काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका दुई फरार आरोपी बेचन झा र प्रतीक थापा पक्राउ परेपछि अर्को चरणको अनुसन्धान सुरु भएको छ । नक्सालस्थित नेपाल प्रहरीको विशेष टोलीले झालाई कञ्चनपुरस्थित गड्डा चौकीबाट र थापालाई कपनबाट नियन्त्रणमा लिई काठमाडौं प्रहरी परिसरको जिम्मा लगाएको हो । थापा पहिलो चरणकै अनुसन्धानमा अभियुक्त करार गरिएका व्यक्ति हुन् भने झालाई तत्कालीन अवस्थामा कुनै अभियोग लगाइएको थिएन । उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमती आरजू देउवा र पूर्व गृहमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता कृष्ण सिटौलानिकट मानिन्छन् । त्यस्तै, प्रतीक पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा हुन् ।
पक्राउ परेका बेचन झालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । शुक्रबार राति पक्राउ परेका झालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो । शुक्रबार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेस गरिएको थियो । पक्राउ परेका मितिले सात दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । प्रहरीको विशेष ब्युरोको टोलीले बेचनलाई भारतबाट समातेर शुक्रबार जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएदेखि नै फरार रहेका झाको संलग्नता भने धेरै पछि खुलेको थियो । छानविनका क्रममा उनको नाममा हिमालय बैंकको दुई करोड रुपैयाँको चेक रामशरण केसीले काटिदिएको खुलेको थियो । प्रकरणका मुख्य आरोपी मध्येका सानु भण्डारीले ‘१३ मंसिर २०७८ को मन्त्रिपरिषद् बैठकबाट भुटानी शरणार्थीबारे हामीलाई फाइदा हुनेगरी निर्णय गर्दै छ, यो काम बेचन झाले गराएकाले उनलाई चेक काटिदिनु’ भनेपछि लेनदेन भएको केसीले बयानमा बताएका छन् । केसीले ८ मंसिर २०७८ को राति ८ बजे मध्यबानेश्वरमा झालाई दुई करोडको चेक दिएको केसीले बयानमा खुलाएको प्रहरीको भनाइ छ । उक्त चेकको फोटो प्रेमराज पन्थीलाई समेत आफूले पठाएको केसीले बताएका थिए । झाको ठेगाना नखुलेको र खुलेका बखत पुनः पूरक जाहेरीमार्फत अनुसन्धान अघि बढाउने गरी अन्यलाई मुद्दा चलाइएको थियो ।
झा पक्राउ परेसँगै यसको थप राजनीतिक कनेक्सन खोतल्न सहज हुने अनुसन्धान अधिकृतहरूको विश्वास छ । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पनि बयानमा बेचन झाको संलग्नता खुलाएका थिए प्रहरी अधिकारीहरू पनि बेचनको राजनीतिक कनेक्सन हुनसक्ने बताउँछन् । उनको मधेश केन्द्रित दल र नेपाली कांग्रेसका नेताहरूसँग राम्रो सम्बन्ध रहेको अनुसन्धान अधिकारीहरू बताउँछन् । काठमाडौंको नयाँ बानेश्वरमा घर भएका उनी निर्माण व्यवसायी हुन् । ठेक्कापट्टाको कामकै क्रममा उनले राजनीतिक व्यक्तिसँग सम्बन्ध बनाएको प्रहरी अधिकारीहरू बताउँछन् ।
३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वमा भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै कार्यदल गठन भएको थियो । उक्त प्रतिवेदनमा नक्कली भुटानी शरणार्थीको समेत नाम समावेश गराएर अमेरिका पठाउने भन्दै रकम असुलिएको थियो । तर, यही बीचमा सरकार परिवर्तन भएको थियो र त्यसमा बेचन पनि जोडिएका थिए । बेचन पक्राउ परेसँगै भुटानी शरणार्थी प्रकरणमा अन्य नेताहरूको पनि कनेक्सन खुल्नसक्ने अनुसन्धान अधिकारीहरू बताउँछन् । तर, एक वर्षसम्म प्रमाण नष्ट भएको हुनसक्ने आशंका अनुसन्धान अधिकारीहरूको छ ।
बेचनको सम्बन्ध भएका अर्का व्यक्ति टोपबहादुर रायमाझी हुन् । उनी ऊर्जामन्त्री भएको बेला बेचनसँग राम्रो सम्बन्ध थियो । बेचनको विभांशु ब्रदर्स नामक कम्पनी छ । उक्त कम्पनीमार्फत उनले ठेक्का पट्टाको काम गर्दै आएका थिए । बिजुलीको ट्रान्सफर्मरदेखि एअर कण्डक्टर खरिदमा बेचनले नै ठेक्का पाएका थिए । रायमाझी अहिले पुर्पक्षमा कारागारमै छन् ।
अमेरिका पठाउने भन्दै बादलकै पालामा ठगी प्रकरण सुरु भएको थियो । पछि खाँणको पालामा पन्थी कार्यदलको प्रतिवेदनमा अनसूची नै थपेर नक्कली नाम राख्दै ठगी भएको प्रहरीको निष्कर्ष छ । यो प्रकरणमा १० जना फरारसहित ३० जनाविरुद्ध २८ करोड, एक लाख ७४ हजार पाँच सय बिगो कायम गर्दै १० जेठ २०८० मा मुद्दा दायर गरिएको थियो । टंक गुरुङ र लक्ष्मी महर्जनलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो । बाँकी पुर्पक्षमा कारागार चलान भएका थिए । पछि उच्च तथा सर्वोच्चको आदेशपछि खाँण, नरेन्द्र केसी, टेकनाथ रिजाल, शमशेर मिया, सन्दीप रायमाझीलगायत अहिलेसम्म ११ जना धरौटीमा रिहा भएर अहिले तारेखमा छन् । टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, केशवप्रसाद दुलाल, आङ्टावा शेर्पा, सानु भण्डारी, सन्देश शर्मा, गोविन्दप्रसाद चौधरी, सागर राई गरी नौजना पुर्पक्षमै कारागारमा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच