गौतमबुद्ध क्रिकेट रंगशाला ११ महिनादेखि अलपत्र, रडमा खिया लागे, मैदानमा झाडी पलायो

हिमालय टाइम्स
Read Time = 8 mins

चितवन । भरतपुर महानगरपालिका १५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ११ महिनादेखि अलपत्र परेको छ । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि रंगशाला अलपत्र परेको हो ।

लामो समयसम्म निर्माणाधीन रंगशाला अलपत्र परेपछि रडमा खिया लागेका छन् । प्यारापिट बनाउन भनेर ल्याएर भुइँमा राखिएका रड कामै नलाग्ने भएका छन् भने पिलरका रड पनि बिग्रिने क्रममा छन् । अझै आठ महिनाभित्र काम सुरु हुन सकेन भने पिलरका रडसमेत काम नलाग्ने हुने रंगशालाको रेखदेख गर्दै आएका फाउन्डेसनका प्रतिनिधि टेकेन्द्रजंग शाही बताउँनुहुन्छ ।

‘हामीले महानगरले औपचारीक रूपमा स्वामित्व नलिँदासम्मको लागि रेखदेख गरेका हौँ । निर्माणको काम त ठप्प नै छ । लाखौँ रुपैयाँ खर्चिएर ल्याइएका दूबो काम नलाग्ने भएको छ । मैदानमा झाडी पलाएको छ’, उहाँले भन्नुभयो ।

रंगशालाको अहिले तीन सुरक्षाकर्मीसहित ६ जनाले रेखदेख गर्दै आएका छन् । लाखौँ रुपैयाँ खर्चिएर दूबो लगाएर ठिक्क पारिएका मैदानमा झाडी पलाएका छन् । रंगशाला निर्माणस्थलमा बनाइएका संरचनाहरू निरन्तरको वर्षाले केही बिग्रिसकेका छन् भने केही बिग्रिने तर्खरमा छन् ।

हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले २०७४ चैतमा आमनागरिकबाट आर्थिक सहयोग जुटाएर क्रिकेट रंगशाला बनाउने घोषणा गर्नुभएको थियो । उहाँहरूले २०७५ माघ १६ देखि रंगशाला निर्माणको काम सुरू गर्नुभएको थियो ।

अहिले रंगशालाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । तर आर्थिक अभाव भएपछि रंगशालाको भरतपुर महानगरपालिकाले औपचारिक रूपमा स्वामित्व लिने तर्खरमा छ । महानगरले रंगशालाको स्वतन्त्र लेखापरीक्षण गरिसकेको छ । रंगशालाका लागि सरकारले यस आवमा २२ करोड रुपैयाँ छुट्याएको छ ।

३० हजार जनाको क्षमताको हुने रंगशालामा तीन हजार दर्शकले बसेर खेल हेर्न मिल्ने प्यारापिटको पहिलो चरणको काम सकिएको छ । प्यारापिटका २८६ वटा पिलर उठाइएको छ । प्यारापिट तयार भएर भिआइपी टावर बनाउन थालिएको थियो । टावर ‘वान’को पिलर उठाइसकेर बिम ढलान भएको छ । आठवटा पिच बन्न बाँकी छन् । दोस्रो टावरको काम हुँदै गर्दा धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माण रोकेको हो ।

उधारो आर्थिक व्ययभार बढ्दै गएको र आर्थिक संकलन हुन नसकेको भन्दै काम रोकिएको हो । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले चरम आर्थिक संकटबाट गुज्रिएपछि काम रोक्नुपरेको बताउनुभयो । उहाँले जनस्तरबाट रकम उठ्ने सम्भावना पनि नभएको र सरकारले नदिएका कारण आर्थिक संकट आएको बताउनुभयो ।

रंगशाला बनाउन तीन अर्ब रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान थियो । चालू आवका लागि सरकारले छुट्याएको रकममध्येबाट रंगशालाको ऋण तिर्नका लागि कट्टेलले पहल गरिरहनुभएको छ । उहाँले सिंहदरबारमा पुगेर मन्त्रीदेखि उच्च तहका कर्मचारीसँग नियमित भेटघाट गरिरहनुभएको छ ।

रंगशालामा हालसम्म ५४ करोड ९२ लाख ८५ हजार रुपैयाँ खर्च भइसकेको फाउन्डेसनका अध्यक्ष कट्टेलको दाबी छ । १७ करोडजति त ऋण नै रहेको कट्टेलको भनाई छ ।

भरतपुर महानगरपालिकाले गराएको स्वतन्त्र लेखा परीक्षण प्रतिवेदनमा भने रंगशाला निर्माणमा हालसम्म ५० करोड २० लाख ७९ हजार ७४६ रूपैयाँ भएको उल्लेख छ । रंगशाला १८ करोड १२ लाख ४७ हजार १५० रूपैयाँ ऋणमा रहेको महानगरको स्वतन्त्र लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

रंगशाला निर्माणका लागि ३९ करोड ८० लाख ३८ हजार ५८८ रुपैयाँ संकलन भएको प्रतिवेदनमा देखाइएको छ । रंगशाला निर्माणका लागि सरकारी निकायबाट ११ करोड ८४ लाख ९२ हजार ८१४ रुपैयाँ भएको थियो । अन्य कोषबाट दुई करोड १४ लाख सात हजार ५३९, धनधान्याञ्चलबाट नौ करोड ४१ लाख ५८ हजार ३६७ संकलन भएको देखाइएको छ ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले रंगशाला निर्माण परियोजनाको फाइल प्राप्त भएको र यसलाई कुन मोडलमा अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । ‘खेल पूर्वाधारसँग सम्बन्धित परियोजना भएकाले यसलाई अध्ययन गरेर कसरी अगाडि बढाउने भनेर अर्थ मन्त्रालयसँग पनि परामर्श गर्‍यौँ, प्रधानमन्त्रीसँग पनि परामर्श गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।

रंगशाला कसरी अगाडि बढाउने भन्ने निष्कर्ष छिट्टै निस्किने उहाँले बताउनुभयो । नयाँ परियोजना नभई एउटा प्रक्रियामार्फत अघि बढेको परियोजना फेरि अर्को प्रक्रियामार्फत अघि बढाउनुपर्ने भएकाले केही ढिलो भएको उहाँको भनाइ छ । अहिले दुईवटा विकल्पमा छलफल भइरहेको उहाँले बताउनुभयो । महानगर पालिकाबाट सम्पन्न गर्न नसकिने भएकाले विकास समिति बनाएर अघि बढ्ने कि राष्ट्रिय खेलकुद परिषदमार्फत अघि बढाउने भन्ने विषयमा छलफल चलिरहेको मन्त्री गहतराजले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?