काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) को महाधिवेशनबाट माधवकुमार नेपाल सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छ । यस्तै, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत हुनुभएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी निर्वाचन कार्यक्रमका क्रममा तीनजना सर्वसम्मत भएको घोषणा गरिएको हो ।
पार्टीको अध्यक्षका लागि नेपाल र भुसाल दुवैले दाबी गर्दै आउनुभएको थियो । तर, अन्तिम समयमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नु उपयुक्त हुने भन्दै उम्मेदवारको मनोनयन दर्ता रोकिएको थियो । अन्ततः महाधिवेशनले अध्यक्षमा पुनः नेपाल र महासचिवमा पुनः भुसाललाई नै निर्वाचित गरेको हो । असार १६ गतेदेखि सुरु भएको पार्टीको १०औँ महाधिवेशनका अन्य पदाधिकारी र सदस्यको नाम आज (शुक्रबार) बिहान १० बजेपछि घोषणा हुने एक नेताले हिमालय टाइम्सलाई जानकारी गराए ।
महाधिवेशनले २१ पदाधिकारीसहित २९९ केन्द्रीय कमिटी चयन गर्नेछ । केन्द्रीय कमिटीमा प्रत्येक जिल्लाबाट एकजना, प्रदेश अन्तर्गतका २५ सय संगठित पार्टी सदस्य बराबर एक जनाका दरले थप हुने, समावेशी क्षेत्रबाट (महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारू, अल्पसंख्यक र अपांगता) ७० जना र पदाधिकारी सहितको खुल्ला क्षेत्र ८० जना चयन हुने बताइएको छ ।
यस्तै, भूगोललगायत विभिन्न कार्यक्षेत्र, समावेशी र खुला निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षणको व्यवस्था छ । महिला लगायतका सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहलाई आरक्षण गर्ने प्रावधान छ ।
एक हजार ८४९ प्रतिनिधि सहभागी भएको महाधिवेशनमा विभिन्न प्रतिवेदनहरू पनि पेस भएको थियो । प्रतिवेदनमाथि १२ समूह बनाएर छलफल गरिएको थियो । केन्द्रीय कमिटी चयन भएपछि महाधिवेशनको घोषणा पत्र सार्वजनिक गरिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच