काठमाडौं । रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा पहिलोपटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्याएको हो । धार्मिक एवं पर्यटकीय गन्तव्य गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको प्राधिकरणले जनाएको छ ।
धार्मिक एवं पर्यटकीय गन्तव्य गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको प्राधिकरणले जनाएको छ ।
हालसम्म गोसाइँकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवं पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाइँकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्राधिकरणमा जागिर सुरु गर्नासाथ मैले प्युठानस्थित धार्मिक एवं पर्यटकीय स्थल स्वर्गद्वारीमा विद्युत् पुर्याएको थिएँ, अहिले देशलाई पूर्ण रूपमा उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्ता, गोसाइँकुण्ड, अन्नपूर्ण आधार शिविर, माथिल्लो मुस्ताङ, विभिन्न ठाउँमा रहेका गुम्बा, मस्जिद, मन्दिर जस्ता धार्मिक, पर्यटकीय एवं ऐतिहासिक क्षेत्रमा राष्ट्रिय ग्रिडको विद्युत् पुर्याइरहेका छौँ ।’
प्राधिकरणका अनुसार रसुवाको सदरमुकामबाट गोसाइँकुण्डतर्फ जाने बाटोमा पर्ने चन्दनबारीसम्म यसअघि नै राष्ट्रिय ग्रिड पुगेको थियो । चन्दनबारीबाट करिब आठ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाइँकुण्डमा पुर्याइएको छ । जसका लागि निकुञ्जसँगको समन्वयमा दुर्ई सयवटा पोल राखिएका छन् । पोल, ट्रान्सफर्मरलगायतका उपकरण मानिस र खच्चडबाट ढुवानी गरिएको थियो ।
गोसाइँकुण्डमा विद्युत् आपूर्तिका लागि १५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरिएको छ । बर्खायाम सकिएर मौसममा सुधार आउनासाथ ५० केभिएको ट्रान्सफर्मर राखिनेछ । बर्खाका कारण ठूलो क्षमताको ट्रान्सफर्मर ढुवानी गर्न नसकेपछि हाललाई बुद्धमन्दिर र गुसाइँकुण्डमा १५/१५ केभिए क्षमताका ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको प्राधिकरण धुन्चे वितरण केन्द्र प्रमुख सञ्जीव भट्टराईले बताउनुभयो । उहाँले गोसाइँकुण्ड जाने बाटोमा पर्ने जोलाङपाटी, लौरीबिना र बुद्धमन्दिरमा ५०/५० केभिएको वितरण ट्रान्सफर्मर राखिने जानकारी दिनुभयो । जोलाङपाटी र लौरीबिनामा केही होटल सञ्चालित छन् । मेलाका यात्रुलाई लक्षित गरी त्यस क्षेत्रमा छाप्रा बन्ने गरेका छन् । गोसाइँकुण्डमा विद्युत् पुर्याउन गत वर्षको असोजमा ठेक्का सम्झौता भएको थियो । उक्त कार्यको अनुमानित लागत करिब तीन करोड रुपैयाँ रहेको छ ।
यसैबीच जनैपूर्णिमाका दिन रसुवाको गोसाइँकुण्ड स्नान गर्न नुवाकोटतर्फको पदमार्ग हुँदै जाने तीर्थयात्रीको संख्या वृद्धि भएको छ । विगतका वर्षमा सो मार्गबाट जानेको संख्या दुर्ई हजार हाराहारीमा हुने गरेकामा यस वर्षको २ गते बिहानसम्म तीन हजारभन्दा बढी तीर्थयात्री नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ फेदी हुँदै त्यसतर्फ प्रस्थान गरेका लाङटाङ गोसाइँकुण्ड हेलम्बु होटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष पेम्बा लामाले बताउनुभएको छ । लामाका अनुसार रसुवाको धुञ्चे हुँदै जाने पदमार्गको विकल्पका रूपमा विस्तार गरिएको नुवाकोटको फेदी हुँदै पदमार्गबाट यात्रा गर्ने तीर्थयात्रीको आगमन उत्साहजनक रूपमा बढेको छ । नुवाकोटको घ्याङफेदीबाट सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड जाने तीर्थालुका लागि ठाउँ-ठाउँमा सुविधासम्पन्न गेष्ट हाउस र होमस्टे (घरबास) सञ्चालित छन् ।
यात्रालाई लक्षित गर्दै नेपाल प्रहरी र नेपाली सेनासहित स्वयंसेवकमार्फत् सुरक्षा व्यवस्था, खानपान र बसोबास, पथप्रदर्शक, भरिया, थर्पु (अस्थायी होटल), खानेपानी, प्राथमिक उपचार, शौचालयलगायत सुविधा उपलब्ध गराइएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर थापाले बताउनुभएको छ । उहाँका अनुसार दुप्चेश्वरमा पर्ने पदमार्गका विभिन्न स्थानमा तीर्थालुलाई पर्नसक्ने समस्या पहिचान गर्न, आवश्यक सहयोग गर्न पालिकाले स्वयंसेवकको टोली तयारीमा अवस्थामा राखेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच