अमेरिकी निरन्तर सहयोगको अर्थमन्त्रीद्वारा प्रशंसा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) बीच अमेरिकी सहायतामा सञ्चालित आयोजनाको प्रगति समीक्षा बैठक सम्पन्न भएको छ । शुक्रबार बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, लोकतन्त्र र सुशासनका क्षेत्रमा अमेरिकाले निरन्तर दिइरहेको द्विपक्षीय सहयोगको प्रशंसा गर्दै वर्षौंदेखिको दुई देशबीचको साझेदारीको स्मरण गर्नुभयो । उहाँले नेपाली जनताको जीविकोपार्जनअन्तर्गत ग्रामीण सडक, खानेपानी र सुधारका लागि प्रत्यक्ष सहयोग गर्ने ग्रामीण पूर्वाधार आयोजनामा लगानी गरेर ठोस नतिजा हासिल गर्न अमेरिकी सहयोग परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालस्थित अमेरिकी राजदूत डिन थम्पसनले विकासका विभिन्न क्षेत्रमा दुई देशबीच लामो समयदेखि साझेदारी रहेकोमा सन्तुष्टि व्यक्त गर्नुभयो । अर्थमन्त्रीको सचिवालयका अनुसार युएसएआइडीको सहयोग सम्झौताअन्तर्गत सञ्चालित आयोजनाको हालसम्मका उपलब्धि, कोष प्रवाह, स्थानीय संस्थाको उपयोगमा बजेटका साथै सो अवधिमा भूमिका र जिम्मेवारी स्पष्ट गर्दै दुई देशबीको साझेदारी सुदृढ पार्नु समीक्षा बैठकको उद्देश्य रहेको थियो ।

बैठकमा अर्थमन्त्री डा. महत, अर्थसचिव अर्जुनप्रसाद पोखरेल, युएसएआइडीका मिसन निर्देशक सेपिदेह किभनशाद, मन्त्रालयका अधिकारी, युएसएआइडीका पदाधिकारीलगायतको उपस्थिति थियो । विकास उद्देश्य सम्झौताबाट गत वर्ष नेपाल र अमेरिकाबीच भएको द्विपक्षीय छाता सम्झौतामा पाँच वर्षको अवधिमा ६५ करोड ९० लाख अमेरिकी डलर उपयोग गर्ने उद्देश्यले नेपालको बजेट प्रणालीबाट अमेरिकी सहायता प्रयोग गर्ने व्यवस्था छ ।

‘महिला औद्योगिक पार्क बन्नेछ’
अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अघि बढेको बताउनुभएको छ । शुक्रबार दक्षिण एसियाली महिला मञ्चद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसक्यो, अब कसैले रोक्न सक्दैन । सुन्दा यो सामान्यजस्तो लाग्छ, पछि मान्छेले थाहा पाउँछन्, यो दूरगामी अवधारणा हो । महत्वपूर्ण सुरुवात भएको छ, यसलाई कार्यान्वयनमा लैजानुपर्छ । देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ ।’

मन्त्री महतले नेपालमा धेरै ठूलो संख्यामा युवा विदेशिने गरेको र महिलाको तुलनामा पुरुषको संख्या ठूलो रहेको भन्दै स्थिरताका लागि पनि महिलाले नै महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको छ । यसलाई राज्यले प्राथमिकताका साथ प्रवद्र्धन गर्नुपर्छ ।’ देशैभर लघु उद्यम व्यवसायमा महिलाको सहभागिता र घर-घरमा उत्पादन भएका विभिन्न सामग्री व्यवसायीले निर्यात गरिरहेको उल्लेख गर्दै मन्त्री महतले महिलाहरू सूचना प्रविधिमा पनि जोडिन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले कृषि व्यवसायमा धेरै ठूलो सम्भावना देखिएको छ । डिटिजल संसारले एउटा अवसर पनि दिएको छ । बजारीकरण सहजै रूपमा गर्न सकिन्छ । महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रविधिलाई भरपूर उपयोग गरेर बजारीकरण गर्नुपर्छ ।’

सा-सानो स्केलमा उत्पादन भएका वस्तु संकलन गरेर उपभोक्तामाझ पु¥याउनुपर्नेमा जोड दिँदै उहाँले उक्त कार्यका लागि सरकारले भरपूर सहयोग गर्ने बताउनुभयो । दक्षिण एसियाली महिला मञ्चले राम्रो नेटवर्क विकसित गर्न सक्यो भने काम लाग्न सक्ने मन्त्री महतको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?