![काठमाडौं-तराई-मधेस द्रुतमार्गअन्तर्गत लेनडाँडाको सुरुङमार्ग छिचोलियो](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/drutamarga-informanation.jpg)
काठमाडौं । वैकल्पिक राजनीतिको सम्भावना बोकेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको दोस्रो वर्षमै अस्तित्व रक्षासँग सम्बन्धित प्रश्नहरूको सामना गरिरहेको छ । जबकि यो प्रश्न रास्वपाका विपक्षी वा आलोचकले होइनन्, रास्वपाकै संस्थापक मध्येका एक डा.मुकुल ढकालले सोध्नुभएको हो । आफ्नै महामन्त्रीले आफ्नै पार्टीका सदस्यहरूसँग प्रत्यक्ष संवाद गरेर तयार पारेको प्रतिवेदन र त्यसमा समावेश प्रश्नहरूको उत्तरबाट पन्छिएर रास्वपाले उनै महामन्त्री ढकाललाई पार्टीबाट निलम्बन गरेको छ । पुराना र ‘असफल’ आरोप लागेका दलहरू भित्रसमेत अन्तरसंघर्ष र नेतृत्वको आलोचनाका लागि सम्मानजनक स्पेस छ । तर, नयाँ दाबी गरिएको रास्वपाभित्र प्रश्न माथिको बन्देजले नयाँ बहस सिर्जना गरेको छ । के रास्वपा लोकतान्त्रिक पार्टी हो ? के रास्वपाको भविष्य छ ?
राजनीतिक इतिहासमा दलहरूको स्थापना कुनै वैचारिक अभियान वा सामाजिक आन्दोलनको जगमा भएको हुन्छ । रास्वपा त्यसभन्दा भिन्न पार्टी हो । यसको स्थापना कुनै वैचारिक सैद्धान्तिक धरातलमा नभई आवेग र उत्तेजनामा भएको हो । यो कुनै सार्वजनिक आन्दोलनभन्दा पनि ‘अवसर’ को खोजीमा भएकाहरूको लहडमा स्थापना भएको पार्टी । यसर्थ रास्वपाले आफ्नो स्थापनाको सैद्धान्तिक राजनीतिक औचित्य नै आजसम्म स्थापना गर्न सकेको छैन । निर्वाचन आयोगमा दर्ता हुनु, चुनाव चिहृन पाउनु, केही संसदीय सिट हासिल गर्नु र सत्तामा पुग्नु मात्रै राजनीतिक दलको औचित्यका मानक होइनन् । विचार, सिद्धान्त, कार्यक्रम र संगठनले मात्रै राजनीतिक दलको औचित्य पुष्टि गराउन सक्छन् । जसको अभाव रास्वपामा आजपर्यन्त खड्किरहेको छ ।
रास्वपाका सभापति रवि लामिछाने पत्रकारिताको पृष्ठभूमिबाट अउनुभएको हो । महामन्त्री डा.मुकुल ढकाल चिकित्सा क्षेत्रबाट आउनुभएको हो । रास्वपा भित्रका अधिकांश नेताहरू कुनै न कुनै व्यावसायिक एवं पेशागत पृष्ठभूमिबाटै आउनुभएको छ । रास्वपा स्थापनामा रविको लोकप्रिय छविले जति काम गरेको छ त्यति नै मुकुलको मिहिनेतले गरेको छ । सभापतिका रूपमा रविले रास्वपामा राखेजत्तिकै दाबी महामन्त्रीका रूपमा मुकुलले राख्नुहुन्छ तर परम्परागत दलहरूमा भन्दा खराब देखिने गरी रास्वपाको विवाद छताछुल्ल भएको छ । यो सन्दर्भमा महामन्त्री ढकाल एक्लो वृहस्पति बने पनि बहुमतको बलमा सभापति रविले ‘अलोकतान्त्रिक’ छवि निर्माण गर्नुभएको छ ।
गत जेठ ६ गते मुकुललाई समीक्षा यात्रामा पठाउनुअघि रास्वपा सभापति रविले देशभरबाट प्राप्त हुने सल्लाह, सुझाव पार्टीका लागि मार्गनिर्देशन बन्ने बताउनुभएको थियो । समीक्षा यात्रा सुरुआत गर्दा पार्टीका कमजोरीहरूको निर्मम समीक्षा हुने बताइए पनि प्रतिवेदन बनिसक्दा रास्वपाको बहुमत नेतृत्वले आलोचनालाई अस्वीकार गरेको छ । कांग्रेसजस्तो पुरानो र आन्तरिक रूपमा गुटहरूमा विभाजित पार्टी समेतले केन्द्रीय समिति बैठक लाइभ गर्न थालिसकेको छ । यस्तोमा रास्वपाभित्र केन्द्रीय समिति बैठक लाइभ गर्न महामन्त्री ढकालले गरेको प्रस्ताव पूर्णरूपमा अस्वीकृत भयो । ढकालले प्रतिवेदनमा उठाएका सवालप्रति गम्भीर आत्मसमीक्षा गर्नुको साटो ढकालमाथि नै कारबाही हुनुपर्ने आवाज उठ्यो । केन्द्रीय समितिमा एकजनाबाहेक सबैले महामन्त्रीलाई कारबाही गर्न माग गर्नुले रास्वपा ‘फरक मतहरूको पार्टी’ बन्नै नसक्ने देखिएको छ । विगतमा विभिन्न राजनीतिक दलका नाममा लाभ लिएका व्यक्तिहरू अहिले रास्वपाका नाममा लाभ लिन र रास्वपाका संस्थापकहरूलाई नै पाखा लगाउन उद्यत छन् ।
ढकालको प्रतिवेदनमा लेखिएझैँ रास्वपा ‘एलिटहरूको क्लब’ मा परिणत हुँदै छ । सामाजिक सञ्जालका उत्तेजक अभिव्यक्ति वा अनियन्त्रित एजेण्डा सेटिङबाहेक जनतामा जोडिएर रास्वपाले कुनै काम गरेको छैन । दोस्रो पटकको सत्तारोहणमा पनि रास्वपाले तात्विक प्रभाव देखाउन सकेन । ‘ठूला काण्डका फाइल खोल्ने’ धम्कीलाई रास्वपाका नेताहरूले ‘बार्गेनिङको वाक्य’मा मात्रै सीमित गरिदिए । यी सबै विषयहरू रास्वपाको समीक्षा यात्रामा रास्वपाकै कार्यकर्ताहरूले उठाएका थिए । जसलाई ढकालले महामन्त्रीको रूपमा प्रतिवेदनमा जस्ताको तस्तै स्थान दिनुभयो । जनताका कुरा जस्ताको तस्तै लेखिदिएबापत, भनिदिएबापत, सुनाइदिएबापत उहाँ आफैँ दण्डित हुनुपरेको छ ।
एकातिर रास्वपाको स्थापनाले नै वास्तविक ‘स्वतन्त्र’ हरूको पहिचानमा प्रहार गरेको थियो । स्थापनाको तेस्रो वर्ष पुग्दा नपुग्दै रास्वपाले अब ‘सबै उस्तै हुन्’ भन्ने भाष्य निर्माणमा योगदान गरिरहेको छ । नेकपा एमालेले समर्थन फिर्ता लिइसकेपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । यही बुझेर राजीनामा दिन बालुवाटार पुग्नुभएका रास्पवाका सभापति एवं उपप्रधानमन्त्री रवि लामिछाने, श्रममन्त्री डिपी अर्याल, शिक्षामन्त्री सुमना श्रेष्ठ र युवामन्त्री विराजभक्त श्रेष्ठले राजीनामा नदिई फर्कनुभयो । सफेद राजनीतिक बुझाईमा नै सरकार ढल्ने निश्चित भइसक्दा प्रधानमन्त्रीले रास्वपाका मन्त्रीहरूलाई कुन त्यस्तो अलौकिक तागतको भरोसा देखाउनुभयो ताकि मन्त्रीहरू राजीनामा खल्तीमै राखेर फर्कनुभयो ? प्रतिवेदनमा सोधिएका मुकुलका प्रश्नहरूसँगै रास्वपालाई यो नयाँ प्रश्न पुनः थपिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच