बर्लिन । युइएफएले युरोपका महारथी र साना टिमबीचको दूरी घटाउने उद्देश्यअनुसार आफ्ना प्रतियोगितामा सहभागी हुने सबै टिमलाई निश्चित रकम बोनसका रूपमा दिने भएको छ । जर्मनीमा जारी युरोपियन च्याम्पियनसिप (युरो २०२४) मा सहभागी हुने सबै टिम र खेलाडीलाई कुल ३३ करोड १० लाख युरो बोनसका रूपमा बाँड्ने निर्णय गरेको हो । जसअनुसार प्रतियोगितामा भाग लिने सबै २४ टिमले ९२ लाख ५० हजारका दरले सहभागिता बोनस प्राप्त गर्नेछन् । युरोमा प्रत्येक खेल जितेबापत टिमले थप १० लाख युरो पाउनेछन् भने बराबरी नतिजा निस्किएको खेलमा दुवै टिमले पाँच लाख युरोका दरले बोनस पाउनेछन् । यसैगरी प्रतियोगितामा गरेको यात्राका आधारमा टिमले प्राप्त गर्ने बोनस थपिँदै जानेछ ।
गएको डिसेम्बरमा युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले गरेको निर्णयअनुसार अन्तिम १६ मा प्रवेश गर्ने टिमले थप १५ लाख युरो प्राप्त गर्नेछन् । यसैगरी क्वाटरफाइनल पुग्नेले त्यसमा थप २५ लाख, सेमिफाइनल पुगेपछि थप ४० लाख पाउनेछन् । प्रतियोगिताको विजेताले थप ८० लाख युरो पाउनेछ । प्रतियोगिताको च्याम्पियन हुनेले समूह चरणका सबै तीन खेलमा पनि विजय हासिल गरेको भए उसको भागमा दुई करोड ८२ लाख ५० हजार युरो पर्नेछ ।
गोल्डेन बुटको रेसमा चार खेलाडी
युरो २०२४ का क्वाटरफाइनल खेल समाप्त भएका छन् । सेमिफाइनलका खेलहरू बुधबारदेखि सुरु हुनेछन् । समीकरणअनुसार बुधबार स्पेनले फ्रान्सको र बिहीबार नेदरल्याण्ड्सले इंग्ल्याण्डको सामना गर्नेछ । खेल अन्तिम चरणमा प्रवेश गरिरहँदा सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुटको दौड निकै रोचक देखिएको छ ।
चारजना खेलाडीले हालसम्म सर्वाधिक तीन-तीन गोल गरेका छन् । यसमध्ये नेदरल्याण्ड्सका कोडी गाक्पोमात्र दौडमा कायम हुनुहुन्छ । जर्जियाका जर्जेस मिकाउटाड्जे, जर्मनीका जमाल मुसियाला र स्लोभाकियाका इभान सरान्ज प्रतियोगिताबाट बाहिर भइसक्नुभएको छ । गाक्पोलाई स्पेनका डेभि ओल्मो र फाबियन रुइज, इंग्ल्याण्डका जुड बेलिङहम र हृयारी केन तथा नेदरल्याण्ड्सकै डोनयेल मलेनले पछ्याइरहनुभएको छ । सबै खेलाडीले दुई-दुई गोल गरेका छन् । उहाँहरूबाहेक स्विटजरल्याण्डका ब्रिल एमबोलो, रोमानियाका राजभान मरिन, जर्मनीका फ्लोरियन व्रिट्ज, काई हाभर्ट्ज र निकलास फुलक्रुग तथा टर्कीका मेरिह डेमिरलले पनि दुई–दुई गोल गर्नुभएको छ । तर, यी खेलाडीहरू प्रतियोगिताबाट बाहिरिसकेका छन् । प्रतियोगितामा हालसम्म १०८ गोल भएका छन् । प्रत्येक खेलमा कुल गोलको औसत २.२५ गोल रहेको छ । प्रत्येक ४० मिनेटमा एक गोल भइरहेको छ ।
पेड्रीले बाँकी खेल गुमाउने
स्पेन फुटबल टोलीका मिडफिल्डर पेड्रीले युरोकपका बाँकी खेल गुमाउनुहुने भएको छ । जर्मनीविरुद्धको क्वाटरफाइनलमा बायाँ घुँडामा गहिरो चोट लागेपछि उहाँले बाँकी खेल गुमाउनुहुने भएको हो । ‘यस्तो चोट निको हुन हप्तौं लाग्छ । त्यसैले पेड्री युरोकपमा देखिने छैनन्,’ स्पेनिस फुटबल महासंघले भनेको छ । जर्मनीका टोनी क्रुजको खराब ट्याकलका कारण घाइते भएपछि पेड्रीले आठौँ मिनेटमै मैदान छोड्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच