जन्मदिनमा असहायलाई भोजन

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । तपाई, हामी आफ्नो जन्मदिन वा आफ्ना परिवारमा कसैको जन्मदिन कसरी मनाउँछौं ? केक काटेर ! महंगो पार्टी गरेर ! वा कुनै नयाँ ठाउँ भ्रमण गरेर ! अवश्य पनि हामी अधिकांश जन्मदिन मनाउन माथि भने अनुसार कै योजना बनाउँछौं । साथीभाई इष्टमित्र बोलाएर महंगो भोज र महंगा रक्सीका बोतल पनि खोल्छौं । तर, पाल्पामा भने एक युवतीले जन्म दिन फरक ढंगले मनाएकी छन् । पछिल्लो समय नेपाली समाजमा जन्मदिन मनाउने नाममा जथाभावी फजुल खर्च गरी भोजभतेर गर्ने, केक काट्ने प्रचलन बढ्दै गएका बेला गुल्मीको मुसिकोट नगरपालिका-३ धरम्पानीका शिवबहादुर कार्की र कमला कार्कीको सुपुत्री हाल कुमारी बैंक पाल्पा शाखामा कार्यरत तारा कार्कीले आश्रममा रहेका असहायहरुलाई एक छाक भोजन गराएर आफ्नो जन्मदिन मनाउनु भएको हो ।

२८ औं वर्षमा प्रवेश गर्नुभएको कार्कीले तानसेनस्थित भूषलडाँडामा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगी असहायहरुलाई भोजन गराएर जन्म दिनमा आर्शिवाद लिनुभएको छ । उहाँले केक काट्ने फेसनलाई चुनौति दिदै असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त आमाबुवाहरु खाना खुवाउँदै सँगै बसेर आर्शिवाद लिनुभएको हो । ‘यसअघि केक काटेर जन्मदिन मनाउने गरे पनि यसरी मनाएकी थिइनँ,’ आश्रममा भेटिनुभएकी कार्कीले भन्नुभयो, ‘यत्तिका आमा बुवाबाट आशीर्वाद लिएर मनाउनुको आनन्द बेग्लै हुने रहेछ ।’ उहाँले त्यहाँ रहेका २२ जना असहाय, बेसहारा, वृद्धवृद्धाहरुलाई भोजन गराउनुभएको हो । कार्कीले भन्नुभयो ‘सानैदेखि वृद्धवृद्धाहरुलाई बढी माया गर्ने गर्थें, म मा सेवा गर्नुपर्छ भन्ने भावना रहेकाले जन्मदिनमा आश्रममा रहेका असहायहरुलाई एक छाक भोजन गराएकी हुँ ।’ केक काट्ने, साथीभाइहरु जम्मा गरेर गरिने फजुल खर्चलाई आश्रममा रहेका असहायहरुको लागि खर्चने सोंचका साथ आश्रममा पुगेर खाना खुवाएको उहाँले बताउनुभयो ।

कार्की भन्नुहुन्छ ‘आफ्नो सबै खुसीमा आफु मात्र खुसी हुनु जीवन सफल हुनु होईन, आफ्नो थोरै खुसी बाडेर अरुलाई पनि खुसी बनाउनु नै जीवनको सफलता हो ।’ आगामी दिनमा पनि जन्मदिनमा गरिने खर्च गरिब, भोका नाङ्गाहरुलाई सहयोग गर्ने कार्कीले बताउनुभयो । उहाँले केक काटेर फजुल खर्च गर्नुभन्दा मानव सेवा गरे आफुलाई छुट्टै आनन्द आउने बताउनुभयो । भोजन गराएपछि कार्कीले भन्नुभयो, ‘सेवा नै धर्म हो, भन्ने भावनाको विकास र मनमा शान्ति भएको महशुस भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?