म्याग्दी । बिहीबार दिउँसोदेखिको लगातार वर्षाका कारण बेनी-जोमसोम र बेनी दरबाङ सडक अवरुद्ध भएका छन् ।
लगातारको वर्षाले गर्दा ठाउँ ठाउँमा झरेको पहिरोले सडक अवरुद्ध हुँदा बेनी जोमसोम कोरला कालिगण्डकी कोरिडोर र बेनी-दरबाङ सडकको सोझो यातायात सेवा अवरुद्ध भएको हो ।
बेनी-दरबाङ सडकको फापरखेत घुमाउने भिरमा आएको पहिरोले शनिवार (आज) बिहानैदेखि सडक अवरुद्ध भएको छ ।
त्यसैगरी रघुगंगा गाउँपालिका-३ बैसरीमा सडक माथिबाट आएको पहिरोले गर्दा सडक अवरुद्ध भएको हो ।
गएराती देखि नै पहिरो झरेको कारणले गर्दा सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने पर्यटकहरू अलपत्र परेका छन् ।
लगातार पहिरो झरी रहेको कारणले गर्दा सडक खुलाउन समस्या भई रहेको बेनी जोमसोम कोरला कालिगण्डकी कोरिडोर सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । रघुगंगा गाउँपालिकाको वडा नं. १ र २ को सिमाना बाट झरेको पहिरोले रघुगंगा-२ बैसरीमा सडक अवरुद्ध भएको उहाँको भनाई छ ।
सडक खुलाउनका लागि प्रहरी तथा बेनी-जोमसोम-कोरला सडक आयोजनाको टोली खटेको भए पनि पहिरो झर्ने क्रम नरोकिँदा सडक खुलाउन पनि जोखिम भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले बताउनुभयो । अन्नपूर्ण गाउँपालिका-२ भुरुङ-तातोपानीमा पनि सडक राती देखि अवरुद्ध रहेको उहाँको भनाई छ ।
त्यसै गरी पश्चिम म्याग्दी जोड्ने बेनी दरवाङ सडक खण्डको बेनी नगरपालिका-४ घुमाउने भीरमा पूर्णरुपमा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लगातारको वर्षाले गर्दा अधिकांश सडक अवरुद्ध हुँदा ग्रामीण जनजीवनमा समस्या भएको छ ।
बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत नजिकको घुमाउने भीरको ठाढो खोल्सोमा आएको पहिरो र गेगर सहितको लेदोले सडक अवरुद्ध भएपछि विहानैदेखि सवारी साधन र पैदल यात्रुहरु समस्यामा परेका छन् । पहिरो खसिरहेकोले सडक खुलाउने प्रयास सफल हुन नसकेको प्रहरीले जनाएको छ ।
म्याग्दीको ‘लाइफलाइन’ का रुपमा लिने गरिएको बेनी–दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुनेहुँदा पश्चिम म्याग्दीका वासिन्दाले सास्ती खेप्दै आएका तातोपानीका व्यवसायी हितबहादुर पुनले बताउनुभयो ।
१८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालिन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका गाउँपालिका-६ का वडाअध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।
यसै गरि पश्चिम म्याग्दीका ग्रामीण सडकहरु पनि अवरुद्ध भएका छन् । शुक्रवार विहानैदेखि लगातार पानी परिरहेकोले पश्चिम म्याग्दीको दरवाङ-बिम सडक बाहेक अन्य सडकहरु अवरुद्ध हुँदा यात्रीले सास्ती भोग्नुपरेको मालिका गाउँपालिका-२ रुमका बेलबहादुर विकले जानकारी दिनुभयो ।
बेनी-दरबाङ सडक पाखो र भिरको बीचमा खनिएको छ । सडक मुनि म्याग्दी नदी छ । “सडक माथिको भिरमा गेगरै गेगर छ । खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन”, अध्यक्ष रोकाले भन्नुभयो “म्याग्दी नदीको किनारमा बनाइएको पक्कि पर्खालले कटान रोकिएको छ ।” उहाँका अनुसार सडकदेखि करिब दुई सय माथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।
पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताउनुभयो । सडक अवरुद्ध भए पछि पश्चिम म्याग्दीबाट सदरमुकाम बेनी हुँदै देशका विभिन्न ठाउँहरुमा जाने यात्रु र यातायातका साधनहरु संचालन हुन सकेका छैनन् । देशका विभिन्न ठाउँबाट पश्चिम म्याग्दीका लागि आएका यातायातका साधनहरु बीच बाटोमा नै अलपत्र परेका यातायात व्यवसायीहरुले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच