जिंजर-गार्लिक पेष्ट उत्पादन गर्दै एनडिएच

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाललाई मसलाजन्य वस्तुमा आत्मनिर्भर बनाउने लक्ष्यसाथ सञ्चालनमा आएको एनडिएच मसला उद्योगले जिंजर गार्लिक पेष्ट र टोमाटो केचप पनि उत्पादन गर्ने भएको छ । नेपाली किसानले उत्पादन गरेको अदुवा, गोलभेडालगायतले बजार नपाई खेर फाल्नुपर्ने अवस्थाबाट किसानलाई थोरै भए पनि राहत पुर्‍याउने सोचका साथ दुई नयाँ उत्पादन सुरु गर्न लागिएको एनडिएच मसला उद्योगका सञ्चालक कमल सिंहले बताउनुभयो । थप स्वादिष्ट र स्वास्थ्यवद्र्धक बनाउन तरकारीमा अन्य मसलासँगै अदुवा र लसुन पनि प्रयोग हुँदै आएको छ । मसलामा अदुवा र लसुन स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ ।

उद्योगले आफ्ना उत्पादन विदेशमा समेत निर्यात गर्दै आएको छ । हाल अमेरिका, युरोप, जापान, अस्ट्रेलियासम्म निर्यात भइरहेको सिंहले जानकारी दिनुभयो । स्थापनाको छोटो समयमै एनडिएचका उत्पादनले राम्रो बजार पाउन सफल भएको भन्दै उहाँले माग भएको खण्डमा दैनिक २० टनसम्म मसला उत्पादन गर्ने क्षमता रहेको बताउनुभयो ।

उद्योगले मिट, चिकेन, सब्जी, छोइला, सेकुवा, विर्यानी, चाट, मःम, फिस, चाउमिन, थुक्पालगायत एनडिएच ब्राण्डमा ५० भन्दा बढी स्वाद र प्रकारका मसला उत्पादन गर्दै आएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्यसमेत रहनुभएका सिंहले मसलाका लागि आवश्यक कच्चा पदार्थ आयात हुने गरेको भए पनि स्वदेशमा उपलब्ध नहुने मसलाजन्य कच्चा पदार्थमात्रै आयात गर्ने गरिएको बताउनुभयो ।

जिराबाहेक मसलाका लागि आवश्यक बेसार, खुर्सानी, अदुवालगायतका कच्चा पदार्थ यहीँको प्रयोग गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । सिंहले भन्नुभयो, ‘एनडिएच मसला गुणस्तरीय छन्, नेपाललाई अब मसलामा आत्मनिर्भर बनाउनुपर्छ भन्ने अभियानमा हामी लागेका छौँ । यस अभियानमा सरकारले पनि साथ दिनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *