरहृयो भने परीक्षा प्रभावित हुन्छ, कसरी गर्ने भन्ने चिन्ता छ ।’ प्रधानाध्यापक चापागाईंले पटकपटक ध्यानाकर्षण गराउँदा पनि जिम्मेवार निकाय कानमा तेल हालेर बसेको गुनासो गर्नुहुन्छ ।
पढ्न आउने विद्यार्थी मुस्किलले विद्यालयमा आएर छाता ओढेरै भए पनि पढ्ने गरेको तर परीक्षामा त लेख्नुपर्ने भएकाले छाता ओढेर र उभिएर सम्भव नहुने दुःख उहाँले सुनाउनुभयो । बर्खा यामभर विद्यालयमा जुत्ता लगाएर र पैन्ट घुँडामाथि नपुर्याई जानसक्ने अवस्था नै नहुने शिक्षकहरू बताउँछन् । २०२८ सालमा स्थापना भएको सो विद्यालयमा अहिले ३५० जना विद्यार्थी छन् । २०५८ र २०६० सालको एसएलसी परीक्षामा दुई पटक जिल्ला प्रथम भएको सो विद्यालय बर्खामा पोखरी जस्तै बन्ने गरेको छ । त्यसबेला दुई/दुईपटक नगद पुरस्कर जित्ने रेकर्ड कायम गरेको विद्यालय अहिले मर्मत सम्भारका लागि बजेटको प्रतीक्षामा छ ।
साबिक पाँचगाछी गाविस हाल शिवसताक्षी नगरपालिका-४ ओडारी चोकमा रहेको सो विद्यालय त्यस क्षेत्रकै पुरानो हो । अहिले कक्षा १२ सम्म सञ्चालित सो विद्यालयमा असुविधाकै कारण विद्यार्थी निरन्तर घटिरहेका छन् । बर्खामा पानीको डुबान र हिउँदमा शीत र सिरेटोका कारण त्यस क्षेत्रका विद्यार्थी जनआदर्श मावि शिवसताक्षी, बालकल्याण मावि कुञ्जिबारी, अमर मावि बैगुनधुरा र नरेन्द्र मावि सरङपाडासम्म धाउन थालेका छन् । धेरै अभिभावक त आफ्ना बालबच्चालाई महँगो शुल्क तिरेर निजी विद्यालयमा पढाउन बाध्य छन् ।
शिवगञ्ज क्याम्पस सञ्चालनमा आएपछि धेरैको आकर्षण शिवगञ्ज नै बनेको छ । शिवगञ्जमा राम्रो विद्यालय र क्याम्पस भएपछि आकर्षण त्यतै बढेको हो । यद्यपि, त्रिभुवन माविको कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन समूहमा पढाइ भइरहेको छ । पुरानो विद्यालय भएकै कारण अभिभावकले माया मारिनहालेको अभिभावक जेएन चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो विद्यालयको गरिमा र साख मर्न नदिन जिम्मेवार निकायले मर्मत सम्भारका लागि रकम उपलब्ध गराउनुपर्छ ।’ अब पनि ढिलो गरे विद्यालय नै संकटमा पर्ने र त्यस क्षेत्रका अभिभावक र विद्यार्थीले थप सास्ती बेहोर्न बाध्य हुने चौधरीको मत छ । त्रिभुवन मावि त्यस क्षेत्रकै गहना भएकाले संरक्षणमा जुट्न ढिलो गर्न नहुने उहाँले बताउनुभयो ।
सो विद्यालयको मर्मत सम्भारका लागि संघीय सांसद लालाप्रसाद साँवा लिम्बु (एलपी साँवा), निवर्तमान कोशी प्रदेश सांसद झलकसिंह दर्लामी, निवर्तमान नगरप्रमुख चन्द्रकुमार शेर्माले बजेट उपलब्ध गराउने आश्वासन दिए पनि वचन पूरा नगर्दा विद्यार्थी मर्कामा परेका हुन् । नगरपालिका र जिम्मेवार निकायको बेवास्ताका कारण विद्यालयको भविष्य अन्योलमा परेको प्रधानाध्यापक चापागाईंले दुःखेसो गर्नुभयो ।
त्यस क्षेत्रबाट दुईपटक सांसद भइसक्नु भएका एलपी साँवाले पटक-पटक योजना पार्ने आश्वासन दिएर पनि काम नगरेको शिक्षक तथा अभिभावकको गुनासो छ । नगरपालिकाले पनि विद्यालयको अवस्थाप्रति नजरअन्दाज गरेको उनीहरू बताउँछन् । नगर सरकार गैरजिम्मेवार हुँदा विद्यालयको दुर्गति भएको हो । विद्यालयको मर्मत सम्भारका लागि अवसर नजुरेको भने होइन । वडाध्यक्ष हुँदा अधिकचन ताजपुरिया विद्यालय व्यवस्था समितिमा हुनुहुन्थ्यो । उहाँले चाहेको भए वडाकै बजेटबाट पनि प्रांगण पुर्ने र विद्यालय मर्मत गर्ने रकम व्यवस्थापन हुन्थ्यो । एक अभिभावकले भन्नुभयो, ‘विद्यालयलाई हेर्ने काम उहाँले गर्नु नै भएन ।’ ताजपुरिया सो विद्यालयको व्यवस्थापन समिति अध्यक्ष नै हुनुभएको हो ।
अहिले पनि सोही वडाका वडाध्यक्ष विष्णु प्रसाईं विद्यालय व्यवस्थापन समितिमा हुनुहुन्छ । आँखा अगाडि समस्या भए पनि बजेट दिन वडाध्यक्ष प्रसाईंले चासो दिनुभएको छैन । यही कारण पनि विद्यालयको दुर्गति भएको अभिभावक दुःखेसो छ । विद्यालयको अवस्था र बेहोरिरहेको विद्यार्थीको सास्तीमा कसैले पनि अनदेखा गर्न मिल्दैन । आफ्नो दायित्व र जिम्मेवारीबाट नगरपालिका पन्छन मिल्दैन । स्थानीय जनप्रतिनिधिदेखि संघीय सांसदले कुनै न कुनै स्रोत जुटाएर विद्यालयको मर्मत सम्भार गर्नैपर्छ । नत्र त्यस क्षेत्रबाट त्रिभुवन मावि विलुप्त हुन लामो समय लाग्ने छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच