काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) शपथ लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीको पार्टी नेकपा एमालेले आठ र सत्ता साझेदार नेपाली कांग्रेसले नौ मन्त्रालय लिने सहमति बनिसकेको । कुल २१ मन्त्रालयमध्ये बाँकी चार मन्त्रालय साना दलका लागि राखिएको छ भने तीन राज्यमन्त्रीको टुंगो लागिसकेको छैन ।
चार महिनापछि सत्तामा फर्कन लागेको नेपाली कांग्रेसभित्र मन्त्री बन्ने/बनाउने विषयमा गुटगत प्रतिस्पर्धा हावी भएको छ । कांग्रेसको भागमा परेका नौमध्ये पाँच मन्त्रालय संस्थापन पक्ष, तीन मन्त्रालय नेता डा.शेखर कोइराला पक्ष र एक मन्त्रालय पूर्व महामन्त्री डा.शशांक कोइराला नेतृत्वको समूहले प्राप्त गर्ने देखिएको छ । संस्थापनइतर भनेर चिनिने शेखर नेतृत्वको समूहले कम्तीमा चार मन्त्रालयमा दाबी गरेको छ । सभापति शेरबहादुर देउवा भने सो समूहबाट बढीमा तीन जनालाई मन्त्री बनाउने तयारीमा हुनुहुन्छ । कांग्रेसमा मन्त्री छनोटका लागि गुटगत प्रतिस्पर्धा यो पहिलोपटक होइन । विगतमा पनि मन्त्रालय बाँडफाँटका विषयमा कांग्रेसमा आन्तरिक भागबण्डा हुने चलन थियो ।
कांग्रेसबाट पूर्व-उपसभापति प्रकाशमान सिंहले नेतृत्व गर्ने निश्चित छ । २०७० को निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री रहनुभएका सिंह ओली सरकारमा पनि उपप्रधानमन्त्री रहनु हुनेछ । कांग्रेस कार्यसम्पादन समितिले मन्त्री छनोटको मापदण्ड बनाए पनि गुटगत भागबण्डाका आधारमा मन्त्री छनोट गर्न लागिएको हो ।
भाग बाँड्दै देउवा
पार्टी सभापति भएलगत्तै पार्टीभित्र भागबण्डा अन्त्य गर्ने घोषणा गरे पनि सभापति देउवा सफल हुन सक्नुभएको छैन । संसदीय निर्वाचनको टिकटदेखि अघिल्लोपटक सरकारमा सहभागी हुँदासमेत देउवाले इतर समूहका लागि भाग छुट्याउनुपरेको थियो । यसपटक पनि शेखरलाई तीन र शशांकलाई एक मन्त्रालय दिने देउवाको तयारी छ । ‘सभापतिजीले पार्टीभित्रका सबैको भावना प्रतिनिधित्व गराउन चाहनुभएको छ । यसलाई भागबण्डाको रूपमा नबुझौँ’, देउवानिकट एक नेताले हिमालय टाइम्ससँग भन्नुभयो ।
ती नेताका अनुसार पार्टीभित्र र आफ्नै समूहमा समेत मन्त्रीका दाबेदार धेरै भएकाले सबैको चाहना पूरा गर्नसक्ने अवस्था छैन । अधिकांश नेतालाई देउवाले अर्को सरकारमा मन्त्री बनाउने आश्वासन दिइरहनु भएको छ । ‘अहिले कांग्रेसको भागमा नौ मन्त्रालय परेका छन् । मन्त्री बन्न ६० जनाभन्दा बढी इच्छुक हुनुहुन्छ । त्यसैले भूगोल र भावनाको प्रतिनिधित्व गराउँदा पनि धेरै साथीहरू छुट्नुहुन्छ तर पनि सबैलाई चित्त बुझाउन सभापति लाग्नुभएको छ’, ती नेताले भन्नुभयो । संस्थापन पक्षबाट प्रकाशमान सिंहको नेतृत्वमा रमेश लेखक, डा.आरजु देउवा, अजय चौरसिया मन्त्री बन्ने बताइएको छ ।
शेखर समूहबाट को ?
ओली नेतृत्वको सरकारमा आफ्नो तर्फबाट सहभागी हुने मन्त्री चयनका लागि संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाले आइतबार आफ्नो बालुवाटारस्थित सम्पर्क कार्यालयमा निकट नेताहरूसँग छलफल गर्नुभएको थियो । सो क्रममा सरकारमा सम्मानजनक उपस्थिति सुनिश्चित हुनुपर्नेमा शेखर समूहका नेताहरूले जोड दिनुभएको थियो । शेखर समूहबाट एक दर्जन नेता मन्त्रीको दाबेदार भए पनि चार जनाको नाम मात्रै सिफारिश गरिएको छ । स्रोतका अनुसार शेखर समूहले प्रत्यक्ष निर्वाचित सांसदहरूलाई मात्रै मन्त्रीका लागि सिफारिश गरेको छ । ‘प्रदीप पौडेल, हृदयराम थानी, रामनाथ अधिकारी र तेजुलाल चौधरीको नाम पठाइएको छ । राज्यमन्त्रीको अवसर आए प्रतिमा गौतम वा लीला बोखिम बन्नुहुन्छ’, शेखरनिकट एक नेताले हिमालय टाइम्ससँग भन्नुभयो । विगतमा मन्त्री पठाउने विषयमा समूहभित्रै विवाद भएपछि नेता कोइरालाले यसपटक भने महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारसहित नेताहरूसँग परामर्श गर्नुभएको हो ।
शशांक समूहबाट खड्का
पार्टीभित्र आफू कुनै पनि गुटमा नरहेको घोषणा गरेका पूर्व-महामन्त्री डा.शशांक कोइरालालाई पनि रिझाउने प्रयत्न सभापति देउवाले गर्नुभएको छ । सो समूहबाट मन्त्रीका लागि संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद दीपक खड्काको नाम सिफारिश गरिएको छ । ‘डा.साबले दीपक खड्काको नाम मन्त्रीका लागि सिफारिश गर्नुभएको छ’, शशांकनिकट एक नेताले भन्नुभयो । डा. शशांक स्वयं भने देउवाको नेतृत्वमा बन्ने चुनावी सरकारमा उपप्रधानमन्त्री बन्ने चर्चा छ ।
यस्तो छ मन्त्रालय बाँडफाँट
प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले १७ वटा मन्त्रालयको बाडँफाँट टुंग्याएका छन् । नवनियुक्त प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट स्रोतका अनुसार एमालेले आठ र कांग्रेसले नौ मन्त्रालय लिनेछन् ।
एमालेले अर्थ, रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था तथा गरिबी निवारण, शिक्षा, भौतिक पूर्वाधार तथा यातायात, सूचना तथा सञ्चार प्रविधि र उद्योग मन्त्रालयको नेतृत्व गर्नेछ ।
नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन, कृषि र वन मन्त्रालयमा नेतृत्व गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच