न देखिने
न रङ छ
न खान मिल्छ
न लाउन नै मिल्छ
अदृश्य, रङहीन भएर पनि
उ शक्तिशाली छ
यति बलशाली छ कि
सबैलाई वशमा राख्छ
र शासन गर्छ ।
छाम्यो भेटिन्न
छुन खोज्यो छुइन्न
कहिँ छ्यास्स
कोरिएको पनि छैन
न कुनै संकेत नै
दागको त कुरै छाडौँ
न निशाना नै छ
तर सबैलाई
फनफनी घुमाउने
तागत र ल्याकत भएको
साँच्चै हिम्मतिलो छ माया ।
अधिक रुवाउँछ
थोरै हसाउँछ
चाहे जस्तै बनाउने
कहिले मुग्ध स्पर्श
त कहिले करुण विछोड
हो, उसको स्वरुप छैन
रङ, गन्ध र बासना
तर पनि बेजोड छ माया।
पराइलाई आफ्नो बनाउने
आफ्नोलाई पराइ
नदेखेको हरचीज देखाउने
एकलाई एक नै बनाउने
जान्दैन पक्षपात
सबैलाई उत्साहित
अनि निराश बनाउने
चेत आफैँमा खन्याउने
मरिहत्ते गरेर खोजे पनि
देख्दै नदेखिने
भेट्दै नभेट्ने
मात्र आभास हुने
बेगवान छ माया ।
केही बोक्ने
कुनै ठाउँ छैन
तर, ब्रह्माण्ड बोक्छ
खुसीमै अंकमाल गराउँछ
रोदनमा पौडी खेलाउँछ
किन त्यतिमात्रै र !
निर्मम भएर कहिले काहिँ
समाप्तिको समाधी चढाउँछ
त्यसैले, साँच्चै पूर्ण र
अजर छ माया।
-राजेन्द्र गौतम
(धुलाबारी, झापा )
सरल भाषामा मिठाे कविता