म्याग्दी । आज साउन महिनाको पहिलो सोमबार । पश्चिम नेपालको पशुपतिनाथका नामले चिनिने म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक स्थल गलेश्वरमा सोमबार (आज) बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
साउन महिना भगवान् शिवको प्रिय महिना र सोमबार प्रिय बार मानिन्छ । पहिलो सोमबार भगवान् शिवको पूजा आराधना गर्नका लागि चितवन, काठमाडौँ, पोखरा, नवलपरासी, पर्वत, बागलुङ, म्याग्दीलगायतका ठाउँबाट भक्तजन आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वर धाममा आज बिहानैदेखि पूजाआजाको विशेष प्रबन्ध मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । गलेश्वरमा साउन महिनाको सोमबार, शिवरात्रि र बालाचर्तुदशीमा विशेष मेला लाग्ने गर्छ । गलेश्वरको दर्शन र पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
काली गण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वकै अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वरलाई पछिल्लो समय पश्चिमको पशुपतिनाथसमेत भन्न थालिएको छ ।
गलेश्वरका साथै म्याग्दीका अन्य शिवालयमा पनि आज बिहानैदेखि भक्तजनको बाक्लो भीड लागेको छ । बेनी शिवालय, बाबियाचौर, अर्मनको कैलाशफाँट, दरबाङलगायत ठाउँमा रहेको शिवालयमा साउनको पहिलो सोमबार आज पूजाआजा गर्ने भक्तजनको भीड लागेको स्थानीयले बताएका छन् ।
गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले काठमाडौँ, चितवन, कास्की, पर्वत, बागलुङका साथै म्याग्दीको ग्रामीण क्षेत्रबाट भक्तजन आएको बताउनुभयो ।
पूजा व्यवस्थापनका लागि सुरक्षाकर्मी र स्वमंसेवक परिचालन भएका छन् । बेनीको खुला मञ्च नजिकैको शिवालय मन्दिरमा पनि बिहानैदेखि पूजाआजा गर्न आएका भक्तजनको चहलपहल सुरु भएको शिवालय मन्दिर संरक्षण समितिका सुन्दर केसीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच