काठमाडौं । डा.अजय क्रान्ति शाक्यको पुस्तक ‘बुद्धका मौलिक दर्शन’ लोकार्पण गरिएको छ । बौद्ध दर्शनमा विद्यावारिधि गर्नुभएका डा.शाक्यको ‘बुद्धका मौलिक दर्शन’ प्रधानमन्त्री केपी शर्मा ओलीले काठमडौंमा एक कार्यक्रमबीच लोकार्पण गर्नुभएको हो ।
पुस्तक लोकार्पणपछि प्रधानमन्त्री ओलीले बुद्ध धर्म अन्धविश्वास नभई वैज्ञानिक तथ्यमा आधारित दर्शन भएको बताउनुभयो । पुस्तक लोकार्पण तथा भिक्षु एवं अनगारिका गुरुमाहरूमा संघदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । उहाँले पुस्तक लेखनमा डाक्टर शाक्यले गरेको मिहिनेतको प्रशंसा गर्दै ज्ञान संग्र्रह गरेर पुस्तकका रूपमा बाँडेकोमा लेखकलाई विशेष धन्यवाद दिनुभएको थियो ।
ओलीले हाम्रो समाज विविधतायुक्त भएको भन्दै नेपाल सामाजिक, भौगोलिक, जैविकलगायतका विविधतायुक्त भएकाले बुद्धलाई विविध ढंगले चिन्ने गरेको उल्लेख गर्नुभयो । नेपाल मण्डल लिटरेचर कल्चर ट्रष्टले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल बुद्धको जन्मथलो मात्र नभएर बुद्धिजमको प्रारम्भ पनि नेपालबाटै भएको बताउनुभयो । ओलीले प्रसन्न भएर कार्यक्रममा आउने चाहना भए पनि जहाज दुर्घटनाका कारण भारी मन लिएर आएको भन्दै सम्बोधन सुरु गर्नुभएको थियो ।
पुस्तकका लेखक एवं बौद्ध विद्वान् डाक्टर शाक्यले आफ्नो पुस्तकबारे चर्चा गर्दै बौद्ध धर्म-दर्शन अनुसार जीवन भनेको के-हो ? हामी किन जन्मिन्छौं ? किन मर्छौ ? मानिस के-हो ? जस्ता यावत प्रश्नहरू बौद्ध दर्शनका पाठकहरूसमक्ष स्पष्ट पार्न पुस्तक सहयोगी बन्ने अपेक्षा लिएको उल्लेख गर्नुभयो । उहाँले ध्यानका विषयमा केन्द्रित बृहत् ग्रन्थ तयार गरेको र त्यसको पहिलो भागका रूपमा ‘बुद्धका मौलिक दर्शन’ पुस्तक प्रकाशित गरिएको उल्लेख गर्नुभयो । दोस्रो भाग छिट्टै प्रकाशित गर्ने र यसमा नसमेटिएका विषय त्यसमा हुने उहाँको भनाइ थियो ।
शाक्यको कृतिबारे उल्लेख गर्दै भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरले मूलतः बुद्ध धर्ममा अभ्यास गरिने ध्यानसम्बन्धी पुस्तक भएको बताउनुभयो । पुस्तकको पहिलो भागमा ध्यान अभ्यास गर्नु पूर्व मनन् गर्नुपर्ने विभिन्न विषयका बारेमा चर्चा गरिएको उहाँको भनाइ थियो ।
सो अवसरमा एक सयजना भिक्षुहरूलाई अष्टपरिष्कार दान प्रदान गरिएको थियो । त्यसैगरी ५५ जना अनगारिका गुरुमाहरूलाई वस्त्र तथा अन्य बस्तुदान गरिएको थियो । दाता पुस्तकका लेखक डा.शाक्य र पूर्वराजदूत एवं राष्ट्रियसभाकी सदस्य डा.अञ्जान शाक्य हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच